Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शैक्षिक पुनःसंरचनामा प्राध्यापकहरुको सहभागीता माग

सोमबार, १३ पुस २०७२

काठमाडौँ, १३ पुस । नेपाल प्रजातन्त्रवादी प्राध्यापक सङ्घले सङ्घीयस्वरुपअनुसार शैक्षिक पुनःसंरचना गर्दा प्राध्यापकलाई अधिक सहभागी गराउन माग गरेको छ । 

कैलालीको धनगढीमा शनिबार र आइतबार गरी दुई दिनसम्म भएको सुदूर पश्चिमाञ्चलस्तरीय भेलाले नयाँ शैक्षिक संरचना बनाउँदा प्राध्यापकलाई अधिकतम सहभागी गराएमा वैज्ञानिक, व्यावहारिक र गुणस्तरीय शिक्षाको विकासमा सहयोग पुग्ने निष्कर्ष निकालेको हो । 

भेलाले शैक्षिक पुनःसंरचनाका लागि द्रुतरुपका काम गर्नुपर्ने बेला भइसकेकाले तत्काल काम अगाडि बढाउन पनि सरकारलाई आग्रह गरेको सङ्घका कोषाध्यक्ष विष्णु पोख्रेलले जानकारी दिए ।  साथै, नेपालका सबै विश्वविद्यालयको संरचना पनि सङ्घीयस्वरुपअनुसार गराउनुपर्नेमा भेलामा सहभागीले जोड दिएका थिए । 

झन्डै ५०० प्राध्यापक सहभागी भएको भेलाले आउँदो चैत मसान्तभित्रमा देशभरका सबै क्याम्पसमा सङ्घको इकाइ अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।  इकाइ अधिवेशन सम्पन्न भएको एक महिनाभित्रमा सङ्घको राष्ट्रिय महाधिवेशन गर्ने निर्णय पनि भेलाले गरेको कोषाध्यक्ष पोख्रेलले जानकारी दिए ।  

(रासस) 

 

प्रतिक्रिया