Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

एसएलसी पूरकको नतिजा बिहीबार

बुधबार, ३० भदौ २०७२

नतिजा एडुखबरमा

भक्तपुर ३० भदौ / एसएलसी पूरकको नतिजा बिहीबार सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालयले बिहीबार विहान बोर्ड बैठक डाकेको एक जना सदस्यले बताए ।

'नतिजा सार्वजनिक गर्न आवश्यक सबै तयारी पुरा भएको छ' कार्यालय श्रोतले भन्यो, 'बिहीबार विहान बस्ने बोर्ड बैठक अघि सबै प्रकृया सक्ने गरी काम भईरहेको छ ।'

नतिजा सार्वजनिक हुनासाथ एडुखबरमा प्रकाशित हुने छ ।

प्रदेश सीमांकनको विरोधमा विभिन्न राजनीतिक दल तथा संगठनहरुले गरेको बन्द र हड्तालका कारण कापी परीक्षणमा अबरोध हुँदा नतिजा कहिले सार्वजनिक हुन्छ भन्ने अन्यौल भएको थियो । यसले गर्दा परीक्षामा सहभागि विद्यार्थीले यहि बर्ष कक्षा ११ पढ्न पाउने नपाउने समेत अन्यौल थियो ।

दुई विषयमा मात्रै फेल हुने विद्यार्थीले मौका परीक्षामा सहभागि भएर पास भयो भने उही बर्ष कक्षा ११ पढ्न पाउँछ ।

गत साउन २० देखि २७ गते सम्म भएको परीक्षामा सहभागि हुन १ लाख २४ हजार २ सय ५१ विद्यार्थीले फर्म भरेका थिए । यी मध्ये कसैले २ र कसैले १ विषयको मात्रै परीक्षा दिएका छन् । परीक्षा सकिएको एक हप्ता सम्म पनि उत्तर पुस्तिका परीक्षणको काम शुरु भएको थिएन । बन्दकै बिचमा सुरक्षाकर्मीको सहयोग लिएर विद्यार्थीका झण्डै १ लाख ९३ हजार कापी परीक्षण केन्द्र सम्म पुर्याएर परीक्षण गरेको कार्यालयले जनाएको छ । पूरकको कापी परीक्षणका लागि कार्यालयले देशका विभिन्न १९ ठाउँमा केन्द्र तय गरेको थियो ।

नियमित परीक्षाको नतिजा परीक्षा सकिएको ३ महिना भित्र गरी सक्नु पर्ने ब्यवस्था भएपनि पूरकको बारेमा अवधि किटान गरिएको छैन । तर, गत बर्षहरुमा भदौ भित्रै नतिजा सार्वजनिक हुँदै आएको थियो । गत बर्ष पनि पूरकको नतिजा भदौ २२ गते सार्वजनिक भएको थियो ।

प्रतिक्रिया