Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

उच्च शिक्षा सुधार परियोजनामा दुई क्याम्पस छानिए

मंगलबार, २१ पुस २०७२

काठमाडौँ, २१ पुस । विश्वविद्यालय अनुदान आयोग उच्च शिक्षा सुधार परियोजना  (एचइआरपी) मा मेची अञ्चलबाट कनकाई बहुमुखी क्याम्पस सुरुङ्गा र दमक बहुमुखी क्याम्पस छनोट भएका छन् । 

विश्व बैंकको सहयोगमा आयोगद्वारा कार्यान्वयन भइरहेको उक्त परियोजनाका लागि आयोगद्वारा गठित सुधार व्यवस्थापन समितिको निर्णयअनुसार ती दुई क्याम्पस छनोट भएको आयोगले जनाएको छ । 

कार्यसम्पादन तथा सूत्रमा आधारित अनुदानका लागि गएको साउन १९ देखि भदौ २२ गतेसम्म देशभरका सामुदायिक क्याम्पसबाट आवेदन दिन आह्वान भएकामा १२० भन्दा बढी क्याम्पसले आवेदन दिएका थिए ।

जसमा मेची अञ्चलका दुईवटा क्याम्पससहित देशभरका ४५ वटा क्याम्पस राष्ट्रियस्तरको प्रतिस्पर्धाबाट र १५ वटा क्याम्पस क्षेत्रीयस्तरको प्रतिस्पर्धाबाट छानिएका कनकाई क्याम्पस युजिसी प्रोग्राम स्याट कोअर्डिनेटर विकासप्रसाद उप्रेतीले जानकारी दिए । मेची अञ्चलबाट कनकाई र दमक बहुमुखी क्याम्पस राष्ट्रियस्तरबाट छानिएका उनले बताए ।

त्यस्तै कोसी अञ्चलमा राष्ट्रियस्तरबाट सुकुना बहुमुखी क्याम्पस, उर्लाबारी क्याम्पस र जनता क्याम्पस इटहरी तथा क्षेत्रीयस्तरबाट बरुण बहुमुखी क्याम्पस सङ्खुवासभा, म्याङ्लुङ क्याम्पस तेह्रथुम र पथरी बहुमुखी क्याम्पस छनोट भएका छन् । 

सो परियोजनाका लागि विश्व वैंकबाट नेपाललाई ६५ मिलियन अमेरिकी डलर (लगभग छ अर्ब ५० करोड नेपाली रुपैयाँ) बराबरको वित्तीय सहयोग सहुलियत दरको ऋणस्वरुप उपलब्ध हुन्छ उप्रेतीले बताए । 

उच्च शिक्षामा प्रणालीगत÷संस्थागत सुधार, उच्च शिक्षाको गुणस्तर तथा सान्दर्भिकतामा अभिवृद्धि, गरिब तथा पिछडिएका विद्यार्थीको उच्च शिक्षामा समतामूलक पहुँचका लागि वित्तीय सहायताको व्यवस्था एवम् अनुसन्धान, प्रवद्र्धन तथा प्राज्ञिक उत्कृष्टताको विकास गर्नु सन् २०२० सम्म रहने यस परियोजनाको मुख्य उद्देश्य रहेका छन् । 

परियोजना लागू भएपछि क्याम्पसमा सुधार कार्यक्रम सञ्चालन गरिने र गुणस्तरीय शिक्षाका लागि उत्कृष्ट प्राज्ञिक संस्थाका रुपमा क्याम्पसलाई विकास गर्न सकिने कनकाई क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष डिल्लीराम पौडेलले बताए । 

परियोजनाअन्तर्गत गुणस्तर सुनिश्चित तथा प्रत्यायन प्रणालीको स्थापना, परीक्षा प्रणालीमा सुधार तथा शैक्षिक क्यालेन्डर तयार गरी सोको प्रभावकारी कार्यान्वयन, प्राज्ञिक उत्कृष्टताका लागि अनुसन्धान, विकास र प्रवद्र्धनमा सहयोग हुने कार्यक्रम सञ्चालन गरिने जानकारी क्याम्पस प्रमुख टङ्कबहादुर कार्कीले दिए ।  

रासस 

 

प्रतिक्रिया