Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

अँश बेचेर पनि डाक्टर पढ्न नपाउँदा ...

बुधबार, ०८ पुस २०७२

- विष्णु विवेक / हस्याङफस्याङ गर्दै अख्तियारको रिसेप्सनमा आइपुगेका दुई जना विद्यार्थीले सोधे ‘उजुरी गर्ने ठाउँ कहाँ हो ?’

रिसेप्सनमा रहेका कर्मचारीले गेटतिरको कोठा देखाउँदै भने ‘उता पल्लो कोठा’ । उनीहरु उतै गए र काठमाडौँ विश्वविद्यालय केयु विरुद्ध उजुरी दर्ता गरे ।

४४४०१५१/१५८ नं. मा धर्मेन्द्र यादवको नाममा अख्तियारमा उजुरी दर्ता भयो ।

‘मैले मेरिट लिस्टमा नाम निकाले पनि भर्ना हुन पाईन, मलाई ४५ लाख बुझाउ अनि मात्र पढ्न पाउँछौँ भनियो, दर्ता गरिसकेपछि यादवले एडुखबरसंग भने  अस्ति मात्रै सर्वोच्च अदालतले ३५ लाखमै भर्ना लिनु भनेर दिएको आदेशको केयुले पालना नगरी हामीलाई अन्याय गरेकोले उजुरी गरेको हुँ ।’

उजुरी लेखेको पानामा उनीहरुले, सर्वोच्च अदालतको आदेश र शिक्षा मन्त्रालयको निर्देशन विपरित केयुले आफ्ना कलेजलाई जारी गरेको निर्देशनको फोटोकपी पनि राखे । सर्वोच्च अदालतले मंसिर १५ गते जारी गरेको आदेश र माथेमा आयोगले गरेको सिफारिस अनुसार ३५ लाखमै एमबीबीएस पढाउनु भनी शिक्षा मन्त्रालयले विश्वविद्यालय तथा मेडिकल कलेजहरुलाई गरेको पत्राचारको एक एक प्रति पनि राख्न छुटाएनन् । 

उनले उजुरी दर्ता गर्नुभन्दा पनि पहिलै नै केयुले तोकेभन्दा बढी शुल्क लिएर र मेरिट लिस्टलाई समेत लत्याएर ‘बढी पैसा जसले दिन्छ उसैलाई मात्र भर्ना गर्ने’ काम शुरु गरेको समाचार सार्वजनिक भईसकेको थियो ।
गत सोमबार काठमाडौं विश्वविद्यालय अन्र्तगतका मेडिकल कलेजहरुमा एमबीबीएस भर्नाका लागि लिईएको परीक्षामा अनियमितता भएको भन्दै विप्लब निकट अखिल क्रान्तिकारीले विद्यार्थीका उत्तरपुस्तिका कब्जामा लिएको थियो । नेपाल मेडिकल कलेज जोरपाटीमा भएको उक्त घटना पछि केयुको कर्तुत झन् छताछुल्ल भएको छ ।

एमबीबीएस प्रवेश परीक्षामा अनियमितता, उत्तर पुस्तिका क्रान्तिकारीको कब्जामा

केयुले लिएको एमबीबीएस प्रवेश परीक्षामा ६७ प्रतिशत अंक ल्याई २ सय ४४ नम्बरको मेरिट लिस्टैमा यादवले नाम निकाले । नाम निस्केपछि उनी भर्ना गर्न जाँदा शुरुमै ३१ लाख बुझाएर भर्ना हुने नहुने पक्का गर्नुपर्ने र त्यसपछि कक्षा शुरु भएपछि थप १५ लाख दिनु पर्ने बताईयो ।

यादवका साथीहरुले तोकिएको भन्दा बढी शुल्क दिएर भर्ना गर्न लागेको कारण उनले बल्ल बुझे ।

उनको चित्त बुझेन । प्रिन्सिपलसंग चर्काचर्की पर्यो । प्रिन्सिपलको एउटै ढिपी थियो ‘३५ लाखमा कहाँ डाक्टर बन्न पाइन्छ ? ३५ लाखमा डाक्टर बन्ने भए जहाँ पढाउँछ त्यही जाऊ ।’ यो सुन्दा उनको मन अमिलो मात्र भएन डाक्टर बन्ने भन्दै ३ बर्ष अघि काठमाडौँ छिरेको सपना पनि तुहिएला जस्तो लाग्यो ।

