Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

चिसोले पठनपाठन प्रभावित

बुधबार, ०८ पुस २०७२

काठमाडौँ, ८ पुस । केही दिनयता लगातार बढेको चिसोको कारण ओखलढुंगाको लेकाली भेगका विद्यालयहरुको पठनपाठन प्रभावित भएको छ । भुकम्पले विद्यालयहरु क्षतिग्रस्त भएको र अधिकांश विद्यालयहरु अस्थायी शिक्षण केन्द्र ९टिएलसी०मा सञ्चालन भएकोले पनि केही दिनयता बढेको जाडोले पठनपाठन प्रभावित हुन थालेको हो । 

खासगरि साना कक्षाका विद्यार्थीहरु स्कुल आउने संख्या धमाधम घट्न थालेका छन् । ‘चिसोले पानी जम्न थालेको छ । कक्षा सबै जस्तापाता र पालमा चलेका छन्,’ शिवालय माध्यमिक विद्यालय पात्ले ३ छेर्मादिङका प्रधानअध्यापक टंकनाथ नेपालले भने, ‘कक्षा पाँच भन्दा मुनिका विद्यार्थी आउने क्रम दिनहुँ घटेको छ ।’

अत्यधिक चिसोले पात्लेसँगै जन्तरखानी, रावादोलु, भुसिंगा, खिजीफलााटे गरि १० वटा भन्दा बढी गाविसमा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको छ । विद्यार्थीहरु उपस्थित भएपनि पढ्न र पढाउनै समस्या हुने गरेको छ । घाम नलाग्ने, चिसो तुषारो पर्ने गरेपछि लेखपढ गर्नै गाह्रो भएको स्थानीय अभिभावक ङवाङफुरी शेर्पाले बताए ।

विद्यालय भवनहरु तत्काल स्थायी निर्माण गर्नुपर्नेमा टिएलसीले मात्र जाडो महिनाभरि कक्षा संचालन गर्न गाह्रो हुने शिक्षकहरु बताउँछन् । गर्मी महिनामा तल्लो भेगमा गर्मीले कक्षा चलाउन गाह्रो भएको थियो । हाल लेकाली भेगमा चिसोले कक्षा चलाउन समस्या हुन थालेको छ ।

(आजको कान्तिपुर दैनिकमा प्रकाशित)

प्रतिक्रिया