Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

परिषद्कै चलखेलले कक्षा ११ को रिजल्टमा ढिलाई

बुधबार, २९ पुस २०७२

भक्तपुर - परीक्षा फारम खुल्न २ दिन बाँकी हुँदा समेत उच्च माध्यामिक शिक्षा परिषद्ले कक्षा ११ को नतिजा सार्वजनिक गर्न सकेको छैन ।

माघ १ गते देखि परीक्षा फारम खोल्ने परिषद्को तयारी छ । कक्षा ११ को नतिजामा फेल हुने विद्यार्थीले पुनः परीक्षा दिन फारम भर्नु पर्ने हुन्छ । तर विद्यार्थीलाई आफू पास भएँ की फेल भएँ भन्ने कुरा फारम भर्ने २ दिन अघि सम्म पनि थाह हुन सकेको छैन । यसले गर्दा परिषद्को कार्य सम्पादनमै प्रश्न उब्जिएको छ ।

परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम छ । यस अनुसार गत असोज भित्रै नतिजा सार्वजनिक भै सक्नु पर्ने थियो । तर, परीक्षा भएको ६ महिना सम्म नतिजा सार्वजनिक नहुँदा विद्यार्थी र अभिभावक हैरान भएका छन् ।

नियन्त्रक सन्तोष अर्याल कम भन्दा कम 'मिसिङ्' होस् भनेर सचेत बन्दा केही ढिलो हुन गएको बताउँछन् । 'अहिले हतारमा रिजल्ट गर्ने पछि विद्यार्थीले धेरै झण्झट बेहोर्न नपरोस् भनेर हामी सचेत भएका हौँ' उनले भने ।
परिषद्को बार्षिक क्यालेण्डर अनुसार माघ मसान्त सम्म फारम भर्ने म्याद भए पनि दोब्बर दस्तुर तिरेर फागुन १५ सम्म विद्यार्थीले फारम भर्न पाउने छन् । त्यसैले हतारमा नतिजा सार्वजनिक गरेर पछि हैरानी बेहोर्नु भन्दा कम त्रुटि सहित नतिजा सार्वजनिक गर्दा उचित हुने अर्यालको तर्क छ ।

तर, निश्चित मिति भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम परिषद्बाट उलंघन भएको छ । परिषद्को आन्तरिक चलखेलका कारण नतिजा प्रकाशनमा ढिलाई भएको श्रोतले बतायो । 'उत्तर पुस्तिका जाँच गर्न कसलाई दिने भन्नेबाटै शुरु हुने तानातानले नतिजामा असर गर्यो' उक्त श्रोतको दावि छ, 'खास गरी निजी उच्च माविहरुको नतिजालाई प्रभावित गर्ने गरी परिषद्का उच्च ओहोदाका कर्मचारीहरुले नै कापि परिक्षणको ब्यवस्था मिलाउन गर्ने चलखेलका कारण यस्तो भएको हो ।'

त्यसो त, बुधबार विहान सम्म परीक्षा नियन्त्रण कार्यालयका कर्मचारी मिसिङ् रुजुमै ब्यस्त छन् । लगभग २६ हजार 'मिसिङ्' फेला परेको श्रोतले जनायो । मंगलबार देखि नै शुरु 'मिसिङ् केश' मिलाउने क्रम राती अवेर सम्म पनि नसकिएपछि विहानैबाट त्यही काम शुरु भएको हो । 

उक्त काम सकिएपछि औपचारिकताका लागि बोर्ड बैठक डाकिने छ । उक्त बैठकले पारित गरेपछि औपचारिक रुपमा नतिजा सार्वजनिक गरिने छ । अहिले सम्म आफूलाई बैठकबारे कुनै खबर नआएको एक सदस्यले बताए ।
परिषद्बाट औपचारिक घोषणा हुना साथ नतिजा एडुखबर मार्फत थाह पाउन सकिने छ ।

कक्षा ११ को परीक्षा गत असार १ गते देखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गते देखि भएको थियो ।

परीक्षामा ३ लाख ४६ हजार ५ सय ६७ जना विद्यार्थी सहभागि रहेकने परिषद्ले जनाएको छ ।

प्रकाशित मिति २०७२ पुस २९ गते

प्रतिक्रिया