Edukhabar
सोमबार, ०७ असोज २०८१
विचार / विमर्श

गरीखाने शिक्षाका पक्षमा

शुक्रबार, १७ पुस २०७२

- मीन बहादुर कार्की / कुनै समय नेपालको कृषि उत्पादन क्षेत्र ९२ प्रतिशत रहेको भनिए पनि अहिले घटेर ६० प्रतिशतमा झरिसकेको छ । एकातिर चर्को आत्मनिर्भरताको कुरा अर्कातिर चलिआएको शैक्षिक मार्गचित्र बिच तालमेल नहुँदा, पढेर पनि गरीखान नसक्ने जनशक्ति थुप्रिरहेका छन् । शैक्षिक गुणस्तर भनेको पढेपछि गरीखान सक्षम ब्यक्तिको कर्मसँग जोडेर हेर्नु आवश्यक छ ।

शिक्षा व्यवहारिक र व्यवसायिक भएन भन्ने रटान सुन्दै र घोक्दै आएकै छौं । तर, यसका लागि गर्नु पर्ने कामको मार्गचित्र निर्धारण यतिखेरको खाँचो हो । शिक्षालाई उत्पादनसँग जोड्ने मूल बाटो भनेको माटोसँग जोडिएको शिक्षाको विकास र विस्तारबाट मात्रै सम्भव छ । अर्थात् आत्मनिर्भरताको कुरा शिक्षालाई कृषिसंग नजोडे सम्म कोरा गफ मात्रै हो ।

कृषि विषय कक्षा आठदेखि नै

हाम्रो शिक्षा सैद्धान्तिक छ । गणित, विज्ञान र अग्रेजीका सुत्र, पाठ अनि अक्षर चिन्न र कण्ठ गर्नै भ्याई नभ्याई  छ । तर हाम्रै घर आँगनमा भएको माटोमा कसरी विउ लगाउने ? विउ उम्रेपछि कसरी गोडमेल गर्ने ? अनि त्यो उत्पादनलाई कसरी घरमा भित्र्याउने र भण्डारण गर्ने ? भन्ने बारेको जानकारी जिल्ला कृषि विकास कार्यालयको चौघेरामा सिमित छ । कार्यालयमा भएको यो ज्ञान सजिलै विस्तारित पनि भएको पाहिँदैन ।

विद्यालय शिक्षा देखिनै कृषि कर्मको परिचय, दिनहुँ खाने अन्न उत्पादन हुने तरीका कसरी हुन्छ ? कसले गर्छ ? कहाँ गरिन्छ ? भन्ने बारेमा कृषि विषय थपेर कक्षा आठ देखि नै शिक्षालाई कृषिसंग जोड्नु पर्छ । कक्षा नौ दशमा त्यसलाई थप बढाउन सकिन्छ । यी तीन ओटा कक्षामा कृषि उत्पादन र वास्तविकताका बारेमा विद्यार्थीलाई सिकाउन सकिन्छ । विउ तथा गोडमेल गर्ने तरिका, माटोका प्रकार र उत्पादनको क्षमता, सिचाई र पानीको स्रोतको प्रयोगका बारेमा पढाउन सकिन्छ । यति गर्दा ब्यवहारिक ज्ञान लिदैं विद्यार्थी पढ्न सक्छ । र विद्यार्थीले यति पढ्दा कृषिका बारेमा धेरै कुरा जान्न सक्छ । जसले गर्दा विद्यालय शिक्षा पछि पढ्नलाई ठूलो पैसा खर्च हैनकी विद्यार्थी आफैंले फलाएको अन्न बेचेर गर्जो टार्न सक्ने हुन्छ । कति डाक्टर चाहिने ? कति ईञ्जिनीयर ? कति शिक्षक चाहिने ? भन्ने राज्यले निर्धारण गर्ने र बाँकी विद्यार्थी स्वआर्जन हुने शिक्षा तिर लाग्ने हो भने सबै विए एम ए गर्ने तर कसैसँग काम नहुने दुर्दशाको अन्त्य हुन्छ । हामी आत्मनिर्भर पनि हुन्छौं, आवश्यक जनशक्तिको खाँचो पनि हुन्न ।

