Edukhabar
विहीबार, १३ मंसिर २०८१
खबर/फिचर

उमेरले पढ्न नछेकेकाहरु !

मंगलबार, ०७ पुस २०७२

- विष्णु विवेक / उमेर ५० बर्ष ! कक्षा २ !
काठमाडौं भाटभटेनीकी मालती थकाली (नाम परिवर्तन) लाई आफ्नो नाम आफैंले लेख्न सक्दा उत्पात खुसी लाग्यो । हिजो आज त किताबका पाठ खर्रर्र पढ्न मात्रै हैन, मन लागेको कुरा लेख्न पनि सक्छिन् । अक्षर चिन्न र लेख्न सक्ने यो अवस्था सम्म आईपुग्नुको पछिल्तिर थुर्पै भोगाई छन् उनीसँग । 

माईतीघरको शान शौकत बेग्लै थियो । पञ्चायत काल, बुवाको रवाफ मुस्ताङ् भरी कायम थियो । परिवार धनी भएपनि, पढाईको मामलामा छोरा र छोरी विच चर्को विभेद थियो । भाईलाई शहरमा राखेर पढाए तर, उनको पाईलो विद्यालयमा छिर्न कहिल्यै पाएन । 

सामाजिक रुपमा उच्च भनिने खानदानमा विहे भयो । घर भित्रिए पछि पारिवारिक जिम्मेवारीले थिच्यो । संग संगै थिचिरह्यो खान्दानको बार बञ्देजले, जसका कारण उनी अक्षर नचिनेकी बुहारी हुन् भनेर समाजमा चिनाउँदा परिवारले ईज्यत जाने ठानिरह्यो, र उनी अक्षरबाट बिमुख भईरईन् । 

परिवारले जति ढाकछोप गरेपनि पढ्न नजान्ने भनेर घर परिवार र श्रीमान्का अघिल्तिर सानो भएर बस्नुपर्दा कम्ता सकस हुन्थेन । छोराछोरी हुर्के, डिग्री हासिल गरे । उनको पढ्ने समय जुरेन । तै पनि पढ्ने मन रोकिएको थिएन ।

कतिञ्जेल मन मारेर बस्ने ? उनले पढ्ने निधो गरिन् र शुरु भयो घर, नजिकै रहेको सहयोगी पाठशाला जाने क्रम ।

विहान भरी घरायसी काम सकेर दिउँसो १२ बजे कक्षा कोठामा पुगिसक्छिन् । उनका साथीहरु उनकै उमेरका नभएपनि २० देखि ४० बर्षसम्मका छन् । पढ्न पाएकोमा मन जति चँगा छ, खानदानको ईज्यतको बोझले अझै पनि थिच्न छाडेको छैन । र त उनी आफ्नो नाम र फोटो सार्वजनिक नगर्न भन्छिन् !

सरकारले विद्यालय गएर निरन्तर कक्षा लिई पठनपाठन पुरा गर्न नसकेकाहरुका लागी वैकल्पिक कक्षा मार्फत एसएलसी पास गर्न मिल्ने व्यवस्था लागू गरेपछि मालती जस्ता पढ्ने मन भएर पनि नपाएकाहरुले धक फुकाएर पढ्न पाएका छन् । प्राथमिकको दोश्रो तहमा अध्ययनरत उनी एसएलसी पास गरेर उच्च शिक्षा लिने धोको रहेको बताउँछिन् ।

‘पहिले पढ्न त मन थियो पढ्ने ठाउँ थिएन, जहिले म सानो छु, कमजोर छु, घरमै सिमित हुन्छु भन्ने लाग्थ्यो’ उनले भनिन्, 'तर अहिले सबैकुरामा चासो राख्छु र बुझ्ने पनि भएकी छु ।’

न्यूरो अस्पतालमा ड्राइभरको काम गरिरहेका काभ्रे धुलिखेल घर भएका रमेश पराजुली यस बर्ष एसएलसी दिने तयारीमा छन् । काठमाडौंमा बढ्दो चिसोको ख्याल भन्दा धेरै आउँदै गरेको एसएलसीको तयारीमा ध्यान छ । त्यसैले त बिहानै ६ बजे २ सय २० सीसीको पल्सर बाइकमा हुईकिदैं पुग्छन् विद्यालय ।

९ बजेसम्म पढेर जागिर खान जाने पराजुली आफ्नो करिब १२ बर्षको रोकिएको पढाई पुरा गर्ने सोचका साथ मेहेनत गरीरहेका छन् । ‘पहिलो त्यति गाह्रो लाग्दैन्थ्यो, अहिले आएर पढ्न गाह्रो छ’ उनले भने ‘यस बर्ष देखी एसएलसीमा ग्रेडिङको व्यवस्था भएको थाह पाएँ त्यसैले कुनै न कुनै ग्रेडमा त पास भइनेमा ढुक्क छु ।’

रमेशसंगै पढ्ने स्याङ्जा घर भएकी विजया लक्ष्मी तामाङ पनि एसएलसी पास गर्ने सोचमा छिन् । एक पटक फेल भएपछि उनले चार बर्षसम्म पढाई नै छाडेकी थिइन् । हाल एक गैरसरकारी संस्थामा सहयोगीका रुपमा कार्यरत उनी पढाईको महत्व बुझेपछि फेरी पढ्न थालिन् । पढाई र जागिर दुवै धान्दा समय मिलाउन उनले विहानै खानाको टिफिन बोकेरै विद्यालय पुग्छिन् । 

२०६५ सालमा ट्युसन सेन्टरका रुपमा स्थापित सहयोगी पाठशाला सरकारले शुरु गरेको बैकल्पिक शिक्षाको कार्यक्रम चलाउने अनुमति लिएर शुरु भएको हो । यस बर्षमात्रै १ सय ९८ जनाले एसएलसी दिन फर्म भरेका पाठशालाका शिक्षक भूपाल रम्तेलले बताए । 

