Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

प्राविधिक पढाउने विद्यालयलाई शिक्षककोटा सहित रकम अनुदान

आइतबार, २६ पुस २०७२

भक्तपुर– उच्च माध्यमिक विद्यालयमा प्राविधिक बिषय पढाउने प्लस टुले आठ देखि १८ लाख रुपैँयासम्म अनुदान पाउने भएका छन् । यो रकम विद्यालयको पूर्वाधार निर्माण र प्रयोगशालामा आवश्यक सामान खरिद गर्न खर्च गर्नु पर्ने हुन्छ ।

कक्षा नौ र १० मा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गरी उच्च माध्यमिक शिक्षा परिषद्बाट कक्षा ११ को अनुमति पाएका र सीटीइभीटीबाट डिप्लोमा कक्षा अध्ययन गराउन अनुमति पाएका विद्यालयहरुलालाई थप सामाग्री खरिद गर्न अनुदान दिन लागेको शिक्षा विभागले जनाएको छ । विभागले उक्त रकम शिक्षा कार्यालयलाई निकासा दिइसकेको छ । उक्त अनुदान पाउनेमा उच्च माध्यमिक शिक्षा परिषद्बाट सम्बन्धन पाएका ८३ वटा र सीटीइभीटीका सम्बन्धन पाएका आठ वटा विद्यायलले पाउनेछ ।

विभागका अनुसार सिभिल र इलेक्ट्रिकल इन्जिनियरिङ्का लागि प्रति कार्यक्रम १८ लाख अनुदान दिन लागिएको हो । त्यस्तै कम्प्यूटर इन्जिनियरिङका लागि प्रति विद्यालय १० लाख र बाली विज्ञान, पशुपालनका लागि प्रति विद्यालय नौ लाखका दरले रकम विनियोजन गरिएको विभागले जनाएको छ ।

यसवर्ष उच्च माध्यमिक तहमा प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालन गर्न अनुमति प्राप्त गरेका विद्यालयहरुले एक कोटा बराबरको उच्च माध्यमिक शिक्षा अुनदान पाउने भएका छन् । यसमा विज्ञान (भौतिक तथा रसायन) बिषयमा स्नातकोत्तर गरेका शिक्षक अनुदान उपलब्ध गराउन विभागले शिक्षा कार्यालयलाई निर्देशन दिएको छ । अनुदान पाउने विद्यालयहरुमा पठन पाठन भइरहेको सम्बन्धित प्राविधिक बिषयको लागि माध्यमिक शिक्षक द्धितीय श्रेणी बराबरको एक जना प्रशिक्षकको तलब भत्ता थप निकासा भएको छ । उक्त पदका लागि सम्बन्धित बिषयमा स्नातकोत्तर गरेका वा स्नातक उतीर्ण गरी अनुभव प्राप्त व्यक्तिलाई नियुक्ति गर्ने व्यवस्था मिलाउने गरी विद्यालयलाई निकासा दिन विभागले शिक्षा कार्यालयहरुलाई निर्देशन दिएको हो ।

उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने प्रशिक्षकको लागि पनि मासिक तीन हजारका दरले दश महिनाको प्राविधिक भत्ता उपलब्ध गराईने भएको छ ।

सीटीइभीटीबाट डिप्लोमा सञ्चालन गरेका विद्यालयहरुले प्रति विद्यालय माध्यमिक शिक्षक द्धितीय श्रेणी बराबरका दुई जना प्रशिक्षकको तलब एवं प्रति महिना तीन हजार रुपैंयाका दरले दश महिनाको प्राविधिक भत्ता पाउने भएका छन् ।

सामुदायिक विद्यालय क्षमता अभिबृद्धि कार्यक्रम अन्तर्गत प्राविधिक तथा व्यवसायिक शिक्षा सञ्चालित विद्यालयहरुमा कार्यरत दुई जना प्रशिक्षकको लागि निम्न माध्यमिक तह तृतीय श्रेणी बराबरको तलब भत्ताको निकासा गरिएको छ । यस्तै प्रशिक्षक र सहायक प्रशिक्षकहरुलाई प्रति महिना तीन हजारका दरले १० महिनाको प्राविधिक भत्ता निकासा दिएको छ ।

अहिले सञ्चालनमा रहेका विद्यालयहरुले प्राथमिक शिक्षक तृतीय श्रेणी सरह तलब भत्ता खाने गरी एक जना प्रशिक्षक सहायक (ल्याब एसिसटेन्ट) को अनुदान पाउने भएका छन् । उक्त रकम विद्यालयहरुमा निकासा दिएपछि उक्त पदमा सम्बन्धित बिषयमा टीएसएलसी वा डिप्लोमा गरेका व्यक्ति नियुक्ति गर्न सक्छन् । यसका लागि शिक्षा कार्यालयले अनुमति दिनु पर्ने हुन्छ ।

उच्च माध्यमिक शिक्षक अनुदान वा प्रशिक्षक अनुदान, प्रशिक्षक सहायक अनुदानमा नियुक्ति गर्दा शिक्षा कार्यालयको अनुमति पछि प्रतिष्पर्धाको आधारमा छनौट गर्नु पर्ने हुन्छ ।

शिक्षा कार्यालयमा प्राविधिक शिक्षाको बारेमा नियमित सम्पर्कमा रहन एक जना उपसचिव वा शाखा अधिकृतलाई सम्पर्क व्यक्ति तोक्नु पर्ने व्यवस्था पनि गरिएको छ । उसले प्राविधिक विद्यालयहरुले नियुक्ति  गरेका शिक्षक विवरण, प्रयोगात्मक सामाग्री व्यवस्था, पठन पाठन लगायतका बारेमा नियमित अनुगमन गरी क्षेत्रीय शिक्षा निर्देशनालय र विभागमा प्रतिवेदन पठाउनु पर्ने हुन्छ ।

यसपालीको एसएलसी परीक्षामा सहभागि हुने विद्यार्थीलाई कार्यगत तालिम (अन द जब ट्रेनिङ) का लागि प्रति विद्यार्थी  तराईमा सात हजार, हिमालमा १२ हजार र पहाडमा नौ हजारका दरले बजेट निकासा गरिसकेको विभागले जनाएको छ ।

प्रकाशित मिति २०७२ पुस २६ गते

प्रतिक्रिया