जेटिए, कृषि विज्ञान विषयलाई सजिलो बनाऔँ

एसएलसीपछि करिब २ लाख रुपैंया खर्च गरेर कृषिका लागी माटो अनुसन्धान तथा जाँच गर्ने कोर्स जेटिए पढ्न सकिन्छ । तर जेटिए अहिले सबै ठाउँमा छैनन् । सिटीइभिटीको यो कोर्स जिल्लाका प्राविधिक शिक्षालयहरुमा मात्र पढ्न पाइन्छ । यो पढ्न कतिलाई ऋण गर्नुपर्ने अनि जग्गा बेच्नुपर्ने बाध्यता पनि छ । तर जेटिए पढ्ने विद्यार्थीलाई कक्षा १० सम्म अलिकति पनि ज्ञान दिने कुरा हाम्रो पाठ्यक्रममा छैन । त्यसैले कृषि र माटोको बारेमा पढ्न छुट्टै किताब नै पढाउन शुरु गर्नुपर्छ ।

आधारभुत तहमै पढाउन शुरु गर्दा जेटिए र कृषि विज्ञान विषय पढ्नेलाई निकै सजिलो हुन्छ । त्यसका साथै अहिले कृषि विज्ञान पढ्ने विद्यार्थीले भौतिक, रसायन र जीव विज्ञान पढ्नै पर्ने बाध्ययता छ । यी विषयसंगै कक्षा ११ मा अंंग्रेजी र गणित त छदैछ । कक्षा ११ र १२ मै किन यति ठुला विषय पढ्ने त ? यसलाई अहिले केही अंश मात्र राखेर स्नातक र स्नातकोत्तर तहमा यी विषय राख्दा हुन्छ । यसरी हामी नेपालको कृषिका बारेमा विद्यार्थीलाई पर्याप्त रुपमा ज्ञान दिन सक्छौं । त्यसमा पनि एसएलसीमा राम्रो अंक अझ विशिष्ट श्रेणी र प्रथम श्रेणीमा पास भए मात्रै कृषि विज्ञान पढ्न सकिन्छ भन्ने भ्रम फैलाइएको छ । यसैले विषयलाई सहज बनाउन पाठ्यक्रम विकास केन्द्र र शिक्षा मन्त्रालयले काम गर्न जरुरी  छ ।

अहिले सिमित कृषि विज्ञान क्याम्पस विस्तार गर्नु आवश्यक छ । केही ठाउँमा नमुनाका रुपमा कृषि क्याम्पस खोलौं । सकिन्छ भने हरेक निर्वाचन क्षेत्रमा कृषिका विषयमा पढाई हुने विद्यालय खोल्न जरुरी छ । कम्तीमा यति भयो भने स्नातक र स्नातकोत्तरका प्रमाणपत्र झोलामा हाल्दै विद्यार्थी खाडी भासिनु पर्ने स्थिती आउँदैन । उसले जानेको कुरा आफ्नै गाउँघरमा सिक्न सक्छ । र अगाडी बढ्न सक्छ । र कृषिलाई अहिले पनि तल्लो तहका बेरोजगार मानिसले गर्ने पेशा नभई हामी सबैले वैज्ञानिक र व्यवसायिक पेशाका रुपमा विकास गर्न सक्छौँ ।

विविधता अनुसार पाठ्यक्रम

नेपालको हावापानीमा विविधता छ । फापर, कोदो, जौ लगायत अति पौष्टिक आहारको उत्पादन हाम्रो माटोमा हुन्छ । कोदो र फापरको ढेँडो तथा रोटी खान शहर बजारमा विदेशी पर्यटक होटेल खोज्दै हिड्छन् । यसलाई शिक्षा सँग जोडेर उत्पादन बृद्धि गर्ने हो भने कमाई र रोजगारीको खाँचो हुँदो रैछ र ?

