Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

त्रिवि प्राध्यापकलाई पढाउन दिने क्याम्पसमाथि कारबाही

विहीबार, ३० पुस २०७२

काठमाडौँ, ३० पुस । विश्वविद्यालय प्रशासनबाट अनुमति नलिई निजी क्याम्पसमा पढाउने प्राध्यापक र त्यस्ता प्राध्यापकलाई पढाउन लगाउने निजी क्याम्पससमेत कारबाहीमा पर्ने भएका छन्। 

 यसअघि विश्वविद्यालयको अनुमतिबिना अन्यत्र पढाउने स्थायी प्राध्यापकलाई मात्र कारबाही गर्दै आएको त्रिविले पहिलोपटक निजी क्याम्पसलाई समेत कारबाही गर्न लागेको हो । प्रशासनसँग अनुमति नलिई प्राध्यापकहरूले लुकिछिपी निजी क्याम्पसमा पढाउन थालेपछि त्रिविले नयाँ रणनीति अपनाएको हो।

निजी क्याम्पसमा पढाउन चाहने त्रिविका स्थायी प्राध्यापकहरूले सिफ्ट नजुध्ने गरी त्रिविबाट अनुमति लिएर मात्र अन्यत्र पढाउन पाउने व्यवस्था छ । तर त्रिविअन्तर्गतका धेरै प्राध्यापकहरूले आफ्नो सिफ्ट जुध्ने गरी निजी क्याम्पसहरूमा पढाइरहेका छन्।

 कतिपय प्राध्यापकहरूले त आफ्नो दरबन्दी रहेको त्रिविको आंगिक क्याम्पसमा एकदुई पिरियडमात्र पढाउने र त्यसपछि अन्य क्याम्पसमा पढाउन जाने गरेको आरोप लाग्ने गरेको छ। यस्ता प्राध्यापकहरूमध्ये थुप्रैले आफैंले लगानी गरेर क्याम्पससमेत चलाइरहेका छन्।

 त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयअन्तर्गत रहेको अनुगमन समितिले यस्ता प्राध्यापक र क्याम्पसमाथि छानबिन सुरु गरेको छ । अनुगमन समितिका संयोजक विष्णु मादेनले भने, 'प्राध्यापक र क्याम्पसलाई सचेत गराउन यस्तो व्यवस्था गरेका हौं। त्रिविको निर्देशनको अवज्ञा गरेर पढाउने प्राध्यापक र पढाउन लगाउने कलेजलाई पनि कारबाहीको दायरामा ल्याउँछौं।'

कति प्राध्यापकले अनुमति लिएर निजीमा पढाएका छन् र कतिले अनुमति लिएका छैनन् भन्ने विषयमा जानकारी राख्न त्रिविअन्तर्गतको क्याम्पसमा पढाउने प्राध्यापकका बारेमा अनुगमन गरिने अनुगमन समितिको कार्यालयले जनाएको छ।'क्याम्पसको शिक्षक कर्मचारीको विवरण हेरेर यस्ता प्राध्यापकका बारेमा अध्ययन गर्छौुं, प्रमुख मादेनले भने।

 त्रिविको निर्देशन अवज्ञा गर्ने क्याम्पसलाई पहिलोपटक सचेत गराउने र सचेत गराउँदा पनि निर्देशन अवज्ञा गरेमा जरिबाना लिने तथा अन्य कारबाहीका विषयमा छलफल गरिने त्रिविले जनाएको छ। अनुमति नलिई अन्यत्र पढाउने प्राध्यापकलाई भने पहिलो चरणमा स्पष्टीकरण लिने तथा त्यति गर्दा पनि नमानेमा ग्रेड घटुवा गरिनेछ।

 गत वर्ष पनि त्रिविले त्रिविबाट अनुमति नलिई निजी क्याम्पसमा पढाइरहेका एक सय चारजना प्राध्यापकलाई स्पष्टीकरण सोधेको थियो। स्पष्टीकरणबाट चित्त नबुझेका केही प्राध्यापकमाथि ग्रेड घटुवा गर्ने विषयमा छलफल भइरहेको मादेनले बताए। 'विगतमा पनि केही प्राध्यापकको ग्रेढ घटुवा भएको थियोु, मादेनले भने, 'हाम्रो उद्देश्य प्राध्यापक र क्याम्पसलाई कारबाही गरेर नकारात्मक सन्देश फैलाउनुभन्दा पनि दुवै पक्षलाई सचेत गराउनु हो।'

(अन्नपूर्णपोष्ट दैनिकमा सुर्यप्रसाद पाण्डेले समाचार लेखेका छन्।) 

प्रतिक्रिया