Edukhabar
सोमबार, ०७ असोज २०८१
विचार / विमर्श

आफै शिक्षक, आफै विद्यार्थी : एक जना शिक्षकको विद्यार्थी अनुभव

सोमबार, १३ पुस २०७२

- शिवशरण ज्ञवाली / पढ्नुपर्छ भन्ने चेतना भएका मध्यवर्गीय नेपालीले आवश्यकताले भन्दा पनि बेरोजगारी र परिवार तथा समाजको ‘फलानोले पनि डिग्री गरेको छ’ भन्ने गौरवका लागि उच्च तहको शिक्षा अर्थात ‘डिग्री लिन्छन् । मैले पनि पहिलो डिग्री डिप्लोमा पछि बेराजगारीका दुई वर्ष बिताउने उपाय र परिवार तथा समाजको गौरवका लागि नै लिएको थिएँ ।

तर बुझ्नु पर्ने गम्भिर हुरा पहिलो ‘डिग्री’ मा पढाइ नै जीवनको साध्य र साधन दुवै थियो ।

पहिलो डिग्री सकेको चार वर्षपछि दोस्रो डिग्रीका लागि म २०६८ को कुनै दिन धवलागिरी बहुमुखी क्याम्पसको भर्ना शाखामा ‘बा को नाम क्याम्पसमा लेखाउनुप¥यो’ भन्दै पुगेको थिएँ । त्यो अलिकति आंकाक्षा अनुरुपको अप्राप्तिको अभिव्यक्ति पनि थियो । परीक्षा फर्म खुलिसके पछि भर्ना भएको थिएँ, मलाई के के पढ्नुपर्छ र पुस्तक कस्ता पढ्नुपर्छ त्यो पनि थाहा थिएन । फर्ममा विषय र तिनका कोड भर्न निकै माथापच्ची गर्नुप¥यो । पढाइको तलतल भन्दा जागिरकै हतारो बढी थियो ।

फर्म भरेर मलाई कहाँ कक्षा लिन जानुपर्ने थियो, म त्यतै हिडिहालें । दोस्रो डिग्री गर्नुमा महेन्द्ररत्न क्याम्पस ताहाचलका आदरणीय गुरु श्रीप्रसाद सरको पनि प्रेरणा छ । शायद अभ्यास शिक्षणमा उहाँले मलाई नकज्याउनुभएको भए मैले यति सजिलै दोस्रो डिग्री गर्ने थिइन । उतिबेला मनमा रिस उठे पनि मैले कहिल्यै पनि उहाँलाई गाली गरिनँ, उहाँको त्यो आदर्शलाई सलाम नै गरे ।

बागलुङमा बस्ने र काठमाडौंमा पढ्ने कार्य आफैमा खराब रहेछ भन्ने गतिलो पाठ पनि सिकेका कारणले गर्दा मैले एम. एड. आफैले पढाउने क्याम्पसमा विद्यार्थी भएर पढ्ने निर्णय गरे । यो आफैमा चुनौतीपूर्ण थियो तर म आफैले पढाउने क्याम्पस पढ्ने पहिलो व्यक्ति भने शायद थिइन । आफै शिक्षक आफै विद्यार्थीको दोहोरो भूमिकाको जम्काभेट परीक्षा दिदै गर्दा, अभ्यास शिक्षणका दिनमा र थेसिस भाइवाका दिन भयो । 

२०६८ को दशैं पछाडिको कुनै दिन थियो । बागलुङ गृह जिल्ला भएका सह परीक्षा नियन्त्रक महेन्द्र सरसँग क्याम्पसको चौरमा भेट हुने संयोग जु¥यो । प्रसंगवश उहाँले त्यसै दिन त्रिविले एम एड फस्ट इयरको रुटिन निकाल्ने कुरा सुनाउनुभयो । त्यो सुनेपछि क्षणभर पनि अबेर नगरी म सेलेबस किनेर कोठातिर लागे । सेलेबस हेर्दै दराजबाट किताब निकाल्दै पढे । दिनभर १३ पिरियड पढाउनुपर्ने अर्कोतिर परीक्षा पनि दिनुपर्ने !
त्यस वर्ष मेरो घरमा तिहार थिएन । त्यसकारण म घर नजाने निर्णयमा पुगे । किताब खोज्दै पढ्दै गर्दा परीक्षा तयारी संभव भयो । नेपाली शिक्षामा पाठ्यक्रम, मूल्याङ्कन, बाल मनोविज्ञान र शिक्षण विधि जस्ता धेरै कुराहरु पढ्नु पर्ने रहेछ । यस्ता कुरा आफैमा मलाई रोचक लाग्दै गए । त्यसकारण पढाइको पारो चढ्दै जाँदा तिहार त भुलियो भुलियो, दोस्रो संविधान सभाको चुनाव पनि भुलियो । अनेक मानिसहरु प्रचारका लहरमा लागे । चुनावमा प्राज्ञिकहरुको निस्वार्थ देश निर्माणको तीर्थयात्रा आफैमा हेर्न लायक थियो । को केटाकेटी को युवा को वृद्धवृद्धा, को शिक्षक, को कर्मचारी सबले आआफ्ना क्षेत्रबाट सकेको देश निर्माण गरे २०६८ सालको मंसीर चार गतेको दोस्रो संविधान सभाको चुनाव प्रचार प्रसार गरेर ! तर त्यस्तो महायज्ञमा म तीर्थयात्री बन्न सकिन । कारण थियो पहिलो वर्षको परीक्षा !

