Edukhabar
विहीबार, १३ मंसिर २०८१
अन्तैवाट

विद्यालय पुनःनिर्माणलाई छ हजार जस्तापाता

शुक्रबार, २४ पुस २०७२

काठमाडौँ, २४ पुस । भूकम्पले भत्केका गोरखाका विद्यालय पुनःनिर्माणका लागि अहिलेसम्म छ हजार बन्डल जस्तापाता सहयोग प्राप्त भएको छ ।  भूकम्पपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (दाता) ले टहरोमा विद्यालय सञ्चालन गर्न, चर्केका विद्यालय मर्मत गरी छाउन र पुनःनिर्माण गर्न छ हजार बन्डल जस्तापाता सहयोग गरेका हुन् । 

“अहिलेसम्म छ हजार बन्डल जस्तापाता प्राप्त भयो,” जिल्ला शिक्षा अधिकारी हरिप्रसाद अर्यालले भने – “प्राप्त सहयोग प्रअ, विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका छौँ ।” जुन संस्थाले जस्तापाता सहयोग गरेको हो त्यही संस्थाको समन्वयमा प्रअहरुले विद्यालयमा जस्तापाता पु¥याएका छन् । 

वैशाखमा गएको ‘गोरखा भूकम्प’ ले गोरखाका ४९४ विद्यालयको भौतिक संरचना काम नलाग्ने गरी ध्वस्त भएका थिए । त्यसपछि करिब एक महिना बन्द रहेको विद्यालयलाई अस्थायी टहरो बनाएर सञ्चालनमा ल्याइएको छ । बढ्दो चिसोमा पनि कष्ट सहेर विद्यार्थी पठनपाठनमा सहभागी हुँदै आएका छन् । 

सरकारले पनि भूकम्पले भत्केका विद्यालयमा टहरो बनाउन रु २५ हजारका दरले सहयोग गरेको थियो । विभिन्न गैरसरकारी संस्थाले पनि अस्थायी टहरो निर्माण, शैक्षिक सामग्री प्रदान गर्नुका साथै स्टेसनरी, पोसाकलगायत सहयोग गरेका थिए । एनआरएनले बारपाकको हिमालय उमाविमा रु १८ लाख खर्चेर भवन निर्माण गरिदिएको छ । 

पोखराको असल छिमेकी नेपालले विद्यालयका भवन निर्माणमा सहयोग गरेको छ । संस्थाले गोरखाका विभिन्न विद्यालयलाई ४४४ बन्डल जस्तापाता उपलब्ध गराइसकेको छ । जिल्ला शिक्षा कार्यालयमा कार्यक्रम गरी आज ९९ बन्डल र आरुघाटमा कार्यक्रम गरी ३४५ बन्डल जस्तापाता सहयोग गरिएको संस्थाका कार्यक्रम संयोजक विजयकुमार श्रेष्ठले बताए ।

सो संस्थाले ४० विद्यालयमा जस्तापाताको साथै ४४४ केजी किला, काँटी पनि उपलब्ध गराएको जनाएको छ । जापानको ‘जाइका’ नामक संस्थाले भूकम्पले भत्केका ३० वटा विद्यालय भवन निर्माण गर्ने तयारी गरेको छ । यसअघि जाइकाले नै निर्माण गरेका ४५ वटा विद्यालयका भवनको पनि मर्मत गर्ने तयारी गरिएको छ । 

“असल छिमेकी पोखराले जिल्ला दैवीप्रकोप उद्धार समितिको खातामा नगद रु ३९ लाख रकम उपलब्ध गराएको छ,” स्थानीय विकास अधिकारी प्रेमराज गिरीले भने – “विपद्का बेला पारदर्शी ढङ्गले सहयोग गर्न सकियो भनेमात्रै वास्तविक पीडितले राहतको अनुभव गर्न पाउँछन् ।” भूकम्पपछि वितरण गरिएको राहत (जस्तापाता) विद्यालयको आवश्यकताभन्दा पनि बढी प्राप्त भएको बताइन्छ । 

उत्तरी भेगका विद्यालयमा ढुवानी समस्याले गर्दा जस्तापाता पु¥याउन सकिएको छैन । भूकम्पपछि पहिरोले अवरुद्ध बाटोहरु सञ्चालन गर्न नसक्दा बटुवाका साथै सामग्री ढुवानीमा समस्या खेप्नुपरेको छ । खाद्यान्नलगायत सामग्री ढुवानीमा हेलिकप्टरको भर पर्नुपरेको छ । चिसो बढेपछि सिर्दिवास माथि रहेका विद्यालय बन्द गरिएको छ । 

पछिल्लो वर्षमा सरकारले भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माणलाई प्राथमिकतामा राखेको थियो । सोहीअनुसार विभिन्न दातृ निकायसँगको समन्वयमा गाउँ गाउँमा विद्यालय भवन बनेका थिए ।  “विद्यालय भवन निर्माणको काम सरकारको प्राथमिकतामा पर्नुपर्छ,” महेन्द्र ज्योति उमावि दरबारमार्गका प्राचार्य लक्ष्मणबाबु आचार्यले भने – “तत्कालै भवन निर्माण सुरु गरेर अघि नबढेमा देशको शिक्षा क्षेत्र पछि पर्छ ।” 

भूकम्पपछि युनिसेफ, जाइका, असल छिमेकी नेपाल पोखरा, गुड नेर्भस् जस्ता सङ्घसंस्थाले विद्यालयलाई टहरो निर्माण गर्नेदेखि भवन निर्माण गर्नेसम्मको जिम्मेवारी लिएका छन् । कुनै संस्थाले शैक्षिक सामग्री बाँड्ने जिम्मा लिएको छ । धादिङको प्रयास नेपालले ३९५ वटा विद्यालयमा शैक्षिक सामग्री, खेलकुद र मनोरञ्जनका सामग्री वितरणका लागि अनुमति लिएको हो । 

रासस 

 

प्रतिक्रिया