Edukhabar
शनिबार, १९ माघ २०८१
गतिविधि

कालोबजारी विरुद्ध सडकमा विद्यार्थीको प्रदर्शन 

शुक्रबार, १७ पुस २०७२

काठमाडौँ, १७ पुस । भारतको झण्डै चार महिना लामो नाकाबन्दीका कारण खाद्यान्न, ग्यास तथा पेट्रोलियम पदार्थ आयात हुन नसकेको बाहना बनाउदै मौलाएको कालोबजारी विरुद्ध विद्यार्थीहरुले सडकमा प्रदर्शन गरेका छन् ।  राजधानीको प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसअगाडी एमाले निकट अनेरास्ववियु केन्द्रिय कमिटीका नेताहरुको सहभागितामा विद्यार्थीले प्रदर्शन गरेका हुन् । 

अनेरास्ववियुका केन्द्रिय अध्यक्ष किशोरविक्रम मल्लको संयोजकत्वमा दर्जन बढी केन्द्रिय सदस्यहरु नै सडकमा आएर आफ्नै पार्टी नेतृत्वको सरकारलाई कालोबजारी अन्त्य गर्न दबाब दिएका हुन् । ‘कालोबजारी अन्त्य गर, शान्ति सुरक्षा कायम गर’ भन्ने नारा सहित करिब १ घण्टा उनीहरुले क्याम्पसको अगाडी प्रदर्शन गरेका हुन् । 

कालोबजारी विरुद्ध एक होऔँ, कालोबजारी अन्त्य गर, नाकाबन्दी खुल्ला गर भन्ने लेखिएका पम्पलेट छातीमा टासेर विद्यार्थीहरुले सरकारका विरुद्धमा चर्को नारा समेत लगाएका थिए । रत्नराज्य र ल क्याम्पसका विद्यार्थीहरुको प्रदर्शनमा बाक्लो सहभागिता रहेको थियो ।

संविधान  जारी भएपछि मधेसमा चर्किएको आन्दोलन र भारतको अघोषित नाकाबन्दीले ग्यास र पेट्रोलियम पदार्थ नपाउँदा र पाएपनि चर्को मुल्य तिर्नुपर्दा विद्यार्थीले निकै नै सास्ती भोगिरहेका छन् भने तराई तथा मधेसमा करिब तीन महिना विद्यालय नै खुल्न नसक्नुका साथै पछिल्लो समय बिहानी सत्रमा मात्र विद्यालय खुल्दा विद्यार्थीहरु चिसोमा कठ्यांग्रिएर पढ्न बाध्य भएका छन् । 

 

प्रतिक्रिया