Edukhabar
आइतबार, २३ भदौ २०८१
खबर/फिचर

रिक्त शिक्षक दरबन्दीको बिवरणमा त्रुटि

मंगलबार, २४ चैत्र २०७१

भक्तपुर २४ चैत / शिक्षा विभागले पठाएको रिक्त शिक्षक दरबन्दीको बिवरणमा भएको त्रुटिका कारण शिक्षक सेवा आयोगले सबै पदमा विज्ञापन गर्न नसकेको फेला परेको छ । विभागले पठाएको बिवरणमा निमाविमा हुँदै नभएको स्वास्थ्य जनसंख्या तथा वातावरण, वेद ब्याकरण र गणित विज्ञान विषयमा पनि दरबन्दी रिक्त भएको उल्लेख हुँदा समस्या परेको आयोग श्रोतले बतायो । त्यसैले विभागले बुझाएको रिक्त दरबन्दीको बिवरण भन्दा कम पदमा मात्रै विज्ञापन गरिएको छ ।

‘दरबन्दीको यकिन बिवरण माग गरी पठाएका छौं विभागबाट प्राप्त भएपछि शंसोधन हुन्छ’ आयोग श्रोतले भन्यो, ‘यो सामान्य प्राविधिक कुरा हो, लोक सेवा आयोगमा पनि यस्तो समस्या हुन्छ, पछि यकिन भएपछि संशोधन गरिन्छ ।’

विभागले बुझाएको बिवरण अनुसार माध्यामिक र निम्न माध्यामिकका गरी देश भर ३ हजार २ सय ४९ शिक्षक पद रिक्त छन् । तर आयोगले खोलेको विज्ञापनमा ३ हजार १ सय ८६ पदका लागि मात्रै विज्ञापन गरिएको छ । माध्यमिकमा १ हजार ३ सय ८५ र निम्न माध्यमिकमा १ हजार ८ सय ६४ पद रिक्त भए पनि विज्ञापनमा माविमा १ हजार ३ सय २६ र निमाविमा १ हजार ८ सय ६० पदका लागि मात्रै विज्ञापन गरिएको छ । यसले गर्दा विभागले पठाएको विवरण भन्दा माविमा ५९ र निमाविमा ४ पद कमको मात्रै विज्ञापन भएको छ ।

अघिल्लो हप्ता मात्रै विभागले आयोगलाई देशभरमा रिक्त रहेको शिक्षक दरबन्दीको बिवरण बुझाएको थियो । कहाँ कहाँ कति दरबन्दी रिक्त भएको बिवरण बुझाएको थियो ? पढ्नुहोस् शिक्षक विज्ञापन गर्न आयोगलाई बाटो खुल्यो

अंग्रेजी विषय शिक्षकको माग धेरै

शिक्षक सेवा आयोगले खोलेको विज्ञापनमा अंग्रेजी विषय पढाउने शिक्षकको माग सबै भन्दा धेरै छ । पाँचै विकास क्षेत्रमा गरी ८ सय ३८ जना अंग्रेजी विषयका शिक्षक आवश्यक रहेको आयोगको विज्ञापनमा उल्लेख छ । जस अन्र्तगत सबै भन्दा धेरै निमावि तहमा ५ सय ५ र मावि तहमा ३ सय ३३ जना शिक्षकका लागि विज्ञापन भएको छ ।

सबै भन्दा कम माविको शिक्षा र संस्कृत ब्याकरणमा १–१ जनाका लागि मात्रै विज्ञापन खोलिएको छ । 

अंग्रेजी पछि धेरै विज्ञापन भएको विषय निमावि नेपाली हो । यसमा ३ सय १८ शिक्षकका लागि विज्ञापन गरिएको छ । निमाविको गणित÷विज्ञानमा २ सय ९४ र सामाजिकमा २ सय ७७ पदका लागि विज्ञापन गरिएको छ । माविको विज्ञानमा २७४, निमाविको विज्ञानमा २ सय ३९ र गणितमा २ सय २३ पदका लागि विज्ञापन गरिएको छ ।

मावि गणितका लागि २ सय १७, नेपालीका लागि २ सय १२, सामाजिकका लागि १ सय ९९, लेखाका लागि ४०, स्वास्थ्य जनसंख्या तथा वातावरणका लागि २४ र अर्थशास्त्रका लागि १६ पदका लागि विज्ञापन गरिएको छ ।

यस्तै निमाविको संस्कृत ब्याकरणमा ४ र माविका लागि १, माविको कम्युटर विज्ञान स्वास्थ्य शारिरिक र संस्कृत साहित्यका लागि २ –२ वटा पदका लागि विज्ञापन गरिएको छ । यस्तै माविको संस्कृत भाषाका लागि ३ पदका लागि विज्ञापन खोलिएको छ ।

प्रतिक्रिया