उनका अनुसार केही साथीहरु केयुको दादागिरीसंग लडेर जित्न नसकिने भन्दै ३१ लाख बुझाएर हातमा रसिद लिएर एमबीबीएस पढ्ने पक्का गरेर बसेका छन् ।  । कक्षा शुरु हुनेवित्तिकै उनीहरुले थप रकम बुझाउनुपर्ने छदैछ । उनी भने ३५ लाखमै एमबीबीएस पढ्ने अठोट बोकेर न्याय खोज्न अख्तियारका ढोका ढक्ढक्याउन पुगे ।

केयुले भारतीयबाट प्रति विद्यार्थी ५० देखि ६० लाखसम्म लिएर पढाउने गरेको छ । उनीहरुले भनेजति पैसा तिर्ने भएपछि सर्वोच्चको आदेश र मन्त्रालयको निर्देशनलाई पैतालमा कुल्चिएर नीजि मेडिकल कलेज मनोमानी गरिरहेका छन् । उनीहरुलाई जुनसुकै उपाय लगाएर पनि प्रवेश परीक्षामा समेत सजिलै पास गराउने प्रपञ्चको रुप थियो जोरपाटि घटना ।

यस अघि पनि बैद्य र विप्लब नेतृत्वको अखिल क्रान्तिकारीले यही विषयमा केयुका डिन र प्रिन्सिपल चन्द्रा कार्कीको कार्यालयमा ताल्चा लगाएका थिए । विद्यार्थी संगठनहरुको चर्को विरोध केयुले कसरी थामथुम पार्छ भन्ने ईतिहासले पुष्टि गरिसकेको छ । जो यादवले पनि राम्ररी बुझेका छन् ।

जोरपाटि घटना पछि शिक्षा मन्त्रालयले केयुलाई तोकिएभन्दा बढी शूल्क लिएर विद्यार्थी भर्ना गर्नूको कारण सहितको जवाफ माग गरेको छ । जवाफ आआए पछि सोही अनुसार कारवाही प्रकृया अघि बढ्ने मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले बताउँछन् । यसमा पनि यादव विश्वस्त हुन सकिरहेका छैनन् । 

अख्तियारमा उजुरी हाले पछि यादव अहिले, विद्यार्थी सँगठनको चर्को विरोध, शिक्षा मन्त्रालयको औपचारिकता र पैसाकै बलले डाक्टर हुने प्रवृत्तिको भुमँरीमा रुमलिरहेका छन् ।

को हुन् यादव ?

सर्लाही बसन्तपुरका यादव कक्षा १० सम्म सँधै कक्षा प्रथम भए । मोडेल कलेज जनकपुरबाट विज्ञान संकायमा ७१ प्रतिशत अंक ल्याई प्लस टु पास गरे । त्यसपछि डाक्टर बन्ने सपना बोकेर काठमाडौ खाल्डोमा आए ।
दुई बर्षसम्म शिक्षा मन्त्रालयले लिने र त्रिवि अन्तर्गतको शिक्षण अस्पतालले लिने प्रवेश परीक्षामा सहभागि भएपनि नाम निकाल्न नसकेपछि उनको डाक्टर बन्ने सपना केयुको ढोकामा पुगेको हो । 

पुख्र्यौली ६ विघा जग्गा मध्ये उनको अँशमा ३ विघा पर्यो । यो मध्ये १ विघा जग्गा बेचेरै भए पनि डाक्टर बनी छाड्ने योजना सहित उनले प्रकृया शुरु गरे । तर मेडिकल कलेजको रवैयाले उनी रनभुल्लमा छन् ।

पैसा खर्च गरेर बन्ने डाक्टरले कमाउन ध्यान देला की विरामीको सेवा तिर ? यो जटिल प्रश्न उनले ख्याल गरेका छन् छैनन् उनको मनलाई नै लाई थाह होला ! तर, उनी चिन्तित हुँदै मुखै ले भन्छन् बर्षौदेखि मनमा पालेको डाक्टर बन्ने सपना तुहीने त हैन ?

प्रकाशित मिति २०७२ पुस ८ गते

प्रतिक्रिया