Edukhabar
मंगलबार, ०१ असोज २०८१
खबर/फिचर

खै, कहिलेबाट हुन्छ पठन पाठन ! फोटो फिचर

सोमबार, २८ बैशाख २०७२

काठमाण्डौं २८ वैशाख / भूकम्पका कारण बन्द भएका विद्यालयहरुमा जेठ १ गते देखि पठन पाठन शुरु गर्ने भनिएपनि काठमाण्डौंको नाङ्लेभारे क्षेत्रका विद्यालयहरुमा पठन पाठन शुरु गर्न कठिन देखिएको छ । क्षती पुगेका कतिपय विद्यालय भवनको पुर्ननिर्माण र अस्थाई ब्यवस्थापन हुन सकेको छैन भने कतिपय विद्यालयमा भूकम्पबाट घरबार गुमाएका स्थानीयले आश्रय लिएर बसेका छन् ।

गाउँ घरमा सार्वजनिक स्थल भनेकै विद्यालय हुने हुँदा स्थानीयले विद्यालयमै शरण लिएका छन् ।  पठन पाठन शुरु गर्न तोकिएको समय चार दिन बाँकी हुँदा सम्म स्थानीयको ब्यवस्थापन हुन नसक्दा पठन पाठन शुरु हुन कठिन देखिएको छ ।

यस क्षेत्रमा रहेका ६ वटै विद्यालय भवनका कतिपय कोठामा बस्ने नहुने गरी क्षती भएको छ भने बस्न मिल्ने कोठा स्थानीयको आश्रयस्थल बनेको छ । यहाँ नवीनग्राम शिक्षा मन्दिर नाङ्लेभारे, पोखरी चौर प्रावि भारे, चापाबोट उच्च मावि, शारदा मावि पटाप, बालज्योति निमावी छाप र रातोमाटे प्रावि पञ्चपाले छन् ।

नवीनग्रामको कक्षा कोठामा स्थानीय बासिन्दा बस्नुका साथै उनीहरुले गाई बस्तु समेत बाँधेका छन् । '१ गते भित्र आफू र आफ्ना गाई बस्तु ब्यवस्थापन गर्नु भनेका छौं, तर उनीहरुको घर गोठ सबै सखाप भएको छ कहाँ ब्यवस्थापन गर्लान् र ?' प्रधानाध्यापक गुरुप्रसाद दंगालले भने, 'खै कसरी पठन पाठन शुरु गर्ने अलमलमा छौं ।'

शिक्षकहरु समेत पठन पाठन शुरु गर्ने कुरामा अन्यौल छन् । शिक्षक शान्ति बजगाई आफूनै डराएको बताउँछिन् । 'विद्यार्थीहरु डराएका छन्, उनीहरुलाई कसरी विद्यालय सम्म ल्याउने हो हामीलाई चुनौति छ,' उनले भनिन् 'शुरुमा पढाई भन्दा पनि अतिरिक्त कृयाकलाप गरेर बानी पार्ने योजना बनाएका छौं ।'

पोखरी चौर प्राविका प्रअ ठाकुर दंगाल पढाई शुरु गर्ने तयारीमा त छन् तर चर्केको विद्यालय भवनमा कसरी विद्यार्थी राख्ने भन्ने कुराले चिन्तित छन् । 'खै कसरी पो विद्यालय शुरु गर्ने हो ?' उनले भने 'राजधानीसंग जोडिएको काठमाण्डौंको नजिकैको गाउँमा त यस्तो अवस्था छ अन्य ग्रामिण भेगमा के होला ?'

त्यस क्षेत्रलाई केन्द्रित गरेर शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको संस्था ग्लोवल एक्सन नेपालका निर्देशक बिके श्रेष्ठ सबै भन्दा पहिले विद्यार्थीको मनमा रहेको डरलाई हटाएर बानी पार्नु पर्ने बताउँछन् । 'विद्यालयहरुमा अस्थाई सिकाई केन्द्रका रुपमा संरचना खडा गर्नु जरुरी छ' उनले भने, 'तत्काल पढाइृ भन्दा पनि भूकम्पको त्रासबाट डराएका बालबालिकाका कुरा सुनेर उनीहरुको मनमा रहेको डर र त्रासलाई हटाउने गरी विद्यालयहरु सञ्चालन गर्नु जरुरी छ ।'

फोटो फिचर :

प्रतिक्रिया