हिमालमा फल्ने कोदो, फापर, जौ लगायतको अन्न तराईमा फल्दैन । यो विषयको ज्ञान हिमालकालाई मात्र दिए पुग्छ । त्यसैले हिमाली भेगका मानिस र अझ विद्यार्थी र शिक्षकलाई कोदो, फापर, जौँ लगायतको बिउ, बाली, यसको विशेषता, लगाउने तरिका, गोडमेल, पानी, समय सबै कुरा भएको पाठ्यक्रम बनाएर हिमाली भेगका विद्यालयमा पढाउनुपर्छ । यसका साथै पशुवाली पनि हिमालमा गर्न सकिन्छ । जस्तो चौरी, भेडाबाख्रा लगायत । यी जनावरलाई कसरी हुर्काउने, यसका उन्नत जातलाई कसरी आयात गर्ने भन्ने विषयका बारेमा विद्यार्थीलाई ज्ञान दिन सकिन्छ ।

त्यस्तै पहाडी भेगमा प्राय फलफुल र पशुबाली हुन्छ । पहाडमा मकै, गहुँसंगै केही ठाउँमा धान र प्राय फलफुल बाली पनि हुन्छ । पहाडमा नगदे बाली उत्पादन गर्नलाई त्यसको बारेमा थाहा पाउन कहाँ जाने भन्ने अन्योल अहिले पनि छ । जुम्लाको स्याउले प्राय राम्रो बजार भाउ नपाएरै कुहेर जान्छ । अनि भारत र चीनबाट आयात गरिएको स्याउ खाएर भएको रुपैयाँ बाहिर पठाउँछौँ । यसका लागी फलफुल र अन्नवाली तथा पशुबालीको पाठ्यक्रम बनाएर पहाडी भेगका विद्यालयलाई दिनुपर्छ ।

यस्तै तराईमा धान, मकै र गहुँ प्रशस्तै हुन्छ । यसका साथै नगदे बालीमा उखु लागयत अन्य बाली पनि हुन्छ । तर सिंचाई, विषयवस्तुको बारेमा पर्याप्त ज्ञान नभएरै हामीले सकेजतिको अन्न उत्पादन गर्न सकेका छैनौ । त्यसैले तराईमा अन्नवाली र नगदेवालीका बारेमा पाठ्यक्रम बनाएर विद्यालयमै पठनपाठन शुरु गरे हाम्रो उत्पादन बढाउनुका साथै उत्पादकत्व पनि बढ्छ ।

प्राविधिक जनशक्ति परिचालन

नेपालमा सयौँ कृषि विज्ञहरु छन् । यसका साथै कृषि विषय पढेका, बाली विषय पढेका र कृषिमै अनुसन्धान गरेका धेरै वैज्ञानिकहरु छन् । तर सबै पलायनको बाटोमा छन् । कृषि अनुसन्धान केन्द्र (नार्क) मै कार्यरत वैज्ञानिकहरु समेत अहिले पलायनको बाटोमा छन् । दिनहुँ २ हजार नेपाली विदेशिएसंगै कृषि विज्ञ र वैज्ञानिकहरु समेत पलायन भइरहेका छन् । निम्न, मध्यम र उच्च तहका गरी करिब ९० प्रतिशत कृषि विज्ञहरुमा ३० प्रतिशत विज्ञ विदेशतिर गइसकेका छन् भने नेपालमा ६० प्रतिशत विज्ञहरु पनि के गर्ने भनेर रुमल्लिरहेका छन् ।

यो सरकारले समयमै रोक्न सक्नुपर्छ । यसका लागी नेपालमा नयाँ मोडलबाट कृषिको विकास र शिक्षा दिन अहिले भएका कृषि विज्ञहरुलाई देशभर खटाउनुपर्छ । त्यो भनेको संघीय संरचनामा देश गइसकेकाले हरेक प्रदेशमा कृषि विज्ञहरु राखेर अनुसन्धान र त्यहाँ हुन सक्ने बाली उत्पादनको सम्भावनालाई अगाडी ल्याउनुपर्छ ।