आफूले दिनहुँ प्रयोग गरेका सिद्धान्तहरु पढ्नुपर्दा पढाइमा रोचकता थपिदै गयो । यसले गर्दा मलाई परीक्षामा लेख्न पनि सजिलो भयो भने कक्षामा पढाउन पनि धेरै सजिलो हुँदै गयो । एकातिर शिक्षकको भार घट्ने विधि एम.एड.ले दिदोँरहेछ भने अर्कोतिर विद्यार्थीलाई कसरी सिकाउने भन्ने पनि सिकाउँदो रहेछ । उपन्यासका पुस्तक पढेजस्तै गरी मैले शिक्षाका पुस्तकहरु पढे । पहिलेदेखि शिक्षा क्षेत्रमै लाग्नुपर्छ भनेर म शिक्षासँग सम्बन्धित विषयहरु पढ्थे । त्यसले पनि पढाइमा सहयोग ग¥यो । दोस्रो वर्षको फर्म खुलेपछि फेरी भर्ना हुने चटारो सुरु भयो ।

कक्षा नलिने हुँदा फर्म खुलेपछि मात्र भर्ना भइयो । रुटिन कुरेर बसे, कुन दिनदेखि पढ्ने भनेर । यसपालि व्यस्तता अझ बढेको थियो । किचनको जिम्मेवारी पनि मेरै थाप्लोमा थियो । दोस्रो वर्षको रुटिन निस्केपछि जहाँ जाँदा पनि किताब लिएर हिड्न थाले, ता कि पाँच मिनेट समय पाए पढिहाल्ने । अरुले के भन्ला नभनीकन पढ्न थाले । दोस्रो वर्ष अझ रोचक । प्रश्न कसरी बनाउने, विशिष्टीकरण तालिकाको निर्माण र प्रयोग कसरी गर्ने, कापी कसरी परीक्षण गर्ने, नम्बर कसरी दिने, विद्यार्थीले भाषा कसरी सिक्छ, दोस्रो भाषा र पहिलो भाषामा के अन्तर छ, मूल्याङ्कन र मापनका विविध प्रणाली कुन कुन हुन्, नेपाली भाषा कसरी शिक्षण गर्ने, दोस्रो भाषा सिकाउने तरिका र विधि के कस्ता छन्, शोध कसरी गर्ने जस्ता कुराहरुका बारेमा विविध अध्ययन गर्ने अवसर जुट्यो ।

दोस्रो डिग्री लिदाको परिवेश धेरै भिन्न थियो, मलाई पारिवारिक दबाब थिएन । जागिरको खोजी गर्नुपर्ने बाध्यता थिएन । बा आमा तथा परिवारका सदस्य तथा साथीभाइलाई जागिर गर्दैछ भन्ने थाहा थियो, पढ्दै छ भन्ने थाहा थिएन । पढ्नैपर्ने र जागिर खानैपर्ने बाध्यता पनि थिएन । स्वयं आफैलाई तनाब थिएन । दिनभर काम गरेर पढ्दा छुट्टै किसिमको आनन्द तथा सन्तुष्टि प्राप्त हुन्थ्यो । पढ्ने वा लेख्ने बानी नशाजस्तै हुँदो रहेछ । जति पढ्यो त्यति बढी पढ्न मन लाग्ने, जति छोड्यो त्यति पढ्न लेख्न नसकिने । पढ्दा उत्साहित किसिमले पढ्नुपर्छ भन्ने मान्यता थियो, लुरुलुरु पढेको मलाई मन पर्ने थिएन । त्यसकारण म निरन्तर मेरो दोस्रो डिग्री पूरा गर्न लागिरहे । पहिले भन्दा अझ बढी ।

