काठमाडौं - राज्यले धरपकड गरे पछि सडक प्रदर्शनरत नेपाल शिक्षक महासंघले उक्त दमनको विरोधमा आफूहरुलाई समर्थन गर्न सबै पेशागत संस्था, शिक्षा सरोकार समूह एवं सबै नेपालीलाई अपील गरेको छ । २५ दिन सम्म शान्तिपूर्ण रुपमा जारी सडक प्रदर्शनको २६ औं दिनमा केही शिक्षकले बानेश्वरको निषेधित क्षेत्र तोड्न खोज्दा आईतबार प्रहरीले धरपकड गरेको थियो ।
'शान्तिपूर्ण आन्दोलनमा रहेका शिक्षक कर्मचारी माथि भएको यो क्रुर दमकनको विरोधमा हामीसँग उभिन हामी सबै पेशागत संस्था, आम शिक्षा सरोकार समूह तथा आम नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा समेत अपील गर्दछौं' उक्त धरपकडको विरोध गर्दै महासंघले निकालेको विज्ञप्तिमा उल्लेख छ ।
निषेधित क्षेत्र तोड्न खोज्ने शिक्षकहरुलाई प्रहरीले पानीको फोहोरा हानेर तिरवितर बनाएको थियो । शिक्षकहरुले प्रहरीहरुलाई ताकेर ढुङ्गा ईट्टा हानेका थिए । उक्त घटनामा ६२ जना शिक्षक कर्मचारी घाईते भएको र एक दर्जनको अवस्था चिन्तजनक रहेको महासंघले विज्ञप्ति निकालेर जनाएको छ । घटनामा पत्रकार सविना कार्की पनि घाईते भएकी छन् ।
विभिन्न पेशागत एवं वृत्ति विकासको माग सहित महासंघको आह्वानमा गत चैत २० गतेबाट शिक्षकहरु काठमाडौं केन्द्रित सडक प्रदर्शनमा छन् । २५ गतेबाट आह्वान गरिएको शैक्षिक हड्ताल सहितको शिक्षक सडक प्रदर्शनका कारण सामुदायिक विद्यालयको शैक्षिक गतिविधि ठप्प छ । शैक्षिक सत्र नै शुरु हुन सकेको छैन । कक्षा १२ को परीक्षा सरेको छ भने कक्षा १० को उत्तर पुस्तिका परीक्षण समेत हुन सकेको छैन ।
महासंघले शिक्षा ऐन नलिई घर नफर्कने उद्घोष गरेको छ । विद्यालय शिक्षा विधेयक भने संसदीय समितिले गठन गरेको उपसमितिमा छलफलकै क्रममा छ । धेरै संशोधन परेकाले एक एक गर्दै सहमती गर्दा समय लागेको उपसमितिका सदस्यहरुले बताउँदै आएका छन् । विधेयकका विवाददित विषयमा सहमती जुटाउन गत चैत ८ गते ३५ दिनको म्याद दिएर उपसििमत गठन गरिएको थियो ।
संसदीय प्रकृया पुरा गर्ने कार्यजारी रहेको समितिका सदस्यहरुले बताउँदै आएका छन् । गत बैशाख १२ गतेबाट शुरु भएको संसद अधिवेशनमा विधेयक टेवल गर्ने सरकारले शिक्षक नेताहरुसँग अनौपचारिक प्रतिवद्धता जनाए पनि उनीहरु आश्वस्त हुन सकिरहेका छैनन् ।
प्रतिक्रिया