काठमाडौं ९ पुस / भूकम्पबाट १६ हजार तीन सय ७० कोठा नष्ट भएपनि डिजाइन तयार नहुँदा विद्यालय भवन बनाउन ढिलाइ भएके छ । शिक्षा विभागका अनुसार भूकम्पबाट देशभरमा १६ हजार तीन सय ७० कक्षाकोठा पूर्ण रूपमा नष्ट भएका छन् । सात हजार ६ सय ४२ कोठामा अधिक क्षति पुगेको छ भने ११ हजार २६ कक्षाकोठामा आंशिक क्षति भएको छ ।
भूकम्पबाट क्षतिग्रस्त भवन तथा कोठा बनाउन ६६ वटा संस्थाले शिक्षा विभागसँग सम्झौता गरेका छन् । ती संस्थाले कुल पाँच सय ३१ दुई हजार नौ सय १६ कक्षा कोठाका लागि सम्झौता गरेका हुन् । थप आठवटा संस्थासँग पनि सम्झौता हुँदै छ । ‘सेमिपर्मानेन्ट’ भवन बनाउन सम्झौता गरेका केही संस्थाले सम्झौताअनुसारको काम गरिसकेका छन् । पक्की भवन बनाउन चाहेका संस्था भने सरकारको डिजाइन नपाउदा अन्योलमा छन् ।
भवन निर्माण तथा सहरी विकास विभागले शिक्षा विभागको पाँच र अन्य गैरसरकारी संस्थाले पेस गरेका पाँच डिजाइनमध्ये एउटा डिजाइनको मात्र अन्तिम स्वीकृति दिएको छ । झन्डै एक दर्जन संस्थाले आफ्नै इन्जिनियरबाट डिजाइन तयार पारेर शिक्षा विभागको प्राविधिक कमिटीबाट सहमति लिएर भवन निर्माण तथा सहरी विकास विभागको स्वीकृति मागेका छन् । शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले डिजाइन तयार नहुँदा र पेस भएका डिजाइन स्वीकृत नहुँदा निर्माणमा ढिलो भएको गुनासो आउने गरेको बताए । डिजाइन स्वीकृत नगरी भवन बनाउन नपाइने व्यवस्था रहेको उनले जानकारी दिए ।
शिक्षा विभागसँग भएको सम्झौतामा न्यूनतम ६ महिनादेखि दुई वर्षसम्म काम सक्ने उल्लेख छ । धेरै कक्षाकोठा र दुर्गम क्षेत्रका लागि बढीमा दुई वर्षमा सम्पन्न गर्ने गरी सम्झौता छ । डिजाइन बनाउन ढिलो हुँदा सहयोग प्रतिबद्धता गर्नेले कोठा संख्या घटाइदिन आग्रह गरेको विभागका एक इन्जिनियरले बताए । ‘शिक्षा विभागको आफ्नै ड्रइङ डिजाइनिङ छैन । सबैले आफ्नै इन्जिनियरबाट डिजाइन गर्न सम्भव पनि नभएकाले ढिलाइ भएको हो,’ ती इन्जिनियरले भने, ‘कतिपय संस्थाले सम्झौता गरेभन्दा धेरै खर्च लाग्ने भन्दै कोठा संख्या घटाइदिन आग्रह गरेका छन, तर विभागले कुनै निर्णय गरेको छैन ।’
विद्यालय भवन बनाउन व्यक्तिगत र संस्थागत सम्झौताअनुसार करिब तीन अर्ब रुपैयाँ सहयोग रकम जुटेको शिक्षा मन्त्रालयले जनाएको छ । विद्यालयको पुनर्निर्माणका लागि सहयोग गर्नेमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, परोपकारी संस्था, कम्पनी तथा व्यक्ति लगायत छन् ।
नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।
प्रतिक्रिया