Edukhabar
विहीबार, १३ मंसिर २०८१
विचार / विमर्श

अपव्याख्यामा एसएलसी अक्षराङ्कन

आइतबार, २६ पुस २०७२

- गेहनाथ गौतम / पाठ्यक्रमले तोकेको सक्षमताका आधारमा गरिने मूल्याङ्कन पश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइ स्तरलाई अक्षरमा गरिने प्रस्तुति 'अक्षराङ्कन' पद्धति हो । माध्यमिक शिक्षा सहयोग कार्यक्रम, २००२, एसएलसी परीक्षा सम्बन्धी अध्ययन २००५, राष्ट्रिय पाठ्यक्रम प्रारूप २०६३, विद्यालय क्षेत्र सुधार योजना (२००९(२०१५) आदिले अक्षराङ्कन मूल्याङ्कन पद्धति लागु गर्न सुझाव तथा निर्देश गरेको थियो ।

प्राविधिक तथा व्यावसायिक धारमा २०७१ को एसएलसी परीक्षादेखि ६ ग्रेडमा कार्यान्वयन प्रारम्भ गरिएकोमा एक वर्षको अनुभवका आधारमा हाल ९ ग्रेडमा परिवर्तन गरी कार्यान्वयन गर्ने तयारी भएको छ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसएलसी) परीक्षाको  साविक अङ्क वा प्रतिशतमा आधारित प्रमाणीकरण पद्धतिका सट्टामा हाल अक्षराङ्कन पद्धति (ीभततभच न्चबमष्लन क्थकतझ) लागु गर्ने निर्णय सँगै यसबारेमा बाक्लो बहस हुने गरेको छ ।

यसबाट ८० वर्ष लामो एसएलसी परीक्षाकोे अभ्यासमा परिवर्तन खोजियो । अङ्कद्वारा गरिने मूल्याङ्कनमा आधारित प्रमाणपत्र प्राप्त गरेका हामी सबैलाई यस निर्णयले तत्काल अन्यौल जस्तो लाग्नु स्वाभाविक हो । यसकारण अक्षराङ्कन पद्धति कार्यान्वयनका प्रमुख तिन उद्देश्य माथि यो आलेख केन्द्रित गरिएको छ ।

'विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति कार्यान्वयन कार्यविधि, २०७२'  अनुसार ग्रेडिङ् पद्धति कार्यान्वयन गर्नुको उद्देश्य निम्न ३ ओटा निर्धारण गरिएको छ :

१.  विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्ने ।

२.  सिकाइ उपलब्धिको अङ्कन गर्दा देखिने अङ्क गत स्तरहरूलाई नौ ओटा अक्षरगत स्तरमा सूचित गर्ने ।

३.  शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने ।

यी उद्देश्यहरूलाई शिक्षाको वृहत कार्य, सिकाइ मनोविज्ञान र सिकारुको सिक्न पाउने अधिकार, औपचारिक परीक्षा पद्धतिका लाभ हानी तथा हाम्रो आफ्नै र विश्वव्यापि अभ्यास आदि पक्षलाई हेर्दा निम्न लिखित आधारमा ग्रहण गर्न सकिन्छ :

१. विद्यार्थीको सिकाइ सक्षमतालाई यथारूपमा प्रमाणीकरण गर्नेः अर्थात् पाठ्यव्रmमले तोकेका विषय र सो विषयमा तोकिएका सिकाइ उद्देश्यहरू मध्ये विद्यार्थीले के कति उपलब्धि हासिल गरेको छ भनेर वास्तविक अवस्थालाई विगतमा जस्तो ० देखि १०० स्तरमा नगरी यथारुप अर्थात् जस्ताको त्यस्तै राखिने मात्र । विद्यार्थीले हासिल गरेको यस्तो स्तरलाई विगतमा विशिष्ट देखि अनुत्तीर्ण सम्मका विभिन्न ५ किसिमका श्रेणीमा प्रमाणित गरि आएको अभ्यासमा परिवर्तन गरी उत्तीर्ण अनुत्तीर्ण भन्ने निर्णय नगर्ने ।

