Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

अङ्ग्रेजी पढाउन थालेपछि बसाइँ सराइ रोकियो

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । पर्वतको फलेवासस्थित गाउँको विद्यालयमा अङ्ग्रेजीमा पढाइ सुरु भएपछि पर्वतको एक गाउँमा केटाकेटीलाई सहरमा पढाउने नाममा हुने बसाइँ सराइ रोकिएको छ । 

स्थानीय गोर्लाङ्धाम निम्न माध्यमिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पढाउन थालिएपछि दक्षिण पर्वतको दुर्गम होस्राङ्दी गाविसको जम्पुर गाउँमा केही वर्षयता बसाइँ सराइ हुने क्रम रोकिएको हो । 

गाउँमा स्तरीय पढाइ नहुने भन्दै निजी विद्यालयमा छोराछोरी पढाउन बसाइँ सराइ गर्ने क्रम तीव्र भएपछि यो विद्यालयले पाँच वर्ष पहिलेदेखि अङ्ग्रेजी माध्यममा पढाउन थालेको हो । 

सो विद्यालयमा नर्सरीदेखि ८ कक्षासम्म अङ्ग्रेजीमा नै पढाइ हुने गरिएको छ । अङ्ग्रेजीमा पढाउन सुरु गरेदेखि अहिलेसम्म एकजना अभिभावक पनि छोराछोरी पढाउनका लागि बजार झरेका छैनन् अभिभावक ईश्वरी भुसालले भने – “गाउँ छाडेरभन्दा गाउँमै शिक्षाको अवस्था सुधार गरेर राम्रो बनाउन सकिँदोरहेछ ।” 

सो विद्यालयमा पढ्नका लागि अहिले उरामपोखरा गाविसबाट समेत विद्यार्थी आउन थालेका छन् । विद्यार्थीका लागि सहुलियतमा आवास सुविधासमेत दिइएको छ । 

अङ्ग्रेजी सुरु गरेपछि ३० जना विद्यार्थी थपिएको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए । “गाउँका मान्छे बसाइँ सराइ गरेका छैनन्, अरु बाहिरबाट विद्यार्थी थपिएपछि छात्रावास चलाउनुपर्ने अवस्था आयो” – उनले भने ।

अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि निजी स्रोतमा चारजना शिक्षक राखिएको छ । शिक्षकको तलबका लागि अभिभावकले वर्षमा एक दिनको तलब र प्रत्येक वर्ष छ दिन श्रमदान गर्दै आएका छन् । 

विद्यालयको क्षेत्रमा पर्ने होस्राङ्दीको ४, ५ र ९ वडाका बासिन्दाले घरमा सबैभन्दा बढी तलब हुने सदस्यको एक दिनको तलब विद्यालयलाई दिने गरेका छन् । 

यसबाट वर्षमा रु ५० हजारभन्दा बढी नगद सङ्कलन हुने गरेको प्रधानाध्यापक चेतप्रसाद रानाले बताए । “शिक्षकलाई तलब खुवाउन भनेर आफैँ महिना दिनको तलब बोकेर अभिभावक विद्यालय आउनुहुन्छ” उनले भने ।

रासस 

 

प्रतिक्रिया