अहिले क्याम्पसको खर्च कसैसँग माग्नुपर्दैनथ्यो । स्वयं आफ्नै गोजीबाट झिकेर खर्च गर्न पाउँदा अर्कै आनन्द आउँथ्यो । परीक्षाका दिन पनि बिहान र साँझ काम गरेर परीक्षा समय मात्रै परीक्षा हलमा बिताइन्थ्यो । पढाइका लागि छुट्टै खर्चपर्च, बिदाको व्यवस्था गर्नुपर्ने थिएन । रोचक के थियो भने आफैले पढाउने, आफ्नै विद्यार्थीसँग परीक्षा दिदै गर्दा अलिकति असहज पनि महसुस हुन्थ्यो । आधा घण्टा चाँडो परीक्षा सकेर अर्को कक्षामा पढाउन पाउँदा त्यो असहजता आनन्दमा परिणत हुन्थ्यो ।

केही संयोगहरु पनि जुरे । दोस्रो संविधान सभाको चुनाव यस्तै एउटा संयोग थियो । । राजनीतिक ‘लेबल’ लागेको र खुलेआम राजनीति हुने संस्थामा जोडिएको व्यक्तिलाई चुनावको प्रचार प्रसारमा नहिड्नु त छाडौं भोटै नहाल्नु सजिलो थिएन । दिन बहादुर सर (दिन बहादुर थापा, सह प्रा त्रिवि) लाई मैले यो कुरामा विशेष धन्यवाद दिनुपर्दछ कि उहाँले मलाई अभिभावकको अभाव हुन दिनुभएन । प्रचारमा जानुहुन्छ कि भनेर सोध्दा ‘सर एकछिन पढौं कि भनेको छु’ भनेपछि कुनै पनि दिन उहाँले राजनीतिक गतिविधिमा लाग्न दबाब नदिई ‘पढनुस् पढनुस्’ नै भन्नुभयो ।

चुनावको त्यो परिवेशमा सरले मेरो पढाइलाई जसरी सघाउनु भयो त्यसलाई मैले जीवनभर कदापि बिर्सन सक्दिन । अर्को संयोग थियो, थेसिस ‘भाइवा’को । थेसिस भाइवामा बाह्य परीक्षक बनेर आउनुभयो, गुल्मेली पारसमणि भण्डारी सर (प्रा. त्रिवि) । उहाँ मेरो एम. ए.को पनि बाह्य परीक्षक हुनुहुन्थ्यो । हामीले त्रिवि पढ्दा एउटा साझा मञ्च थियो, गुल्मी त्रिवि विद्यार्थी मञ्च । त्यसमा नेविसंघको राजनीति गर्ने रवीन्द्रजी अध्यक्ष थिए भने म सचिव थिएँ । पारसमणि सर हाम्रो सल्लाहकार हुनुहुन्थ्यो । तसर्थ हामी उहाँका घर गइरहन्थ्यौं । दुवै भाइवा मंसीरमा हुनु अर्को संयोग थियो ।

केन्द्रीय क्याम्पस पढ्दा र दुरदराज पढ्दाका केही भिन्नताहरु पनि टड्कारै महसुस भए । खोजेका धेरै सामग्रीहरु पाइदैनथे । दूरदराज भएकाले एक वर्ष अगाडि थेसिस सकेकाहरु पनि बल्ल थेसिसको भाइवा गर्दै थिए । धेरै थेसिस जुटाएर भाइवा गर्नुपर्ने बाध्यता यहाँ हुँदोरहेछ जबकी केन्द्रीय क्याम्पसमा म एक्लै थेसिसको भाइवा दिएको थिएँ । आफ्नै सहकर्मी सरहरुका बीचमा बसेर भाइवा दिनु पनि आफैमा रोचक लाग्यो ।      

कसैकसैले भन्दछन्, एउटा थप कागजको खोस्टो बटुल्यौं होइन ? संविधान त कागजको खोस्टोमा परिणत हुने हाम्रो मुलुकमा डिग्री लिनु कुनै ठूलो कुरा होइन तर मैले एम. एड. लाई कागजको खोस्टोको रुपमा लिएको छैन, बरु मलाई गर्व छ, धेरै कुरा सिक्न पाएँ भन्नेमा । उत्साह र मेहनतपूर्वक फरक भूमिकामा रहेर नै पढें । त्यसकारण दोस्रो डिग्री मेरा लागि कागजको खोस्टो नबनेर एउटा अपूर्व अवसर बन्न पुगेको छ । राम्रो नभए पनि कम्तीमा मलाई निजी स्कुलको दुई पिरियड नपाएर पिरोलिनुपर्ने अवस्था छैन ।