अनि विद्यालयमा पढाउनलाई अहिले भएका शिक्षकहरुसंग पर्याप्त ज्ञान छैन । उनीहरुलाई ३ देखि ६ महिनासम्म तालिम या प्रशिक्षण दिनुपर्छ । कृषि वैज्ञानिक र विज्ञहरुले प्राविधिक प्रयोग र व्यावहारिक रुपमा उनीहरुलाई तालिम दिए शिक्षकहरु पनि विषयवस्तुमा जानकार हुन्छन् ।

कृषि र आत्मनिर्भरता

कृषिमन्त्री हरिबोल गजुरेलले नेपाललाई २ बर्षमा कृषिमा आत्मनिर्भर बनाउछु भनेका छन् । यो हावादारी कुरा हो । कुनै योजना र पूर्वाधार विनै मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउँछु भन्नु चुनावी नारा जस्तै हो । बरु अहिलेको शिक्षालाई कृषिमुखी र यसको व्यवसायिकता र प्राविधिक पक्षलाई जोड दिने हो भने अबको १० बर्षमा मुलुकलाई आत्मनिर्भर बनाउन सकिन्छ ।

यसका लागी काठमाडौमा कृषि वैज्ञानिक थुपारेर हुदैँन । देशका सबै भाग र ठाउँमा उनीहरुलाई परिचालन गर्नुपर्छ । अनि हरेक किसान मात्र नभई पढ्न र पढाउने शिक्षक विद्यार्थीलाई यसका बारेमा ज्ञान, सीप दिनुपर्छ ।
अहिले ५ महिनाको अन्न नेपालमा उत्पादन भएपनि ७ महिनाका लागी आयात गर्नुपर्छ । यो बाध्यताको सम्भाव्यताका बारेमा अलिकति पनि अध्ययन र अनुगमन भएको छ की छैन त ? यसबारेमा सोच्नुपर्छ । भएको जनशक्तिसंग योजना के हुन सक्छ ? यो बारेमा छलफल गरी एउटा ‘मास्टर प्लान’ बनाएर अगाडी जानुपर्छ । अहिल्यै अघि बढेमा १० बर्षमा नेपाललाई कृषिमै आत्मनिर्भर बनाउन सकिन्छ र बाँकी दुई बर्षमा अझ बढी मेहनत गरे निर्यात पनि गर्न सकिन्छ ।

सरकारले ल्याएको दीर्घकालिन कृषि योजना कार्यान्वयनमा निकै समस्या देख्छु । जबसम्म कृषिलाई शिक्षा र सम्मान जनक रोजगारीसंग जोडिदैन तबसम्म यी सबै कुरा काम नलाग्ने हुन्छ । त्यसैले कृषि पेशालाई पहिला त शिक्षाकै माध्ययमबाट सम्मान जनक, व्यवसायिक र वैज्ञानिक बनाउन सक्नुपर्छ । सरकारले कुनै नीति नल्याएसम्म यो पेशालाई सम्मान जनक ठाउँमा पुर्याउन सकिन्न । कृषि हाम्रो इज्जत हो भन्ने कुराको अनुभूति गराउने नीति ल्याएर विद्यालय शिक्षा देखिनै पढाउन शुरु गर्नुपर्छ । ‘एग्रिकल्चर फर एरिड ट्रपिक्स’ अथवा सुख्खा क्षेत्रका लागी कृषि भन्ने विषयलाई हामीले गम्भिर रुपमा योजना बनाएर उत्पादकत्व बढाउन सक्छौ ।

(कृषि तथा बाली विज्ञ कार्कीसंग गरिएको कुराकानीमा आधारित, उनी प्रिमियर कलेज नयाँ बानेश्वरका प्रिन्सिपल  हुन् ।)

प्रकाशित मिति २०७२ पुस १७ गते

प्रतिक्रिया