प्राथमिक तहमा ३ बर्ष अध्ययन गर्ने उनीहरुले हरेक बर्ष निरन्तर अध्ययन गरे पहिलो, दोश्रो तथा तेश्रो तह पार गरी निम्न माध्यामिक तहमा पुग्न सक्छन् । निमावि तहमा प्रथम र दोश्रो तहमा दुई बर्ष पढेपछि ८ कक्षा सम्मको मान्यता पाउँछन् । त्यसपछि एक बर्ष पढेर एसएलसीमा सहभागि हुन पाउँछन् ।

निरन्तर विद्यालय जानेहरुले कक्षा ९ नपढिकन एसएलसी दिन पाउँदैनन् । तर बैकल्पिक शिक्षा लिनेहरुका लागी कक्षा ९ र १० को पाठ्यक्रम मिलाएर एक बर्षमा पुरा गर्ने बनाइएको छ ।

लामो समय पढ्न छाडेका विद्यार्थी पनि कक्षा कोठामा भएपछि सबै जनालाई एकै तरिकाले पढाउन मुस्किल हुने शिक्षकहरु बताउँछन् । सरकारले बनाएका पाठ्यक्रम विद्यार्थीले नबुझ्ने भएपछि शिक्षकहरुले तीमध्ये आवश्यक मात्रै पढाउने गरेको विज्ञान शिक्षक अर्जुन परियारले बताए । ‘मुख्यत लामो समय ग्याप रहेका विद्यार्थीमा पाठ्यक्रम एकैनासको नहुँदा समस्या छ’ उनले भने ‘यसलाई परिमार्जन नगर्दा विद्यार्थी लामो समय पछि विद्यालय फर्किदा पनि पूर्ण रुपमा आफुले सिक्न चाहेको कुरा सिक्न सकेको छैन ।’ त्यसैले विद्यार्थीले मेहनत गर्नुपर्ने र यसका लागी शिक्षकलाई समेत प्रशिक्षित गर्नुपर्ने खाँचो देखिन्छ ।

आगामी दिनमा शिक्षकलाई आवश्यक प्रशिक्षण, तालिम दिने तयारी भइरहेको अनौपचारिक शिक्षा केन्द्रका सुचना अधिकारी दिनेश घिमिरे बताउँछन् ।

वैकल्पिक कक्षा मार्फत एसएलसी पास गर्न मिल्ने व्यवस्था भएपनि अव त्यस भन्दा अघिको पढाईका बारेमा सोच्नु पर्ने सुझाव छ विद्यालयका प्रमुख बलराम थापाको । ‘हामीले पढाएर एसएसली पास भएका बढी उमेर समुहका विद्यार्थीलाई कलेज जान असहज भएको र कलेजले सजिलै भर्ना लिन नमान्ने गरेको देखिन्छ’ उनले भने, ‘त्यसैले सरकारले बैकल्पिक कक्षाहरुमै उच्च माध्यामिक तहको पढाई गर्नु पर्ने देखिन्छ ।’

अहिले देशभरी सञ्चालनमा रहेका बैकल्पिक कक्षाहरु जिल्ला शिक्षा कार्यालयबाट अनुमित लिएर सञ्चालन हुँदै आएका छन् । विद्यार्थी र अवस्था हेरेर शिक्षक पारिश्रमिक भन्दै केही रकम उपलब्ध गराईएपनि त्यो पर्याप्त नभएको थापा बताउँछन् । हाल १३ जना शिक्षक रहेको यो पाठशालामा गत बर्ष सरकारले १ लाख ९० हजार उपलब्ध गराएको थियो ।

पर्याप्त सहयोग नभएपछि विद्यार्थीबाट १ हजार देखि १५ सय सम्म मासिक शुल्क लिएर अन्य कक्षाहरु पनि सञ्चालन गरिएको उनले बताए । 

देशका विभिन्न ५० ठाउँमा यस्तै बैकल्पिक कक्षाहरु सञ्चालित छन् । अनौपचारिक शिक्षा केन्द्रका अनुसार झापा, सुनसरी र सिरहा जिल्लामा ४, उदयपुरमा ५ महोत्तरी, सर्लाही, नवलपरासी,  कपिलवस्तु, बाँके, प्युठान, कैलालीका विभिन्न चार ठाउँमा र हुम्लाका ५ ठाउँमा यस्ता बैकल्पिक कक्षाहरु सञ्चालित छन् ।

काठमाडौ ललितपुर र भक्तपुरमा पनि यस्ता कक्षाहरु सञ्चालित छन् । यस्तै निमावि तहमा देशका विभिन्न ३७ ठाउँमा स्थापना भएपनि २९ ठाउँमा मात्रै कक्षा सञ्चालन भइरहेको छ।
यस्तै अनौपचारिक प्रौढ विद्यालय देशभर ३ सय ३३ ठाउँमा सञ्चालन गरिएपनि अहिले २ सय ७५ वटा मात्रै सञ्चालनमा रहेका छन् । आउने शैक्षिक सत्रबाट शिक्षा विभागले देशका विभिन्न १ सय ९१ ठाउँमा वैकल्पिक कक्षा चलाउने तयारी गरिरहेको घिमिरेले जानकारी दिए ।

सरकारी तथ्यांक अनुसार अहिले पनि २ लाख ९८ हजार ९ सय ४३ नेपाली निरक्षर छन् । उनीहरुलाई साक्षर गराउन सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरेपनि प्रभावकारी बन्न सकेको छैन ।

प्रकाशित मिति २०७२ पुस ७ गते

प्रतिक्रिया