Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

सल्यान २२ औँ साक्षर जिल्ला घोषणा

बुधबार, १५ पुस २०७२

काठमाडौँ, १५ पुस । सल्यान जिल्लालाई २२औँ पूर्ण साक्षर जिल्ला घोषणा गरिएको छ । मङ्गलबार शिक्षामन्त्री गिरीराजमणि पोख्रेलले साक्षर स्तम्भको अनावरण गर्दै जिल्लालाई एक समारोहबीच पूर्ण साक्षर जिल्ला घोषणा गरेका थिए । 

नेपालले सन् २०१५ भित्रमा देशलाई पूर्ण साक्षर घोषणा कार्यक्रमअन्तर्गत जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको शिक्षामन्त्री पोख्रेलले बताए ।  जिल्लामा १५ देखि ६० वर्ष उमेर समूहका ९७।७२ प्रतिशत साक्षर भएपछि जिल्लालाई पूर्ण साक्षर जिल्ला घोषणा गरिएको जिल्ला शिक्षा अधिकारी वरखुप्रसाद रजकले जानकारी दिए ।  

कार्यक्रममा शिक्षामन्त्री पोख्रेलले सल्यानमा प्राविधिक शिक्षालय स्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।  यसअघि एमाले पोलिटब्युरो सदस्य तथा अर्थसमितिका सभापति प्रकाश ज्वालाले सल्यानमा शिक्षक दरबन्दी समानुपातिक रुपमा वितरण नगरिएकाले यसलाई व्यवस्थित गर्न शिक्षामन्त्रीसँग माग गरे । 

जिल्लामा रहेका ९१ वटा माध्यमिक विद्यालयमध्ये ३५ वटा विद्यालयमा दरबन्दी छैनन् ।  यसबाट गुणस्तरीय शिक्षाको कसरी आशा गर्न सकिन्छ, यसलाई तत्काल व्यवस्था गर्न शिक्षामन्त्रीसँग आग्रह गर्दै सभापति ज्वालाले भने, “अहिलेको शिक्षा व्यावहारिक र रोजगारीमूलक हुनुपर्छ यसका लागि जिल्लामा प्राविधिक शिक्षालयको आवश्यक छ यसमा मन्त्रालयले ध्यान देओस ।”

(रासस)

 

प्रतिक्रिया