Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चिसोले कक्षामा पढ्न मान्दैनन् विद्यार्थी

सोमबार, २० पुस २०७२

काठमाडौँ, २० पुस । देवीस्थान मावि देवीटारमा कक्षा–१० मा अध्ययनरत सुन्दरी तामाङलाई गत मंसिर पहिलो सातादेखि लागेको खोकी अझै निको भएको छैन । 

दिनभर खोकी कम भए पनि चिसो बढ्दै गएपछि राति खोकीकै कारण उनी सुत्न सक्दिनन् । उनी मात्रै होइन, सो विद्यालयमा पढ्ने अधिकांश विद्यार्थीमा यतिबेला चिसोजन्य समस्या निकै बढेको छ ।

‘भुइँचालो त आयो–गयो तर यसले अब हामीलाई पढ्नसमेत नदिने भयो,’ एउटा पातलो सर्ट लगाएकी सुन्दरीले राजधानीसँग भनिन्, ‘सरकारले दिने भनेको १० हजार रूपैयाँ पनि अझै दिएको छैन ।’ आर्थिक अभावका कारण पुसको ठिहीमा पनि आफू एकसरो लुगा लगाएर स्कुल जानुपरेकाले खोकीले सताएको उनको बुझाइ छ । ‘बुबाले १० हजार आएपछि स्विटर किनिदिने भने पनि अझै पैसा नआएपछि स्विटर लगाउन पाएको छैन,’ उनी भन्छिन् । सरकारले पैसा दिएपछि बुबाले न्यायो लुगा किनिदिने भनेकाले स्विटर नकिनी विद्यालय आउन पनि मन नलागेको उनले सुनाइन् ।

कक्षा–७ मा अध्ययनरत विनोद तामाङ घरमा चामलसमेत नभएकाले स्विटर मागेर बुबालाई दुःख नदिएको बताउँछन् । ‘घरमा टहरोको चिसोले सुत्न सकिँदैन, स्कुलमा बाँसबाट छिरेको हावाले बसिखान दिँदैन,’ एकसरोे विद्यालय पोसाक रहेका विनोदले भने । 

उनीसँगै बसेका निमा तामाङको पीडा पनि उस्तै छ । उनले सुनाए, ‘बुबा नपढेर पछि परेको सुनाउनुहुन्छ, अब चिसोकै कारण मेरो पनि विद्यालय छाड्ने योजना बन्न थालेको छ ।’ निमाले आफ्नो पढ्ने इच्छा भए पनि चिसोकै कारण पढ्नै नपाउने अवस्था आएको बताएको  छ ।

(राजधानी दैनिकमा प्रकाशित)

प्रतिक्रिया