Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

विद्यालय पुनःनिर्माणका दातालाई सम्मान

मंगलबार, १४ पुस २०७२

काठमाडौँ, १४ पुस । भूकम्प र त्यसपछिका परकम्पबाट क्षतिग्रस्त विभिन्न जिल्लाका विद्यालयको पुनःनिर्माणमा सहयोग पु¥याउने ३१ संस्था तथा व्यक्तित्व सम्मानित भएका छन् । 

पूर्वराष्ट्रपति डा रामवरण यादवले ‘सहयोगी हात अभियान’मा संलग्न राधास्वामी सत्सङ्ग व्यास नेपाल, बालकल्याण केन्द्र नेपाल, ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँलगायत संस्था तथा व्यक्तिलाई सोमबार  आयोजित समारोहमा सम्मानपत्र प्रदान गरेका थिए ।  

व्यवस्थापिका–संसद्, कृषि तथा जलस्रोत समितिका सभापति गगनकुमार थापाको नेतृत्वमा गठित सो अभियानबाट विभिन्न जिल्लामा २१ स्थायी र २१५ अस्थायी विद्यालय भवन निर्माण भएका थिए । 

सो अभियानअन्तर्गत नक्साल बालमन्दिरस्थित केन्द्रीय बहिरा उच्च माविमा स्थायी नमुना विद्यालय भवन निर्माणका लागि नेपाल–जर्मन फ्रेन्डसिप एसोसिएसनका अध्यक्ष रामप्रताप थापा र किन्डरहिल्फ नेपाल इभी इन लिजवर्ग जर्मनीका अध्यक्ष हेइक कुन्जका तर्फबाट ४० हजार युरो प्राप्त हुने समारोहमा उद्घोषण गरिएको थियो । 

यसैगरी ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँले बुढानिलकण्ठस्थित गणेश उच्च माविको स्थायी नमुना भवन निर्माणका लागि सघाउने भएको छ । 

सो अवसरमा पूर्वराष्ट्रपति डा यादवले तराई–मधेसमा भएको आन्दोलनका कारण त्यहाँका बालबालिका शिक्षा पाउने अधिकारबाट वञ्चित हुन पुगेको गुनासो गर्दै भने – “तिनलाई दिने शिक्षा नै असल बुटी हो, यसबाटै राष्ट्र निर्माणमा सहयोग पुग्ने हुँदा शिक्षक, प्राध्यापक र समाजका प्रतिनिधिले आन्दोलनरत पक्षसँग बालबालिकाको भविष्य अन्योल हुन नदिन पहल गर्नुपर्छ ।” 

उनले हिमाली भेगका बालबालिका चिसोका कारण विद्यालय जान मुस्किल भएका अवस्थामा सबै सङ्घसंस्थालाई विपत्तिपछि विद्यालय पुनःनिर्माणमा सहयोग पु¥याउन आग्रह गर्दै विपत्तिबाट शिक्षा लिई पूर्वतयारीका कार्यक्रमले अपेक्षित रुपमा गति लिन ढिलाइ भएको उल्लेख गरेका थिए ।  

अभियानमा संलग्न सांसद थापाले आवास भवनभन्दा विद्यालय भवन कमजोर बनाइएका कारण २९ जिल्लाका सामुदायिक विद्यालय भवनमा नराम्ररी क्षति पुगेको उल्लेख गर्दै अब एक वर्षभित्रै सबै स्थानमा भूकम्प निरोधात्मक भवन निर्माणका लागि सबै दातालाई दोस्रो चरणमा पनि सहयोग उपलब्ध गराउन आग्रह गरे । 

उनले तराई मधेसमा भएको आन्दोलनका कारण त्यहाँ भत्किएका विद्यालय भवन पुनःनिर्माण गर्न कठिन भएकाले आन्दोलनको स्वरुप परिवर्तन गर्न पनि आन्दोलनकारीसँग आग्रह गरेका थिए ।  

सम्मानित संस्था राधास्वामी सत्सङ्गका अध्यक्ष सिद्धबहादुर बानियाँले आफूहरुले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, गोरखालगायत स्थानमा पीडितलाई एक महिनासम्म पकाइको खानेकुरा उपलब्ध गराएको जानकारी दिए । 

ग्लोबल सेपर्स कम्युनिटी काठमाडौँ प्रतिनिधि कौशल सिलवालले सिन्धुपाल्चोकमा विभिन्न सङ्घसंस्थाको सहयोगमा स्वास्थ्यचौकी स्थापना गर्न सकिएको उल्लेख गरेका थिए । 

(रासस) 

प्रतिक्रिया