Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

प्रहरीको “स्कुल–स्कुलमा” अभियान सुरु

सोमबार, २७ पुस २०७२

काठमाडौँ, २७ पुस । लागुपदार्थको सेवनसँगै महिला तथा बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसाबारे बालबालिकालाई जानकारी दिन भन्दै प्रहरीले विद्यालय केन्द्रित अभियान सुरु गरेको छ । 

प्युठानमा “स्कुल–स्कुलमा” पुगेर बालबालिकालाई लागुपदार्थको प्रयोगसँंगै महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा जानकारी दिन जनचेतनामूलक कार्यक्रम सुरु गरिएको प्रहरीले जनाएको छ । 

उत्तरी प्यूठानको बाल शिक्षा उमावि ओखरकोटबाट विद्यालयस्तरमा विद्यार्थी अनुशिक्षण कार्यक्रमको सुरुवात गरिएको हो । जिल्ला प्रहरी कार्यालयले जिल्लामा हरेक महिना दुई वटासम्म विद्यालयमा लागुपदार्थको सेवन, बाल विवाह तथा बालहिंसाका विषयमा जानकारी दिनेगरी विद्यालय कार्यक्रम सुरु गरेको छ । 

कक्षा ८ देखि १० सम्म र उच्चमाविमा अध्ययनरत विद्यार्थीलाई केन्द्रित गरी प्रहरी प्रधान कार्यालय नक्साल काठमाडौँको आर्थिक सहयोगमा कार्यक्रम सुरु गरिएको हो । 

विद्यालयस्तरको कार्यक्रम जिल्लाका सबै गाविस र प्यूठान नगरपालिकामा सञ्चालन गर्ने योजना रहेको प्रहरी नायब निरीक्षक सञ्जीव दुलालले जानकारी दिए । पहिलो दिनको कार्यक्रम प्यूठानका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्की र प्रहरी नायब निरीक्षक सञ्जीव दुलालले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बालशिक्षा उमाविका प्राचार्य विष्णुप्रसाद पोख्रेलले महिला तथा बालबालिकाको क्षेत्रमा हुने हिंसा न्यून गर्न विद्यालय केन्द्रित कार्यक्रमको आवश्यकता पर्ने बताए  । लैंङ्गिक हिंसा जिल्ला समन्वय समिति प्यूठानका अध्यक्ष एवम् मानवअधिकारकर्मी पार्वता आचार्यले बालबालिकासँगै युवावस्थामा प्रवेश गर्दै गरेका विद्यार्थीका लागि कार्यक्रम महत्वपूर्ण भएको बताए ।

यसैबीच एक हप्ता पहिला खवाङ–६ मा भएको हत्याकाण्डमा संलग्न भएकाको अनुसन्धान गर्ने भन्दै प्रहरीले पक्राउ गरेका तीन जनामध्ये दुई महिला छुटेका छन् । 

महिलालाई जिल्ला प्रहरी कार्यालय प्यूठानले सोधपुछपछि छोडेको हो । स्थानीयवासी रुनादेवी गिरीको धारिलो हतियार प्रयोग गरी यही पुस १७ गते हत्या भएपछि प्रहरीले अनुसन्धानका क्रममा स्थानीयवासी ज्ञानी खत्री, रुमा गिरी र केशु गिरीलाई पक्राउ गरेको थियो । 

रासस

 

 

 

प्रतिक्रिया