Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

अपिन, जवाफ देऊ !

आइतबार, ०५ पुस २०७२

- श्रीधर पौडेल /

अन्ततः जे कुराको डर थियो त्यहि भयो !

आईतबार रौतहटमा प्रहरीले हानेको गोलि लागेर विद्यार्थीको ज्यान गयो । नेपालको चौथो विद्यालय, गौरको जुद्ध उच्च माध्यमिक विद्यालयमा कक्षा १० अध्ययनरत तेजापाकड १ का शेख तबरेज आलमको मृत्यु भएको हो ।

राजनीतिक आन्दोलनमा विद्यार्थीको प्रयोग गर्नु सर्वथा गलत हो भन्दा भन्दै रौतहट घटना भयो ।

आन्दोलनमा विद्यार्थीको प्रयोगको सिलशिला शुरु भएको चाँही काठमाडौंबाटै हो ।

विद्यार्थी उभ्याएर चक्रपथ घेराऊ शिक्षा कि स्वार्थ ?

भारतीय नाकाबन्दी विरुद्ध भन्दै निजी शिक्षालयहरुको संस्था अपिनले राजधानीमा स्कुले विद्यार्थीलाई सडकमा उतारे । यसको सिको गर्दै मधेस आन्दोलनको समर्थनमा भनिएको प्रदर्शनमा पनि आन्दोलनरत दलहरुले बालबालिकालाई त्यसैगरी सडकमा उतारे । राजनीतिक चेतना र बालबालिकाको सुरक्षा हिसाबले यो चिन्ताको विषय हो । चक्रपथमा विद्यार्थी उभिएको केही दिनमै तराई आन्दोलनको समर्थनमा तराई केन्द्रीत दलहरुले गरेको बालबालिकाको जवाफी प्रदर्शन थप चिन्ताको विषय हो ।

मधेश आन्दोलनको समर्थनमा पनि विद्यार्थीकै प्रयोग

आलमको मृत्युले आन्दोलनमा विद्यार्थी प्रयोग र भविष्यमा हुन सक्ने अन्य दुर्घटनाको डरलाग्दो चित्र आँखै अघिल्तिर ल्याईदिएको छ । यसले  बालबालिकालाई कबज बनाएर आफ्नो निहीत स्वार्थ प्रयोग गर्ने उपाय सिकाउने अपिन विशेष गरी प्याब्सन एनप्याब्सन वा तराईका दलहरु दुवैको कदम निकृष्ट थियो भन्ने थप पुष्ट्याई गरेको छ । 

संयोग कस्तो छ भने राजधानीमा नाकाबन्दीको विरोधका नाममा विद्यार्थी उतार्ने अपिनकै सदस्य संस्था प्याब्सनले तराई आन्दोलनको समर्थनमा विद्यार्थी सडकमा उतारेका थिए । विद्यार्थीसँग नजिकको साईनो भएका संस्थाले नै उनीहरुलाई सडकमा ल्याएर आफ्नो स्वार्थ अनुसारको प्लेकार्ड थमाउँदै प्रदर्शनमा सहभागि गराए पछि राजनीतिक अभिष्टका लागि उनीहरुको प्रयोग हुनु नौलो थिएन ।

तर गम्भिर प्रश्न भनेको, कुनै पनि विषयको सपाट समर्थन वा विरोध आन्दोलनमा स्कुले बालबालिकाको प्रयोग बढ्नु अत्यन्त चिन्ता र निन्दाको विषय हो । आलमको मृत्युले बालबालिको सुरक्षा खतरा झन् बढाएको प्रष्टै देखिन्छ । 

राष्ट्रिय मानवअधिकार आयोग, शिक्षा मन्त्रालय, बालअधिकारका क्षेत्रमा कार्यरत संस्था तथा अधिकारकर्मीको अनुरोध र चेतावनी विपरित अपिनले स्कुले केटाकेटीलाइ राजधानीको सडकमा उतारेको थियो । विशेषगरी निजी विद्यलायको संस्था प्याब्सन, एनप्याब्सन तथा दलका भातृ संगठनहरु त्यसका मूल नाइके थिए । अपिनले चक्रपथमा गरेको उक्त मानव सांङ्लो प्रदर्शन भारतीय नाकाबन्दी विरुद्ध त थियो नै सत्तासिन राजनीतिक दलका भातृ संगठनको सहभागिताले त्यो तराईमा जारी अन्दोलनको विपक्षमा पनि थियो भन्नेमा कुनै शंका छैन (यद्यपि उनीहरु त्यो कुरा स्वीकार्दैनन्)।

झण्डै ३ महिनाको तराई आन्दोलनका क्रममा निजी शिक्षालयका साहुजीहरु चुपचाप थिए । ठीक वा वेठीक भविष्यले बताउला, तर कुनै दल विशेषको कुनै क्षेत्रमा चलेको आन्दोलनको समर्थनमा वा विरोधमा विद्यार्थी सडकमा लाने अधिकार कुनै शिक्षालयलाई छैन । विरोधको आन्दोलनमा निजीका सञ्चालक आफै सहभागी हुन सक्थे । उनीहरुले त्यो विवेक प्रयोग गरेनन् वा गर्न चाहेनन् । विरोधका लागि बालबालिका प्रयोग गर्ने अपिनको निर्णयले अहिले उनीहरु आफै अप्ठेरोमा परेका छन् ।