यसो गर्दा अक्षर ग्रेडहरूको प्रयोग गरी असाधारण प्रतिभाशाली देखि अपर्याप्त जस्ता विशेषणबाट चाहिँ सूचित गरिने । यस्तो अक्षर ग्रेड विषयगत र समग्र दुवै किसिमबाट देखिने व्यवस्था मिलाउने । यस तहको क्षैक्षिक प्रमाण पत्र हासिल गरेको जनशक्तिलाई उपयोग गर्ने उच्च शिक्षा प्रदायक संस्था वा रोजगार दाता निकायलाई नै आफ्नो आवश्यकता अनुसार छनोट गर्ने स्वतन्त्रता प्रदान गर्ने । यस्तो अभ्यास हालको अङ्काङ्कन पद्तिका प्रमाण पत्रमा पनि हुने गरेको छ । जस्तै : त्रि.वि.वि. ले सामान्यतः स्नातकोत्तरमा द्वितीय श्रेणी सरह उपलब्धि हासिल नगरेका व्यक्तिबाट प्राध्यापन पेशामा आवेदन नै नलिने गरेको  देखिन्छ । 

हाल उच्च माध्यमिक तहमा विज्ञान मूल विषय लिने गरी भर्ना हुन एसएलसीमा विज्ञान गणित विषयमा निश्चित श्रेणीको उपलब्धि आवश्यक मान्ने गरिएको छ । यस पृष्ठभूमिमा यथारूपमा प्रमाणीकरण गर्ने यस उद्देश्यका विशेषतालाई  निम्न पक्षबाट हेर्न सकिन्छ :

क. व्यक्तिले आफूलाई सफल असफल भन्दा पनि आफ्नो योग्यताको स्तर पहिचान गर्न पाउँछ ।

ख. फरक फरक आवश्यकता भएका निकायहरूले आफ्नो आवश्यकता अनुसारको विषयका उपलब्धि स्तर हेरी यस्ता प्रमाण पत्र अर्थात् व्यक्तिको उपयोग गर्न सक्दछन् ।

ग. एकपटकको परीक्षा वा व्रिmयाकलापका आधारमा कुनै पनि व्यक्ति सधैँ योग्य वा अयोग्य घोषित गरिनु सिकाइ मनोविज्ञानका दृष्टिबाट पनि उपयुक्त होइन भन्ने मान्यता आत्मसात गरिएको छ ।

घ. प्रत्येक व्यक्तिमा केही न केही क्षमता र विशेषता हुन्छन् । शून्य सिकाइ हुन सक्दैन ।

ङ कुनै व्यक्ति योग्य वा अयोग्य भन्ने कुरा उसको क्षमता वा प्रमाण पत्र प्रयोग गर्ने निकायको आवश्यकता र उद्देश्य अनुसार फरक फरक हुनसक्छ । योग्य वा अयोग्य भन्ने जिम्मा प्रमाण पत्र उपयोगकर्ताको आवश्यकतासँग जोडिएको हुन्छ ।

२. सिकाइ उपलब्धिको अङ्कन गर्दा देखिने अङ्कगत स्तरहरूलाई नौ ओटा अक्षरगत स्तरमा सूचित गर्नेः  एसएलसी परीक्षामा विगतदेखि हालसम्म मुख्य रुपमा अपनाइ आएको अङ्कमा आधारित प्रणालीमा न्युनतम ० देखि १०० सम्मका १०१ तहका अङ्क प्रयोग गर्ने गरिएको थियो । यसमा ० देखि ३१ सम्म अनुत्तीर्ण, ३२ देखि ४४ सम्म तृतीय, ४५ देखि ५९सम्म द्वितीय, ६० देखि ७९ सम्म प्रथम र ८० भन्दा माथि विशिष्ट सहित प्रथम श्रेणी कायम गरी पाँच श्रेणी कायम गरिएको थियो । अक्षराङ्कन पद्धतिमा श्रेणीगत स्तरीकरण हटाइएको छ र अब ९ विशेषता रहेका निम्न अनुसारका स्तरहरू कायम गरिएको छ :



यस उद्देश्यका विशेषतालाई निम्न पक्षबाट हेर्न सकिन्छ :

