Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

कुटिए शिक्षक

विहीबार, ०९ पुस २०७२

काठमाडौं ९ पुस / कालीकोट जिल्लाको बदालकोट गाविसस्थित कालिका निमावि खरकोटका शिक्षक नारायण सञ्ज्याल आफ्नै विद्यालयको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयरूप शाहीबाट कुटिनुभएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठकले सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नयरूप शाहीलाई अविश्वास गरी विद्यालयको खाता सञ्चालनका लागि विद्यालयका प्रधानाध्यापक प्रभु न्यौपाने र शिक्षक नारायण सञ्ज्यालको नाममा खाता सञ्चालन गर्ने निर्णय गरेपछि आक्रोशमा आउँदै बेलुका शिक्षक सञ्ज्यालको कोठामा आएर घाइते हुने गरी कुटेको पीडित शिक्षकले बताउनुभयो ।

पीडित शिक्षक नारायण सञ्ज्यालले आफूलाई मार्ने धम्की दिएकाले ज्यानको सुरक्षाको माग गर्दै जिल्ला शिक्षा कार्यालयमा जानकारी गराई जिल्ला प्रहरी कार्यालयमा निवेदन दिनुभएको छ ।

उहाँले निवेदनमा लेख्नुभएको छ – “म राति साढे नौ बजेतिर कोठामा सुतिरहेको बेला विव्यस अध्यक्ष शाही मेरो काठोमा पसी विद्यालयको खाता किन तेरो नाउँमा खोलिस्, तँलाई मारेर फालिदिन्छु, मेरो मान्छे मार्ने पेशा छ बुझिस् भन्दै मलाई त्यहाँबाट घिसारेर करिब पाँच सय मिटर टाढा रहेको उनको घरमा लगी कुकुर बाँध्ने साङ्लोले बाँधेर भीरबाट फाल्छु भनेको र म त्यहाँबाट बाँच्न सफल भई सदरमुकाम आएको छु ।”

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले घटनाबारे अनुसन्धानका लागि दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको र घटनाको प्रकृति हेरेर मुद्दा चलाइने बताउनुभयो ।

शिक्षक सञ्ज्यालको घटनालाई लिएर नेपाल शिक्षक सङ्गठन लगायतका विभिन्न पेशागत संस्थाहरूले विज्ञप्ति निकाल्नुका साथै घटनाको निन्दा गरेका छन् ।

गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया