Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

वनद्धारा विद्यालय भवन बनाउन सहयोग

सोमबार, १३ पुस २०७२

काठमाडौँ, १३ पुस । म्याग्दीको एक सामुदायिक वन समूहले विद्यालयको भवन बनाउन रु तीन लाख ५० हजार आर्थिक सहयोग गरेको छ ।  बेनी नगरपालिका– ९ मा रहेको गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन उपभोक्ता समूहले काठ, दाउरा र घाँस बेचेर भएको आम्दानीबाट सोही वडाको नेप्टेचौरमा रहेको राष्ट्रिय माविलाई आर्थिक सहयोग गरेको हो । 

वन समूहले आइतबार विद्यालयको भवन निर्माणका लागि रु तीन लाख ५० हजार सहयोग गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमल चोखालले जानकारी दिए । उनका अनुसार दुईकोठे पक्की भवन बनाउन चन्दा र व्यवस्थापन समितिका पदाधीकारीहरुबाट यसअघि रु पाँच लाख जुटाइसकिएको छ । 

वन समूहको सहयोग र चन्दामार्फत भवन निर्माण कार्य सुरु गर्ने तयारी गरेको अध्यक्ष चोखालले बताए ।  यसअघि जिविसअन्तर्गत सञ्चालित ड्रिलिप परियोजनाको सहयोगमा चारकोठे र शान्ति तथा पुनःनिर्माण मन्त्रालयको सहयोगमा दुईकोठे कक्षा कोठा भवन निर्माण भइसकेको छ । 

गलेश्वर ठूलो सल्लेरी सामुदायिक वन समूहले उक्त विद्यालयका निजी स्रोतका शिक्षकलाई तलब खुवाउन मासिक रु १० हजारका दरले सहयोग गर्दै आएको छ । सामुदायिक वनको काठ, दाउरा र घाँस बेचेर भएको आम्दानी सामाजिक काममा लगाएको समूहका अध्यक्ष टेकबहादुर बानियाँले बताए ।  

(रासस) 

 

प्रतिक्रिया