Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

भूकम्पपीडित विद्यार्थीलाई निःशुल्क कक्षा !

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । भूकम्पपीडित विद्यार्थीलाई लक्षित गरी भक्तपुरको च्यामासिंहस्थित बागेश्वरी उच्च माध्यमिक विद्यालयले निःशुल्क सन्ध्याकालीन कक्षा सुरु गरेको छ । भूकम्पले घर भत्केर टहरामा बसिरहेका विद्यार्थीले टहरामा पढ्न नसक्ने भएपछि विद्यालयले सन्ध्याकालीन कक्षा सुरु गरेको हो । 

यसबारे जानकारी दिँदै विद्यालयका सहप्राचार्य ज्ञानसागर प्रजापतिले सानो टहरामा एउटै परिवारका धेरै सदस्य कोचिएर बसेको, मोटरसाइकल, साइकल, कुटो–कोदालो लगायतका सामान एउटै ठाउँमा कोचेर राखेको, त्यहीँ टिभी हेरिरहेको, परिवारमा कुराकानी गरिरहेको र अनेकौँ बालबालिका हल्ला गरिरहेको, कतिपय टहरामा बिजुली बत्तीको समेत व्यवस्था नभएकाले टहरामा विद्यार्थीले पढ्न नसक्ने ठहर गर्दै भूकम्पपीडित विद्यार्थीका लागि सन्ध्याकालीन कक्षा सुरु गरेको बताए ।  

विद्यालयको भवनमा अपराह्न ४ देखि साँझ ८ बजेसम्म नौवटा कोठामा सन्ध्याकालीन कक्षा सञ्चालनमा ल्याएर विद्यालयका शिक्षकको पालो गरेर एकजना स्वयम्सेवक शिक्षकको व्यवस्था गरेको छ । कक्षामा उज्यालोका लागि विद्यालयले सोलार बत्तीको व्यवस्था गरिदिएको छ । 

कतिपय विद्यार्थी ४ बजेसम्मको नियमित पढाइ सकेर सन्ध्याकालीन कक्षामा बस्ने गर्छन् भने कतिपय विद्यार्थी नियमित कक्षापछि टहरामा गएर खाजा खाएर फेरि विद्यालयको सन्ध्याकालीन कक्षामा आएर पढ्ने गर्छन् । 

सहप्राचार्य प्रजापतिले भने —“सन्ध्याकालीन कक्षामा कक्षा १२ सम्मका विद्यार्थी आउने गर्छन् । साथीहरु मिलेर संयुक्तरुपमा गृहकार्य गर्ने, नजानेका विषयमा एकआपसमा छलफल गरेर पढाइ गर्छन्, उनीहरुको अनुकूलता हेरेर फर्कन्छन् । 

विद्यालयले सन्ध्याकालीन कक्षामा विद्यार्थीलाई अनिवार्य आउनै पर्ने र रातिसम्म बस्नैपर्ने अनिवार्यता गरेको छैन । कतिपय ४ बजे देखि पढेर ६ बजे फर्कन्छन्, नजिकका विद्यार्थी भने खाजा खाएर आएर पछि राति ९ बजेसम्म पढेर फर्कने गर्छन् ।” 

सुरुमा भूकम्पपीडित विद्यार्थीका लागि लक्षित गरेपछि पछि अरू विद्यार्थी पनि सन्ध्याकालीन कक्षामा आउने गरेका छन् ।  कक्षामा ३०० जनाभन्दा बढी विद्यार्थी आउने गरेको जानकारी दिँदै सहप्राचार्य प्रजापतिले भनेका छन् —“सन्ध्याकालीन कक्षा सुरु भएपछि विद्यार्थीको पढाइ निकै राम्रो भएको छ, भूकम्पको त्राससमेत हटाउन यो कक्षाले निकै सहयोग पु¥याएको छ ।” 

विद्यालयमा कमलविनायक, महेश्वरी, ब्रह्मायणी, लिवाली, गरुडकुण्ड, जेँला, दत्तात्रय, सुकुलढोका र नासमनादेखि झौखेलसम्मका विद्यार्थी सन्ध्याकालीन कक्षामा आउने गर्छन् ।  सन्ध्याकालीन कक्षामा बस्ने बागेश्वरी उमावि कक्षा १२ मा पढ्ने सन्ध्या हेङ्गजू भन्छन् —“भूकम्पपछि टहरामा पढ्नसक्ने अवस्थै थिएन, विद्यालयले सन्ध्याकालीन कक्षा सुरु गरेपछि यहाँ समूहमा बसेर गृहकार्य गर्ने, नजानेको कुरा एकअर्काले सिकाउने र सिक्ने गर्दा पढाइमा निकै प्रगति भएको छ ।” 

एसएलसीको तयारीमा रहेका कक्षा १० का विद्यार्थी उरुसा लवजू, मनिष लागे र सुजन कासुला भने भूकम्पले घर भत्काएपछि टहरामा बस्दाको पीडा सन्ध्याकालीन कक्षाले भुलाएको बताउनुहुन्छ ।  सन्ध्याकालीन कक्षाका अर्का विद्यार्थी सुजन खाईजूले भने —“बिहान विद्यालय आएपछि दिउँसोको पढाइ सकेर साँझ फेरि विद्यालय पढ्दा कसैले डिस्टर्ब गर्दैन, टहरामै फर्केर पढ्नु परेको भए एसएलसी बिग्रन सक्थ्यो, अब ढुक्कसँग एसएलसीको तयारी गरेको छु ।” 

भूकम्पपीडित विद्यार्थीका लागि अरू विद्यालयले पनि यस्तो कक्षा सञ्चालनमा ल्याउन सके विद्यार्थीको पढाइ र अध्ययन गर्ने बानीको विकास हुने अभिभावक बताउँछन् । 

(रासस) 

 

प्रतिक्रिया