- सञ्जय पन्थी / ‘बिट’ पत्रकारिता के हो ? भनेर संचार माध्यममा कार्यरतलाई बुझाईरहनु पर्ने बिषय होइन । तर सामान्य जनका लागि पत्रकार भनेका सबै एउटै टोकरीका माछा जस्ता हुन्, भन्ने हुन्छ । पत्रकारिताको ‘बिट’ भनेको केही नियमित स्रोत ब्यक्ति, गहन पाठक र यो बिषय अध्ययनरत विद्यार्थी, शिक्षक र प्राध्यापकलाई जानकारी भएको बिषय हो । शिक्षा क्षेत्रमा निरन्तर रिपोर्टिङ गर्नेलाई शिक्षा ‘बिट’ भनिन्छ । त्यसैगरी स्वास्थ्यमा रिपोर्टिङ गर्नेलाई स्वास्थ्य ‘बिट’, आर्थिक क्षेत्रमा गर्ने आर्थिक ‘बिट’, सुरक्षा संयन्त्रका बारेमा लेख्नेलाई सुरक्षा ‘बिट’ त्यसैगरी वातावरण ‘बिट’, कृषि ‘बिट’, श्रम ‘बिट’, पर्यटन ‘बिट’ आदी । पछिल्लो पटक नेपालमा जति मन्त्रालय छन् त्यति नै ‘बिट’ संचार माध्यममा स्थापना भएका छन् । त्यत्तिकै मात्रमा राजधानीमा ‘बिट वाईज’ पत्रकारका संगठन स्थापना भएका छन् ।
‘बिट अनुसार पत्रकार संगठनले पत्रकारितालाई विकृत बनाएका छन् । जसको रिपोटिङ् गर्नुहुन्छ उसैले प्रायोजन गरेर वर्षै वर्ष पुरस्कार बाँड्नुहुन्छ भने तपाईबाट कसरी निष्पक्षताको आशा गर्न सकिन्छ ?’ उल्लेखित भनाई सेतोपाटीमा आदरणीय गुरु पी खरेलका बारेमा लेखिएको स्टोरीमा उल्लेख छ । यो भनाईको गहिराई मापन खरेल जस्ता बिषयगत प्राज्ञिक र संचार माध्यममा अभ्यस्त पत्रकारले मात्र गर्न सक्छिन् ।
तर संचार जगतमा अभ्यस्त संचारकर्मीका लागि भने उसको अध्ययन पश्चातको दक्षताको ‘कडी बिट’ नैं हो । ‘बिट’ बिनाको पत्रकार ‘एड’ एजेन्सी संचालक जस्तै हो भनिदिए हुन्छ । किनकी उसलाई विज्ञापन ब्यवसाय संचालन गर्दा हुने छुट जत्तिकैं सबै विषयमा हात हाल्न छुट र मनोमानी हुन्छ । यतिवेला नेपालका संचार गृह मध्ये अधिकाँश विज्ञापन व्यवसायीको मुनाफाबाट अभिपे्ररित छन् । विज्ञापन व्यवसाय चलाउन ‘बिट’ का नाममा स्थापना भएका संगठनहरु माध्यम भएका छन् ।
‘बिट’ पत्रकारका संगठनका केही फाईदा र वेफाईदा छन् । तर यतिवेला पेशा विकृत बनाईदै गएको छ । अन्तराष्ट्रिय ÷राष्ट्रिय गैर सरकारी संस्था (एनजिओ र आईएनजिओ) का लागि एजेण्डा सेटिङ गरिदिने ‘क्याम्पेनर’ भएका छन् ‘बिट’ पत्रकार । त्यस वापत संघ संस्थाले आफ्ना कार्यक्रम संचालन गर्न ‘बिट बाईज’ पत्रकारका संगठनलाई परियोजना बोनस दिने गर्छन् । साथैं संघ–संस्था र सरकारी कार्यलयले स्थापना गरेका पुरस्कार ‘बिट’ संगठनका अगुवाहरुलाई ‘बल्छीको आहारा’ हुने गरेको छ । त्यसले गर्दा समाचार लेखनमा सेण्डिकेट प्रथा शुरु भएको छ ।
