Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

छात्रामाथि एसिड छ्याप्नेलाई १० वर्ष जेल

विहीबार, ०९ पुस २०७२

एसिड छ्याप्नेलाई १० वर्ष जेल

काठमाडौं ९ पुस / काठमाडौं जिल्ला अदालतले वसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण गर्ने जीवन विकलाई १० वर्ष जेल सजाय सुनाएको छ। जिल्ला न्यायाधीश हरिप्रताप केसीको आइतबारको इजलासले विकलाई ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै दस वर्ष कैद हुने सजाय सुनाएको हो। बिहान ट्युसन पढ्न गएकी संगीता मगर र सीमा बस्नेतमाथि विकले एसिड फ्याँकेर भागेका थिए। उक्त एसिड आक्रमणमा परी संगीता र सीमा बस्नेत घाइते भएका थिए।
संगीताकी आमा चमेली मगरले पनि आफूलाई न्याय मिलेको प्रतिक्रिया दिएकी छन्। संगीतामाथि एसिड फ्याँकेर भागेका जीवनलाई ज्यान मार्ने उद्योग गरेको अभियोगमा दस वर्ष कैद मागी सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरेको थियो।

नेपालमा पहिलो पटक एसिड आक्रमणको सिकार किशोरी भएका थिए। अदालतलाई पनि पहिलो पटक यो मुद्दामा फैसला गरेको छ।

वसन्तपुरमा ट्युसन पढ्न गएका किशोरीमाथि एसिड आक्रमण भएपछि यो घटना सतहमा आएको थियो। अनुसन्धान गर्दै जाँदा प्रहरीले रामेछापको फुलासी–८ का जीवन विकलाई सार्वजनिक गरेको थियो। विकले अदालतसमक्ष बयानमा आफूले गरेको स्वीकार गरेपछि जिल्लाले उनलाई दोषी ठहर गर्दै यस्तो फैसला सुनाएको हो।

फागुन १० गते राजधानीको वसन्तपुरमा तीन छात्रामाथि एसिड आक्रमण भएको थियो। सो घटनामा सीमा बस्नेत र हिमु मुखर्जी सामान्य घाइते भए पनि संगीता पुलामी मगर गम्भीर घाइते थिइन्।

राजधानीको टोखामा बस्दै आएका २० वर्षीय विकले संगीतासँग प्रेमसम्बध टुटेको र आफ्ना आमाबाबुमाथि गरिएको अपमानको बदला लिन एसिड आक्रमण गरेको अदालतको बयानमा समेत बताएका थिए। सीमा र हिमुलाई नराम्रो गर्ने आफ्नो कुनै योजना नभएको उनको भनाइ थियो।

आरोपपत्रका अनुसार जीवन र संगीताको परिवार झोंछेको ओडान चोकमा २०६९ सालदेखि एउटै घरमा भाडामा बस्थे। दुवै परिवारले एकएक कोठा भाडा लिएको थियो। माथिल्लो तलामा संगीताको परिवार बस्थ्यो, तल्लो तलामा जीवनको परिवार। जीवनका बुबाआमा न्युरोडमा चिया बनाएर बेच्थे। संगीताका बुबाआमाचाहिँ क्याटरिङमा काम गर्थे। जीवनले अदालतमा दिएको बयानका अनुसार बिबिएस प्रथम वर्षमा पढिरहेका जीवनले कुनै समय संगीतालाई ट्युसन पढाउँथे। त्यसै क्रममा उनीहरू नजिकिएका थिए। उनीहरूबीच प्रेमसम्बन्ध बन्यो। तर प्रेम सम्बन्ध टुटेपछि अपराधमा परिणत भएको थियो।

जीवनले दिएको बयानका आधारमा जिल्लाले ज्यान मार्ने उद्देश्यले आक्रमण गरेको ठहर गर्दै यस्तो सजाय सुनाएको हो। जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि उनी चित्त नबुझे पुनरावेदन जान सक्नेछन्।

नागरिकमा खबर छ ।

प्रतिक्रिया