Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

विदेशी सम्बन्धनमा पढेका विद्यार्थीको उपाधि मान्य नहुने

आइतबार, १९ पुस २०७२

काठमाडौं– शिक्षा मन्त्रालयले विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित लर्निङ सेण्टरलाई कडाई गर्न थालेको छ । अनुमतिनै नलिई सञ्चालनमा रहेको फेला परेपछि मन्त्रालयले कडाई गरेको हो । यस्ता सेण्टरले अनुमति लिएका बिषय भन्दा थप कार्यक्रम पनि सञ्चालन गरेको फेला परेपछि त्यस्ता संस्थालाई मन्त्रालयले सचेत गराएको हो । विद्यार्थी भर्ना गर्दा वा अध्ययन अध्यापन गराउँदा अनुमति प्रदान गरिएको शैक्षिक कार्यक्रममा मात्र भर्ना लिन मन्त्रालयले सूचना जारी गरेको छ ।

‘यस मन्त्रालयबाट प्रदान गरिएको अनुमति पत्रमा उल्लिखित शैक्षिक कार्यक्रम बाहेकका कुनै पनि शैक्षिक कार्यक्रमहरू सञ्चालन नगर्नु नगराउनु हुन सम्बन्धित सबैलाई सूचित गरिन्छ’ सूचनामा भनिएको छ, ‘यस मन्त्रालयको अनुमति प्राप्त शैक्षिक कार्यक्रम बाहेकका शैक्षिक कार्यक्रम सञ्चालन गरिएको पाइएमा यस मन्त्रालयबाट प्रदान गरिएको अनुमति प्राप्त शैक्षिक कार्यक्रम समेत खारेज गरी प्रचलित ऐन नियम कानून अनुसार कारवाही भै जाने व्यहोरा जानकारी गराइन्छ ।’

कतिपय संस्थाले मन्त्रालयसंग अनुमति समेत नलिई लर्निङ सेण्टर चलाएको पाइए पछि मन्त्रालयले पहिलो चरणमा सचेत गराएको हो ।

अनुमति बिना सञ्चालित संस्थामा अध्ययन गरेका विद्यार्थीको उपाधि समेत मान्यता नदिने मन्त्रालयले चेतावनी दिएको छ ।  ‘त्यस्ता संस्थामा अध्ययन गर्ने विद्यार्थीहरुको उपाधि मान्य नहुने भएकोले सो प्रकृतिका शिक्षण संस्थामा अध्ययनका लागि भर्ना नगर्नु नराउनु हुन सम्पूर्ण अभिभावक एवम् विद्यार्थीहरुलाई अनुरोध गरिन्छ’ मन्त्रालयले मंगलबार जारी गरेको सूचनामा भनिएको छ ।

प्रकाशित मिति २०७२ पुस १९ गते

प्रतिक्रिया