यति भनिरहँदा म आफु पनि पत्रकार हुँ भन्न कुनै संकोच छैन । मेरो पेशामा मर्यादा कायम होस् भन्नु बाहेक यो आलेख तयार गर्नुको अर्को उद्धेश्य छैन । यति भन्दा भन्दै पनि म फलानो ‘बिट’ मा काम गर्ने पत्रकार हुँ भन्न मैले अभिमानको सहारा लिनु पर्ने भएको छ । मैले एक दशक अघि देखि नै पत्रकारितालाई आफ्नो पेशा बनाएको छु । साथै अध्यापनको विषय पनि । तर म यतिखेर आर्थिक पत्रिकामा (कारोबार) दैनिकमा कार्यरत भएकाले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को सदस्य छु । मेरा लागि पहिले मैले ‘बिट’ अनुसारको सदस्यता बनेको संस्था पनि सेजन नै हो । सेजनमा आवद्ध रहे पनि मतदाता मात्र हुँ । किनकी त्यो आर्थिक पत्रकारको छाता संगठन भएकोले आवश्यक ठान्नु पर्छ ।
संचार माध्यममा मैले काम गर्ने ‘बिट’ शिक्षा र स्वास्थ्य हुन् । शिक्षा अन्र्तगतको पुरानो संस्था (शिक्षा पत्रकार समुह) मा आवद्ध छु । आवद्धताको ४ बर्ष पुरा भएको छ । नहुदाँको अनुभव पनि आफ्नै किसिमको छ । कुनै कार्यालयमा समाचारका लागि पुग्दा तपाई कुन समुह वा पक्षको (‘बिट’ अनुसारका संगठन र गुट ) पत्रकार भन्ने प्रश्न तेर्सिनु शिक्षा ‘बिट’ मा सामान्य भएको छ । पक्कै पनि अरुमा पनि त्यही अवस्था होला, अनुमान गर्न सकिन्छ । स्वास्थ्य ‘बिट’ अन्र्तगत पनि ३ वटा संगठन अस्तित्वमा रहेको जानकारी छ । तर ती संस्थामा आवद्ध छैन ।
राजधानीमा रहेर शिक्षाको रिपोर्टिङमा क्रियाशिल रहेकोले त्यस ‘बिट’ का बारेमा केही जानकार छु । बिषयगत रुपमा धेरै पुरस्कार भएको बिट पनि शिक्षा नै हो । शिक्षा विभाग र पत्रकार महासंघले संयुक्त रुपमा शिक्षा पत्रकारलाई बार्षिक पुरस्कार दिइन्छ । यो पुरस्कारको स्वरुप राष्ट्रिय, क्षेत्रीय र लेखनबृत्तिको नाममा छ । बार्षिक करिब ३० जना सम्मलाई विभिन्न स्तरमा ती पुरस्कार वितरण गरिन्छ । त्यसको राष्ट्रिय पुरस्कार १ जना देखि ३ जना सम्मलाई नगद (७५ हजार रुपैयाँ) दिने गरिएको छ । क्षेत्रीय पुरस्कार अहिलेसम्म विकास क्षेत्रका आधार १० जनालाई दिने गरिएको छ । त्यसैगरी लेखनबृत्ति पनि न्युनत्तम १० जनालाई नगद १५/१५ हजार रुपैयाँ नगद पुरस्कार दिईन्छ । ती पुरस्कार वितरण गर्दा अस्तित्वमा रहेको शिक्षा ‘बिट’ का दुई संगठन (शिक्षा पत्रकार समुह र शिक्षा पत्रकार संजाल) विच पहुँचको प्रतिष्पर्धा हुने गरेको छ । ती संगठनका अगुवाहरुका लागि जुगाँको लडाई पनि । त्यसैले एक जनालाई दिईने राष्ट्रिय पुरस्कार ३ जना सम्मलाई भागवण्डाका आधारमा वितरण गरिन शुरु गरिएको छ ।
पुरस्कारका यस बर्षका विजेता मध्ये केही पत्रकार शिक्षा बिभागको अघिल्लो आर्थिक बर्षको अडिट रिपोर्टमा पेश्की फस्र्यौट नगरेर अख्तियारले (गुपचुप) पेश्की फिर्ता गराएकाहरु मध्येबाट पनि छन् । यो घटनाले पुरस्कार विजेता बनेपछि ‘बिट’ वाईज प्रदान गरिने पुरस्कारको गरिमा खस्किएको छ । तर पाउनेहरुका लागि गर्वको बिषय नै होला । पुरस्कार पाउन गरिने दलीय र ‘बिट’ वाईज संगठनका अगुवाको चलखेललाई कति तुच्छ भएर वर्णन गर्नु !
