Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

शिक्षक छनोट प्रक्रिया अनिश्चित

बुधबार, ०१ पुस २०७२

काठमाडौँ, १ पुस । परीक्षा नसकिँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भागेपछि खोटाङमा शिक्षक छनोट परीक्षा स्थगन भएको छ ।  दुर्छिम–५ स्थित जनश्रम प्राविको शिक्षक छनोटका लागि सञ्चालन गरिएको परीक्षा नसकिँदै व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर खत्री सम्पर्कविहीन बनेपछि छनोट परीक्षा स्थगन भएको हो । 

परीक्षाको नतिजा प्रकाशन अगावै अध्यक्ष खत्री सम्पर्कविहीन बनेका कारण शिक्षक छनोट प्रक्रिया रोकिएको जिल्ला शिक्षा अधिकारी केशवप्रसाद दाहालले बताए ।  लिखित परीक्षा सकिएपछि अन्र्तवार्ता लिनुअघि व्यवस्थापन समितिका अध्यक्ष भागेकाले अनिश्चितकालका लागि परीक्षा स्थगन गरिएको प्रधानाध्यपक मेघराज खत्रीले बताए । 

जिल्ला शिक्षा कार्यालयमा आइतबार लिइएको परीक्षामा १४ जना सहभागी भएका थिए । लिखितमा नाम निकालेका परीक्षार्थीलाई अन्र्तवार्ताका लागि बोलाइए पनि अध्यक्षको अनुपस्थितिमा आफूहरुलाई फर्काइएको परीक्षार्थी रेखबहादुर राईले बताउनुभयो । परीक्षा सदरमुकाम दिक्तेलमा सञ्चालन गरिएको थियो । 

शिक्षकका लागि १६ जनाको आवेदन परेको थियो । शिक्षा कार्यालय, प्रअ र व्यवस्थापन समितिले आ–आफूले चाहेको परीक्षार्थीलाई शिक्षक बनाउने खेलकै परिणाम परीक्षा स्थगन भएको बताइएको छ ।  शिक्षाकै कर्मचारीको आफन्तलाई परीक्षामा उत्तीर्ण गराउने षडयन्त्र रचिएकाले आफू सम्पर्कविहीन बनेको व्यवस्थापन समितिका अध्यक्ष खत्रीले बताए ।

(रासस) 

 

प्रतिक्रिया