Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

निजी विद्यालयको पैसा उठाउने दाउ, लेटर ग्रेडिङको निउँमा टेष्ट परीक्षा

सोमबार, ०६ पुस २०७२

काठमाडौं - निजी विद्यालय सञ्चालकहरुले शिक्षा नियमावली विपरीत टेष्ट परीक्षा सञ्चालन गर्ने भएका छन् । सरकारले यसवर्षदेखि सुरु गर्न लागेको अक्षराङकन प्रणाली (लेटर ग्रेडिङ) को जानकारी गराउने भन्दै सोमबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियन नेपाल (नेशनल प्याब्सन) ले परीक्षा लिन लागेको जानकारी गराएको हो । 

शिक्षा मन्त्रालयले सेन्टअप परीक्षा लिन नपाउने व्यवस्था गरेको छ ।

एन प्याब्सनले सरकारले हालै घोषणा गरेको लेटरग्रेडिङको पनि बिरोध गरेको छ । तर, नियम विपरित लिन लागिएको टेष्ट परीक्षाले विद्यार्थीको सही मूल्याँकन हुने उसको तर्क छ । बर्षभरी पढाएको कुरा तीन घण्टाले मात्रै मुल्याङकन नहुने र आफूहरुले लिने परीक्षाले विद्यार्थीको सही मूल्याँकन गर्ने भन्दै उक्त परीक्षा लिनु पर्नाको औचित्य पुष्टि गर्ने कोशिस गरेको छ ।

लेटर ग्रेडिङको प्रयोग र व्यवहारिक बनाउन माघ १४ देखि एसएलसी प्रि–बोर्ड परीक्षा सञ्चालन गर्न लागेको एनप्याब्सनका अध्यक्ष कर्णबहादुर शाहीले बताए । विद्यालयमा लिइने विभिन्न त्रैमासिक परीक्षा तथा युनिट टेष्टको ५० प्रतिशत र बाँकी ५० प्रतिशत अन्तिम परीक्षाबाट लिनु पर्ने एनप्याब्सनले सुझाव दिएको छ ।

परीक्षामा प्रति विद्यार्थी बढीमा साढे पाँच सय रुपैया लिने उनले बताए । ‘सरकारले तोकेको शुल्क भन्दा बढी लिदैनौ’ उनले भने, ‘यो परीक्षा पैसा उठाउने र नाफा कमाउने भन्दा पनि विद्यार्थीको बुझाई र तयारी कस्तो छ ? भन्ने हेर्न लागेका हौ ।’

यो परीक्षाले कमजोर विद्यार्थीले सुधार गर्ने अवसर पाउने एनप्याब्सनको दाबी छ । ‘हरेक कुरा पैसासंग मात्रै जोड्नु हुदैन,’ शाहीले भने, ‘विद्यार्थीसंग लिएको पैसाले प्रश्न बनाउने देखि रिजल्ट प्रकाशित गर्नेसम्म खर्च हुन्छ । कुन शीर्षकमा कति खर्च भयो ? सार्वजनिक गर्छौ ।’

आफूहरुसँग सल्लाह नगरी एकलौटी रुपमा यो प्रणाली लागू गर्न लागेको भन्दै एन प्याबसनले आपत्ती समेत जनाएको छ । 

विना शैक्षिक पूर्वाधार र प्रत्यक्ष सरोकार राख्ने विद्यार्थी, शिक्षकलाई कुनै किसिमको तयारी बेगर ग्रेडिङबाट मुल्याङकन गर्ने प्रणाली ल्याउँदा विद्यार्थीमा नपढे पनि पास भइन्छ भन्ने गलत सन्देश गएको शाहीले बताए । ‘नपढे पनि परीक्षामा उतिर्ण भइन्छ भन्ने गलत सन्देशले विद्यार्थीको पढ्ने संस्कृतिमा ह्रास आएको छ’ उनले भने, ‘विद्यार्थीले बिगतको जस्तो मेहनत गर्नै छाडे ।’

प्रकाशित मिति २०७२ पुस ६ गते

प्रतिक्रिया