त्यसपछि अर्काे ठुलो राशिको शिक्षा पत्रकारिता पुरस्कार रोटरी ईन्टरनेशनल (समाजिक) संस्थाले वितरण गर्ने पुरस्कार हो । यो पुरस्कार शिक्षा पत्रकार समुहको सिफारिसमा बार्षिक रुपमा वितरण गरिन्छ । त्यो पुरस्कार स्थापना भएको तीन बर्ष भएको छ । त्यो पुरस्कार पाउन शिक्षा पत्रकार समुहका अगुवाको पक्षपाती नहुनेलाई असंभव सावित छ । अर्को पुरस्कार मदन भण्डारी ममोरियल शिक्षा पुरस्कार, यो पाउन शिक्षा ‘बिट’ मा काम गर्ने र चौतारी समुहको शुभचिन्तक हुनैपर्छ ।
बीपीका नामको पुरस्कार पाउन प्रेस युनियनका अगुवाले सिफारिस गर्नुपर्छ । माओवादी, एमाओवादी सम्बद्ध संघ संस्था वा प्रतिष्ठानले स्थापना गर्ने पुरस्कारको शैली पनि त्यस्तै छ । त्यसरी पुरस्कार प्राप्त गरेपछि ती संघ संस्था वा आवद्ध ब्यक्तिका विरुद्ध प्राप्त हुने समाचार कुन मुखले लेख्ने ? जसको मानो खाएको छ, त्यही मानोको विरुद्ध कसरी समाचार लेख्नु ? त्यसले गर्दा ‘बिट’ वाईज पत्रकारका भिन्ना भिन्नै संगठनको उपज – एक पक्षले लुकाउने अर्काेले अक्रामक भएर लेख्ने परम्परा भएको छ ।
समाजशास्त्री चैतन्य मिश्रले आफ्नो पुस्तक 'बदलिदोँ नेपाली समाज'मा पनि पेशाको मर्म, कर्म र भावनाले समाजलाई कसरी डोहोर्याँछ भन्ने स्पष्ट उल्लेख गरेका छन् । अरुको अनियमितता र दुर्वलता पहिल्याउने पत्रकारिता आज स्वयं आँफू, आँफू भित्रको कमी कमजोरी र दुर्वलता पहिल्याउन नसक्नु चिन्ताको विषय भएको उनको निष्कर्ष छ ।
उक्त निष्कर्षलाई पर्गेल्ने वित्तिकै यसमा ‘बिट’ ले सघाएको छ भन्न धकाउनु पर्ने छैन । जसले गर्दा समाज प्रति जिम्मेवार भएर समाचार लेख्ने, हौसला, प्रोत्साहन मिल्नुको सट्टा सहकर्मीबाटै पूर्वाग्रह र पेशा मै बैरी जन्मने गरेका छन् । समाचार लेख्दा कुन गुटले लेख्यो भनेर स्रोत ब्यक्तिले रिस साध्ने गरेका घटना पनि भोगिएकै छ ।
सबै भन्दा धेरै बजेट भएको मन्त्रालय पनि शिक्षा नैं हो । संघ संस्था र कर्पोरेट क्षेत्रले खर्च गर्ने क्षेत्र पनि शिक्षा नै हो । त्यसैले पनि यो ‘बिट’ का लागि धेरै पुरस्कार स्थापना हुनु अस्वभाविक हैन । यति धेरै पुरस्कार रहेको यो ‘बिट’ मा पुरस्कृत छनौटमा विकृती र समाचारको सेण्डिकेट हावी छ । आर्थिक पत्रकार समाजका संस्थापक अध्यक्ष प्रतीक प्रधानको अनुभवमा ‘बिट’ अनुसारका पत्रकार संगठनको उद्देश्य सकारात्मक भएपनि कसले कसरी उपयोग ग¥यो भन्ने कुरामा भरपर्छ ।
यस्ता संस्थामा बस्दा संस्थाका तर्फबाट आयोजित (ठेक्कामा) कार्यक्रम कार्यरत संचार माध्यममा छापिन एउटै रुपमा छापिनु पर्ने तथा संस्थासँग अनुवन्धित गरिएका परियोजना साझेदार संस्थाका बारेमा नकारात्मक समाचार छाप्न अघोषित प्रतिवन्ध लगाईने गरेको देखिन्छ । एक ‘बिट वाईज’ संगठनका अध्यक्ष भन्छन् – सबै संस्था जसरी चलेका छन् त्यो भन्दा भिन्न गएर संस्थालाई झेलाको पनि त बनाउनु भएन नी ।
‘बिट वाईज’ संगठन सामाजिक संस्थाकै रुपमा गठित छन् । तर चुरो कुरो उनीहरुको आचरण सामाजिक छ छैन भन्ने कुरामा छ । समाजशास्त्री मिश्रको पुस्तक पढ्दा यसको छनक र्छलङ् हुन्छ । पुस्तकको 'गैसस र अन्र्तराष्ट्रिय दातृसंस्था' शिर्षकमा उनी लेख्छन् ‘समाज सेवाको भाव विनाका गैह्र सरकारी संस्था, सरकार भन्दा, नोकर शाही भन्दा, ब्यापार भन्दा कुन कुरामा अलग हुुन्छन् ?’