तर डिग्री गर्ने धेरै युवाहरुलाई मलाई जस्तो अवसर प्राप्त छैन । यही संक्रमणको अस्थिरतामा तिनीहरुको जीवननै अस्थिर बनेको कुराले कताकता अत्यास लाग्दछ । त्यसो त मैले पहिलो डिग्री पूरा गर्दा नेपालमा भर्खर प्लस टुको लहर चलेको थियो, त्यसकारण धेरै डिग्री गरेका युवाहरुले रोजगारीका अवसर पाए । मैले पनि पाएँ । तर आज प्लस टु खुल्ने होइन बन्द हुने अवस्थामा छन् ।

आज डिग्री पढेका युवाहरु मानसिक औषधी खान विवश छन् रे ! सम्झँदा पनि कहाली लाग्छ, डिग्री होल्डर स्वयं र तिनका बा आमाको सपना ? लाग्छ, विश्वविद्यालय लक्ष्यहीन यात्रामा छ र बेराजगार उत्पादन गर्ने निकै उत्पादनशील कारखाना बनिरहेछ ।

पछिल्लो पटक त्रिभुवन विश्वविद्यालयको ४९ औँ दीक्षान्त समारोहमा ७ हजार ३ सय ४२ विद्यार्थी दीक्षित भएको समाचार सार्वजनिक भएको छ । यस्ता दीक्षितहरुलाई कसरी रोजगारी दिने भन्ने काम विश्वविद्यालयको होइन, राज्यको हो । तर रोजगारमुखी शैक्षिक नीति विश्वविद्यालयले तर्जुमा गर्न सक्छ ।

आजको प्रतिष्पर्धात्मक, प्राविधिक र चुनौतीपूर्ण विश्वपरिवेशमा उच्च शिक्षामा पूर्णकालीन विद्यार्थी भन्दा पनि आंशिक विद्यार्थीको औचित्य बढी छ । सामान्य शिक्षामा पनि ड्राइभिङ्, सिलाइ बुनाइ, कम्प्युटर जस्ता अत्यावश्यक जीवनोपयोगी सीपहरु समेट्नु जरुरी भइसकेको छ । कतिपय ठाउँमा पुराना मानिसहरुले पद ओगटेर बसेका छन् भने अर्कोतिर एक व्यक्तिले दोहोरो जागिर खाएका पर्याप्त उदाहरण पनि छन् ।

प्लस टु को शिक्षक बन्नका लागि उमेर हद ४० वर्ष र कम्तीमा ५० प्रतिशत नम्बर ल्याउनै पर्ने र एक व्यक्तिले एकभन्दा बढी पद लिने कार्यलाई सार्वजनिक अपराध ठह¥याइने हो भने थोरै भए पनि रोजगारीका अवसरहरू सिर्जना भई बौद्धिक पलायन कम हुने मात्र होइन, औषधी खानुपर्ने अवस्थाबाट मुक्ति मिल्न सक्छ ।

अहिले शिक्षा पढेकाले नै शिक्षक बन्नुपर्छ भन्ने अवधारणा बलियो बनेर आएको छ । हुन पनि हो, शिक्षा पढेकाले शिक्षणका धेरै तरिकाहरु तथा पद्धतिहरुका बारेमा थाहा पाउँदो रहेछ । अरु संकायमा विषयवस्तु धेरै छ तर त्यसको प्रस्तुति व्यवस्थित छैन । शिक्षामा प्रस्तुति छ तर विषयवस्तुको कमी छ । तथापि नेपाल जस्तो देशमा धेरै शैक्षिक जनशक्तिहरु शिक्षामा जाने हुँदा सबै संकाय तथा कतिपय संस्थानमा समेत शिक्षाको कुनै न कुनै विधा समेट्दा त्यसले राम्रै गर्ने देखिन्छ । उदाहरणका लागि व्यवस्थापन शिक्षण, पत्रकारिता शिक्षण, विज्ञान शिक्षण आदि । अलग्गै कोर्स गराउनु भन्दा त्यसो गर्दा समय, श्रम र लगानी बच्ने देखिन्छ ।

अगाडिको मेरो यात्रा ‘शोध पत्र’का लागि नभएर ‘शोध प्रबन्ध’का लागि हुनेछ ।

प्रकाशित मिति २०७२ पुस १३ गते

प्रतिक्रिया