Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

शिक्षकका विरुद्ध धक फुकाएर उजुरी !

विहीबार, ०९ पुस २०७२

दैलेख - आफूले भोगेका समस्याका बारेमा उजुरी दिन पाए पछि विद्यार्थीले शिक्षकका विरुद्ध धक फुकाएर उजुरी हालेका छन् । विद्यार्थीले शिक्षकले नपढाएको, नियमित उपस्थिति नभएको जस्ता उजुरी हालेका छन् ।

विद्यार्थीले आफुमाथि भएको अन्यायका बारेमा भन्न नसके पनि लेख्न सक्छन् भन्ने मान्यताका आधारमा दुई महिना अघि उजुरी हाल्ने ब्यवस्था गरिएपछि १ हजार ९ सय ३  उजुरी परेका छन् । अधिकाँश उजुरी शिक्षकको वानी र ब्यवहारका कारण भोगेको हैरानीका बारेमा छन् । यी बाहेक छात्रा विद्यार्थीले आफुमाथि हिंसा र दुव्र्यवहार भएको, सहपाठीले अन्याय गरेको समेत उजुरी गरेका छन् । विद्यार्थीले गरेको उजुरीका बारेमा महिनाको दुई पटक सुनुवाई गरिन्छ ।

विद्यार्थीले गरेका १ सय २८ गुनासो मध्ये सय वटाको सुनुवाई भएको र २८ गुनासा बाँकी रहेको भैरव निमावि चामुण्डाका प्रधानाध्यापक कृष्ण कँडेलले बताए ।  ‘हाम्रो स्तरबाट हुने सबै गुनासाका सुनुवाई भइसक्यो । केही गुनासा जिल्ला शिक्षा कार्यालयसंग सम्बन्धित भएकाले बाँकी रहेका हुन् ।’  उनले भने ।

त्यसैगरि दिपेन्द्र प्रावि राकम कर्णालीमा आएका ५० गुनासोको सुनुवाई भईसकेको शिक्षक हिक्मत माझीले बताए ।

विद्यार्थीको उजुरीका आधारमा शिक्षक विरामी भएर अनुपस्थित हुँदा सट्टा शिक्षक राखेर पढाउन थालेको गुनासो सुनुवाई सयन्त्र समितिका संयोजक तुलाराम कँडेलले बताए । उजुरी र त्यसमाथिको सुनुवाई पछि आफुमाथि ठुला केटाहरुले कुटपिट गर्न छोडेको दिपेन्द्र प्रावि राकम कर्णालीका छात्र गगन माझी बताउँछन् ।

विद्यालयमा पठन–पाठन नियमित गर्ने र विद्यार्थीमाथि भएको हिंसा दुव्र्यवहार न्युनिकरण गर्न उजुरी हाल्ने र सुनुवाई गर्ने काम शुरु गरिएको हो । सेभ द चिल्ड्रेन तथा सामाजिक सेवा केन्द्रले दुई महिना अघिदेखि विभिन्न १० गाउँ विकास समितिका ८३ विद्यालयहरुमा उजुरी सुझाव पेटीका कार्यक्रम सञ्चालन गरेको केन्द्रका संस्थापक अध्यक्ष हीरा सिँह थापाले बताए । उजुरीका कारण विद्यालयमा नियमित पठन–पाठन तथा बालबालिका माथि भएको हिंसा न्युनिकरण गर्न सहयोग पुगेको उनले बताए ।

अनुगमनको क्रममा भैरव निमावि चामुण्डा पुगेका निमित्त जिल्ला शिक्षा अधिकारी तेजबहादुर थापाले शिक्षक उपस्थित नहुने गुनासालाई  अनुगमन गरेर  सम्बोधन गरिने बताए ।
कार्यक्रम जिल्लाका सेरी, पिलाडी, लालिकाँडा खडकावाड, पश्चिम सिगौडी, राकमकर्णाली जम्वुकाँध, विशाला र साविक पादुका गाविस अर्थात् चामुण्डा दुल्लु नगरपालिका गरि १० गाविसमा सञ्चालन गरिएको छ ।

तस्वीर : भक्तबहादुर शाही 

प्रकाशित मिति २०७२ पुस ९ गते

प्रतिक्रिया