मिडियामा स्थान पाईने भएकाले संघ–संस्थाले त्यस्ता संगठनसँग मिलेर पुरस्कार प्रायोजन गर्ने गरेका छन् । त्यसले गर्दा संस्था र त्यसका प्रतिनिधी संलग्न संस्थाका बारेमा आलोचनात्मक समाचार लेख्न नैतिक बन्धन सिर्जना हुने गरेको छ । ‘बिट’ मा स्थापना भएका संगठनले जे जस्तो प्रक्रिया अपनाएर भएपनि परियोजना संचालन गर्दा उनीहरु बिरुद्धका अभिव्यक्ति पनि स्पष्टीकरणको बिषय बन्छ । सिंगो ‘बिट’ लाई कब्जामा लिएर गठन गरिएका संगठनले पत्रकारितामा बिकृती भित्राएका छन् ।
डेढ दशक देखि निरन्तर शिक्षा ‘बिट’ मै कृयाशिल पत्रकार अनमोलमणि पौडेल ‘बिट’ अनुसार खुलेको पत्रकारका संगठन ठेक्का पट्टा गर्न मै सक्रिय रहेको ठान्छन् । त्यस्ता संगठनका गतिविधिले खोज अनुसन्धान गरेर र स्वविवेकले पत्रकारिता गर्ने माथि शंका उब्जाई दिएको उनको अनुभव छ । त्यस परम्पराको विवशता झेल्न व्यवसायिक संचार माध्यमका सम्पादकहरु पनि वाध्य छन् ।
आफ्नो कार्यालयमा काम गर्ने पत्रकार कुन चरित्रको छ ? भन्ने सम्पादकलाई अवगत रहदाँ–रहदैँ संघ संस्थाका तर्फबाट स्थापना गरिएका पुरस्कार प्रदान गरेर त्यसको साक्षी त्यहि सम्पादकलाई बनाईन्छ । पुरस्कार पाएपछि पुरस्कृत पत्रकारको नैतिक चरित्रलाई गौण बनाउदैं प्रशंसा गरेर समाचार छापिदिनु पर्ने बाध्यता छ ।
राजधानी दैनिकका सम्पादक राजन शर्मा यस बिषयमा पूर्ण जानकार छन् । शिक्षा पत्रकार समुहका संस्थापक अध्यक्ष भएर ‘बिट’ पत्रकारिताको संगठन शुरु गरेको ईतिहास भएकाले पनि यस विषयका सबैभन्दा जानकार सम्पादक यतिवेला उनै हुन् । तर पनि ‘बिट’ पत्रिकारिताको नकारात्मक समाचार आफ्नो पत्रिकामा रोक लगाउन उनले सक्दैनन् । खरेल सरलाई जत्तिकै जानकारी उनलाई नभएको हैन, तर, शर्माले त्यसरी सार्वजनिक रुपमा भन्न सक्दैनन् । किनकी उनको पदलाई उनकै पत्रिकामा कुनै ‘बिट’मा काम गर्ने पत्रकारले धावा बोलिदिन सक्छ ।
‘बिट’ विकृती अरुमा पनि करिब करिब उस्तै छ, शिक्षामा त भोगिएकै छ ।
प्रकाशित मिति २०७२ पुस १८ गते
प्रतिक्रिया