Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

गोठालो जानुपरेपछि आलोपालो स्कुल

विहीबार, ०२ पुस २०७२

काठमाडौँ, २ पुस । उनीहरू आलोपालो गरेर स्कुल जान्छन् । स्कुल गएको भोलिपल्ट गोठालो जानुपर्छ । सातामा मुस्किलले ३ दिन स्कुलको मुख देख्न पाउँछन् । तनहुँसुर राम्चेका कृष्ण चेपाङका ५ सन्तानको नियति हो यो । उनका २ छोरा र ३ छोरी पालो मिलाएर स्कुल जान्छन् । नियमित स्कुल जान मन लागे पनि घर धान्न गोठालो जानैपर्ने बाध्यता छ । 

आर्थिक अभावले गर्दा कृष्ण र उनकी पत्नी झरीमाया दैनिक मजदुरीमा जानुपर्छ । यही कारण उनीहरूका पाँचै छोराछोरी पालो गरी स्कुल र गाईको गोठालो जाने गर्दै आएका छन् । ‘आज स्कुल आउने पालो म र बहिनी पवित्राको हो । भोलि लक्षु दाइ र सीता बहिनी पढ्न आउँछन्,’ तनहुँसुर ९ राम्चेस्थित सूर्योदय प्राविमा २ कक्षा पढ्दै गरेकी ११ वर्षीया गंगाले भनिन्, ‘भोलि बहिनी र म गाईगोठालो जानुपर्छ ।’ आफू, ठूलो दाइ ईशबहादुर र ६ वर्षीया बहिनी पवित्रा स्कुल आएको दिन आफ्ना जुम्ल्याहा दाइ ११ वर्षीय लक्षु र अर्की ७ वर्षीया बहिनी सीता गोठालो जाने र उनीहरू पढ्न गएको दिन आफूहरू गोठालो जाने गर्दै आएको गंगाले बताइन् । ‘आमाबा काममा जानुपर्ने भएपछि हामीले गाईसमेत हेर्नुपर्छ,’ उनले भनिन्, ‘घरमा काम भएको दिन त स्कुलसमेत आउन पाइँदैन ।’

आमाबा बिहानै खाना पकाएर ज्यालादारीमा सुन्तला टिप्न हिँड्ने गरेपछि आफूहरू घरको ३ वटा गाईको समेत गोठालो हुनुपरेको लक्षुले बताए । आफूहरू २ जना दाजु र ३ जना बहिनी गरी ५ जनाले दिन बिराएर पढ्न र गोठालो जाने गरेको लक्षुले बताए । ‘आमाबाले पालो गरेर गाई हेर्न जान भनेका छन्,’ गाई हेर्न गएका लक्षुले भने, ‘गाईलाई नचराए भोकले मर्छ भनेर पालो गरी चराउने गरेका छौं ।’ 

झरीमायाले आफूहरू सुन्तला टिप्न मजदुरीमा जानुपर्ने भएकाले छोराछोरीलाई पालो गरेर स्कुल र गाईगोठालो पठाउनुपर्ने बाध्यता रहेको दुखेसो पोखिन् । ‘दैनिक ज्यालारमजदुरी नगरी परिवार पाल्न सकिँदैन, हामी बूढाबूढी बिहानै काममा हिँड्नुपर्छ, त्यसैले घरका ३ वटा गाई हेर्ने जिम्मा पनि छोराछोरीलाई छाड्नुपरेको छ,’ उनले भनिन् । 

विद्यालयका प्रधानाध्यापक सम्मरबहादुर मास्कीमगरले पालो गरी गाई हेर्न जानुपर्ने भएपछि उनीहरू दिन बिराएर पालो गरी स्कुल आउने गरेको बताए । आफूले उनीहरूलाई नियमित स्कुल आउन भने पनि आर्थिक अभावले गर्दा उनीहरू पालो गरेर विद्यालय आउने गरेको मास्कीमगरले बताए । ‘आर्थिक अभावले गर्दा उनीहरू पालो गरेर स्कुल र गोठालो जान्छन्,’ उनले भने, ‘जसरी पनि सातामा ३ दिन स्कुल आउनैपर्छ भनेको छु ।’ 

उक्त विद्यालयमा १९ चेपाङ, २ दुरा, २ कुँवर क्षेत्री र १ जना मगर विद्यार्थीसहित २४ बालबालिका पढ्छन् र सबै विपन्न अवस्थाका भएको उनले बताए । कक्षा १ देखि ३ सम्म पढाइ हुने उक्त विद्यालयमा २ शिक्षक र एक परिचर छन् । 

(आजको कान्तिपुर दैनिकमा पूर्ण विकेले समाचार लेखेका छन्।)

प्रतिक्रिया