यसपटक आन्दोलनका भूमरीमा बालबालिकाको प्रयोग उनीहरुकै कारण बढ्दै गएको अपिनले स्वीकार्नु पर्छ । किनभने जसरी काठमाडौंमा भएको थियो त्यसैगरी प्याब्सन, एनप्याब्सनकै सहभागितामा तराईमा जारी आन्दोलनको समर्थनमा बालबालिकाको प्रदर्शन भएको छ । हिजोका दिनमा बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गरिएको भनेर विरोध गर्दै आएको अपिनले निजी शिक्षालय सित विपरित ध्रुवका झैँ लाग्ने दलका भातृ संगठन सित काँध मिलाएर अब त्यसो भन्ने नैतिक धरातल गुमाइसकेको छ । घटनाबाट पाठ सिक्दै बचेको नैतिकताबाट अपिनले आम नागरिक सित सार्वजनिक माफी मागेर आम अभिभावक, नागरिक र सरोकारवाला समुदायलाई जवाफ दिनु पर्छ ।

संसारका शिक्षालय हिंसा वर्जित ठाउँ हुन् । यद्यपि पञ्चायती, बहुदलीय, माओवादीको हिंसापूर्ण आन्दोलन, गणतन्त्र राज्य जुन पद्धतिमा चले पनि बालबालिका उनीहरुको सुरक्षा कबजका रुपमा प्रयोग हुदै आएका छन् । हिजो पञ्चायतले जसरी राजाको जयजयकारमा बालबािलका प्रयोग गथ्र्यो माओवदीले त्यसैगरी आफ्नो समर्थनमा बालिबालिकाको प्रयोग गर्यो । र आज सत्तासित हुन् वा विपक्षी, तराई केन्द्रीत हुन् वा पहाड, गैरसरकारी हुन् वा व्यापारिक सबै दल तथा संस्थाले बालबालिकालाई आफ्नो सुरक्षा कबच र जयजयकारमा प्रयोग गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण बनेको छ कक्षा १० अध्ययनरत आलमको मृत्यु !
विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएकोले ठूला कक्षाका विद्यार्थी मात्रै सडकमा ल्याएको अपिनका अध्यक्ष कर्ण शाहीको दावि हावादारी भईसकेको छ ।

उभ्याई छाडे साना साना विद्यार्थी !

तै पनि उनी साना कक्षाका बालबालिका प्रयोग नगर्न निर्देशन दिएको बताउन भुल्दैनन् । तर यहाँ नेर बुझ्न के जरुरी छ भने, समर्थन वा विरोध दुवै कामका लागि बालबालिका आफै तयार भएका होइनन् । त्यसका लागि एक प्रकारको जबरजस्ती गरिएको छ र उनीहरुका हातमा उनीहरुको उमेरगत हिसाबले नकारात्मक प्रभाव पर्ने सन्देशहरु लेखेका प्लेकार्ड र नारा थमाइएको छ । त्यसप्रति भने कसैले चासो दिएको छैन ।

प्रदर्शनमा बालबालिकाको प्रयोगको जिम्मा अपिनले लिनै पर्छ । यस्तो प्रदर्शनमा बालबालिका माथि हुन सक्ने कुनै पनि सुरक्षा खतराको जवाफ अपिनले दिनै पर्छ । अपिनकै सदस्य संस्थाले राजधानीमा विरोधमा र तराईमा समर्थनमा विद्यार्थी प्रदर्शन गरेको छ । संस्थागत हिसाबले त अपिन यसमा असफल सिद्ध भइसकेको छ । अपिनले तराई आन्दोलनमा विद्यार्थी प्रयोग गर्ने सदस्य विद्यालयलाई कारबाही गर्ने नैतिक आधार समेत गुमाएको छ ।

जसरी राजधानीमा विरोध गर्न उनीहरु स्वतन्त्र छन् त्यसैगरी तराईमा समर्थन गर्नेहरु पनि स्वतन्त्र छन् । उनीहरुको समर्थन वा विरोधको ठूलो अर्थ त छैन तर आफ्नो सदस्य शिक्षालयले समर्थन गरेको तराई आन्दोलनलाई अपिनले समर्थन गर्छ कि गर्दैन ? अपिनले जवाफ दिनु पर्छ ।

प्रष्ट छ, अपिनको राजधानीको प्रदर्शन व्यापारिक र राजनीतिक स्वार्थ केन्द्रीत थियो । व्यापारिक यो हिसाबले कि इन्धन अभाव पछि विद्यालाय चल्न सक्ने अवस्था छैन । राजनीतिक यसकारणले कि निजी शिक्षालयका सञ्चालक यो वा त्यो रुपमा दलका केन्द्रीय वा क्षेत्रीय तहका कार्यकर्ता हुन् । त्यसमाथि सत्तासिन दलका भातृ संगठन जोडिएपछि उनीहरु राजनीतिक स्वार्थमा सडकमा आएका हुन् भन्ने बुझ्न कुनै गाह्रो छैन ।
स्कुले विद्यार्थीको ज्यानै लिने गरी तराई आन्दोलन जारी छ । जे नहुनु थियो, आईतबार त्यहि भयो । गम्भिर भएर ध्यान दिनु जरुरी छ, भोलिका दिनमा कम्तीमा बालबालिकाको प्रयोग बालबालिका पढ्ने संस्थाले नगर्नुमै हित छ । यसले आन्दोलनरत दलका अघिल्तिर उभिएर विद्यार्थी प्रयोग नगर्नु भन्न नैतिक आड दिन्छ । अपिनले बुझोस् !

यो पनि पढ्नुहोस् :

सडकमा विद्यार्थी उभ्याउनेलाई कारवाही

प्रकाशित मिति २०७२ पुस ५ गते

प्रतिक्रिया