Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कलेजको तनावले विद्यार्थीद्धारा परीक्षा बहिष्कार 

शुक्रबार, १७ पुस २०७२

काठमाडौँ, १७ पुस । विराट मेडिकल कलेजका अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्कीका छोराले कलेजका विद्यार्थीलाई कुटपिट गरेपछि तनाव उत्पन्न भएको छ ।  एमबीबीएस दोस्रो वर्षका विद्यार्थीलाई ज्ञानेन्द्रका छोरा डेनिसले कलेजमै गएर निर्घात कुटपिट गरेका हुन् । घटनाको विरोधमा विद्यार्थीले आन्तरिक परीक्षा बहिष्कार गरेका छन् ।  

विद्यार्थीले कलेजको छात्रबास छाडेर एकरात बाहिरै बिताएका छन् । घटनाको विरोध गर्दै एमबीबीएस पढ्ने विद्यार्थीले छात्राबासको बसाई बहिष्कार गर्दै बुधबार बाहिरै रात बिताएका हुन् ।  

केही दिनअघि कलेको क्यान्टिनको खानामा किरा भेटिएको थियो । त्यो विषयालई लिएर विद्यार्थीले प्रशासन समक्ष गुनासो गरेका थिए । विद्यार्थीको गुनासो पछि कलेजले अग्रेंजी नयाँ वर्षको सन्दर्भ पारेर कलेजमा विद्यार्थीलाई खाना उपलब्ध गराउने आश्वासन दिएको थियो ।  

एकजना विद्यार्थीले त्यो जानकारी फेसबुकमार्फत आफ्ना साथीलाई सेयर गरेपछि कलेजका अध्यक्ष कार्कीका छोरा कलेजमै गएर बुधबार राति दुई जना विद्यार्थीलाई कुटपिट गरेका हुन् ।  एकजना विद्यार्थीका अभिभावकले भने,‘विद्यार्थीलाई कुटपिट गरिएपछि विहीबार बीसजना विद्यार्थी मात्रै परीक्षमा सामेल भए । अन्यले बहिष्कार गरेका छन् ।’ 

घटना भई विवाद भएपछि कलेजका अध्यक्ष डा। कार्की आफै गएर विद्यार्थीलाई सम्झाएका थिए । तर, बुधबार रातभर विद्यार्थी छात्रबास नगई उनका छोराले माफी माग्नुपर्ने अडान लिएका थिए ।  

विहीबार विद्यार्थीले परीक्षा बहिष्कार गरेपछि डा। कार्कीले कलेजमै अन्तरक्रिया कार्यक्रम गरी विद्यार्थीलाई धम्कीपूर्ण भाषामा सचेत गराएका छन् । डा। कार्कीले अन्तरक्रिया कार्यक्रममा धक्मीपूर्ण भाषामा भने,‘कलेजको आफ्नै अनुशासन हुन्छ पढ्न नचाहनेले बाहिर गएर पनि पढ्न सक्छन् ।’ उनले अभिभावकलाई पनि छात्रबासको विषयमा आएर बुझ्न र हेर्न आग्रह गरेका थिए । 

काठमाण्डौ विश्वविद्यालयको विस्तारित एमबीबीएस कक्षाका लागि चलाउन कलेजले यो वर्ष ७४ वटा सिट प्राप्त गरेको छ । नेपाल तथा भारतका विद्यार्थीहरु कलेजमा पढ्छन् ।  डा। कार्कीले भने अब कलेज नचल्ने वा बन्द हुने भन्ने हल्ला पछाडि नलाग्न समेत बताएका छन् । कार्यक्रममा उनले कलेजको अवस्थाको बारेमा पनि जानकारी गराएका थिए । 

परीक्षामा सहभागी नभएका विद्यार्थीलाई प्रशासनका कर्मचारी मार्फत एक्सफेल गरिदिने भन्दै धम्क्याएको पनि पीडित विद्यार्थीले बताएका छन् । कलेजका कोअर्डिनेटर राजन खत्रीले उत्पन्न विवाद मिलिसकेको बताए । उनले भने,‘म काठमाण्डौमा थिए तर जानकारी भएअनुसार समस्या समाधान भई सकेको छ । विवाद छैन् ।’  

प्रशासनका कर्मचारीले परीक्षामा नबस्ने विद्यार्थीलाई थर्काउँदै अनुशासनमा बस्न भन्दै रेस्टिकेटसम्म गरिदिने भन्न थालेको बताइएको छ । छात्रबासमा अर्को साथीको कोठामा नजान र फेसबुकमा कलेजको बारेमा केही पनि नलेख्न दबाब दिएका छन् । 

(अन्नपूर्णपोष्ट दैनिकमा प्रकाशित)

 

प्रतिक्रिया