क. उपलब्धिलाई विभिन्न श्रेणीका सट्टामा ग्रेड वा स्तर भनिन्छ । अङ्काङ्कन गरिने परम्परागत पद्धतिमा रहेका ५ श्रेणीलाई ९ ग्रेडमा परिवर्तन गर्ने । यसले विद्यार्थीको स्तरलाई अझ शुक्ष्म रुपमा सूचित गर्ने व्यवस्था भएको छ ।

ख. सामान्यतः १० प्रतिशत बरावरको उपलब्धिलाई एउटै स्तरमा सूचित गर्ने । यस व्यवस्थाले एकातिर १० प्रतिशत अङ्क बराबरको सिकाइ उपलब्धि बढ्नासाथ स्तरोन्नति हुन पाउने अवसर प्रदान गरेको छ । अर्कातिर मापनमा अपनाएको विधि, जाँचकीको विवेक र सिकारुको तत्कालीन अवस्था जस्ता कारणले देखिने अङ्कगत भिन्नतालाई कम गर्दछ ।

ग. विषयगत र समग्र दुवै प्रकारको स्तर निर्धारण गरिने । यस आधारमा विषयगत उपलब्धिका आधारमा पनि व्यक्तिले अवसर प्राप्त गर्ने मार्ग सुनिश्चित भएको छ ।

घ. उत्तीर्ण वा अनुत्तीर्ण भनेर निर्णय नगरिने तर डि अर्थात् ४० प्रतिशत भन्दा कम उपलब्धि भएमा तत्कालै ग्रेड वृदिधको अवसर प्रदान गर्ने । आफ्नो स्तर बढाउन चाहनेलाई दिइने अवसर कायमै राखिएको छ ।

ङ. अन्तर्राष्ट्रिय प्रचलनसँग मिल्दो प्रमाणिकरण पद्धति अबलम्बन गरिएको । यसले नेपालमा अध्ययन गरेका विद्यार्थीको योग्यतालाई मान्यता वा समकक्षता प्राप्त गर्न सजिलो हुनेछ ।

३.  शैक्षिक क्षतिलाई न्यूनीकरण गर्दै शैक्षिक गुणस्तर प्रवर्धन गर्ने :  व्यक्तिगत जीवनस्तरमा सुधार गर्ने, वृत्ति विकास गर्ने तथा संस्थागत क्षमता अधिवृद्दि गर्ने वा लगानीको अधिक प्रतिफल प्राप्त गर्र्न क्षति कम गरी गुणस्तर प्रवर्धन गर्ने चाहना सबैको हुन्छ । शिक्षा पद्धति त अझ व्यक्तिको जीवन वृत्तिसँग प्रत्यक्ष जोडिएको हुन्छ । शैक्षिक क्षेत्रका हरेक नीति तथा कार्यव्रmमको अपेक्षा क्षति कम र गुणस्तर प्रवर्धनमा जोडिनु पर्दछ । यस्तो अपेक्षा नीतिगत विषय र प्रकृति अनुसार कम बेसी हुन सक्दछ । अक्षराङ्कन पद्धतिले निम्न पक्षबाट शैक्षिक क्षति न्यूनीकरण र शैक्षिक गुणस्तर प्रवर्धन गर्न सहयोग पुर्याउन सक्दछ :

क. यस पद्धतिले विशेषतः मूल्याङ्कनका पथ प्रदर्शनात्मक कार्यहरू जस्तै विद्यार्थीको स्तर, विशेष क्षमता, विषयगत क्षमतादेखि कमजोरी रहेका पक्षहरू र उनीहरूका रुचीअनुसारका क्षेत्र र सिकाइका विशेषता पहिचान गरी आगामी शैक्षिक सुधारका पक्षमा पथ प्रदर्शन गर्दछ ।

ख. उत्तीर्ण वा अनुत्तीर्ण घोषित नगरी विद्यार्थी उपलब्धिलाई सूचित मात्र गर्नाले हाल उत्तीर्णाङ्क भन्दा १ अङ्क मात्र पनि कम प्राप्ताङ्कलाई अनुत्तीर्ण घोषित गरी पूरै शैक्षिक क्षति मान्ने गरिएको विश्लेषणमा परिवर्तन हुन्छ । अनुत्तीर्ण घोषित भएपछि विद्यार्थीले माथिल्लो तहमा अध्ययन गर्ने अवसरबाट नै विमुख हुनुपर्ने विगत देखिको अवस्थामा सुधार हुन्छ । साथै यसमा स्तर बढाउने अवसर पनि प्रदान गरिन्छ ।

ग. विद्यार्थीमा मूलतः असक्षम वा असफल भन्ने पहिचान मेटिन्छ । विषयगत क्षमता अनुसार अन्य अवसर लिन सकिने हुन्छ । यसबाट उसले चाहेमा हिनता बोध बिना थप वृत्ति विकास गर्ने सम्भावनाको ढोका सदैव खुला रहन्छ ।

घ. आफ्नो सक्षमताको स्तर वृद्धि गर्ने चाहना सबैको हुन्छ । १०–१० अङ्कमा फरक फरक ग्रेड कायम गरिने भएकाले ग्रेड वृदिधका लागि सिकारु अझ उत्साहित हुने सम्भावना बढ्दछ । विद्यालयमा निरन्तर विद्यार्थी मूल्याङ्कन प्रक्रियामा यस पद्धतिका स्तरलाई अनुशरण गर्दास्तर वृद्धिको प्रयास अझ सघन बन्नेछ । यसका लागि सिकाइमा प्रभावकारिता बढाउन मेहनत गर्ने गराउने दायित्व अझ आवश्यक पर्दछ ।

ङ. परीक्षा नियन्त्रण कार्यालयबाट उत्तीर्ण भएको प्रमाण पत्र प्रदान गर्ने तर कतिपय प्रयोजनमा यस्तो प्रमाण पत्र अस्वीकृत हुने द्विविधा युक्त अवस्था रहन्न ।

च. अति परीक्षामुखी पद्धति निरुत्साहित हुन्छ । विद्यालयको वातावरण सिक्ने, सिकाउने प्रव्रिmया उन्मुख हुन्छ ।
विद्यार्थी र अभिभावक वर्गमा असफलताको डर कम हुन्छ र अस्वस्थ गतिविधिमा सुधार आउँछ ।

छ. यस पद्धतिको कार्यान्वयनका लागि मौजुदा पाठ्यव्रmम, ग्रीड र निरन्तर सिकाइ सहजीकरण प्रव्रिmयामा थप सुधार आवश्यक छ । यसका लागि गरिने लगानी, उत्प्रेरणा र उत्साह अभिवृद्धिका लागि केन्द्रदेखि स्थानीय तहसम्मनै  गुणस्तरमा सुधार अभियान सञ्चालन अपेक्षित रहन्छ ।

ज. सिकाइ प्रति उत्प्रेरित विद्यार्थी र सिकाइ सहजीकरण प्रति जागरुक शिक्षक व्यवस्थापनबाट भय रहित वातावरणमा सिक्ने सिकाउने अवसर बढ्दछ ।साथै हाल परीक्षाको समयमा देखिने वा हुने गरेको अवान्छित गतिविधिहरू स्वतः हराउछ ।

उल्लिखित आधारबाट अक्षराङ्कन पद्धतिको कार्यान्वयन गर्न आवश्यक छ । यस पद्धतिलाई समग्र सुधारको निर्विकल्प जड वा सम्भावित विकृतिको कारकका रुपमा गरिने दुवै खाले अपव्याख्याबाट जोगाउनु पर्दछ । आखिर यो त सिकाइको मूल्याङ्कन पछि प्रदान गरिने प्रमाण पत्रको अर्को तरिका मात्र न हो ।

शिक्षक, विद्यार्थी, अभिभावक, सेवा प्रदायक निकाय वा रोजगारदाता जो जहाँ छौँ पूर्ववत् जिम्मेवारी, मेहनत र कर्तव्य अपेक्षित रहन्छ । फरक यति हो कि अब परीक्षार्थीलाई परीक्षकबाट योग्य अयोग्य भनिन्न, बरु यस्तो निर्णय गर्ने अधिकार सम्बन्धित रोजगारदाता, उच्च शिक्षा प्रदायक निकाय वा व्यक्तिको आफ्नै भावी जीवनवृत्तिको सिलसिलामा निर्भर रहन्छ ।  

- गौतम पाठ्यक्रम विकास केन्द्रका उपनिर्देशक हुन् ।

प्रकाशित मिति २०७२ पुस २६ गते

प्रतिक्रिया