Edukhabar
शनिबार, १३ बैशाख २०८२
खबर/फिचर

शिक्षा मन्त्रीको निजी सचिवालय शुरुमै विवादित !

प्रहरीलाई लेखेको पत्र सार्वजनिक गरे पछि शिक्षक नेताहरु बिच्के, नाम सार्वजनिक गरेकोमा शिक्षक नेताको आपत्ति, मन्त्रीसँग नभेटी फिर्ता

शुक्रबार, १२ बैशाख २०८२

काठमाडौं - शिक्षा मन्त्री रघुजी पन्तको निजी सचिवालय पहिलो दिनमै विवादमा परेको छ । २४ दिन देखि सडक प्रर्दशनरत शिक्षकलाई वार्ताको आह्वान गरेका पन्तसँग छलफल गर्न भन्दै जान लागेका शिक्षक कर्मचारी नेताहरुको नाम सार्वजनिक गरेकोमा विवाद भएको हो । सिंहदरबार छिर्ने २५ जना शिक्षक कर्मचारीको लागि गेट पास उपलब्ध गराईदिन मन्त्रीको निजी सचिवालयले प्रहरीलाई लेखेको पत्र सार्वजनिक भए पछि शिक्षक नेताहरु बिच्केका हुन् । 

मन्त्रीलाई बधाई दिन र आफ्ना माग मुद्दाका बारेमा जानकारी दिन आफू सहितका टोली जाने तयारीमा रहेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले एडुखबरलाई जानकारी दिएका थिए । यसले सडक प्रर्दशनको सेफल्याण्डिङ्को मौका आएको अपेक्षा गरिएको थियो । 

पढ्नहोस् एडुखबर टिप्पणी : शिक्षक नेताका अघिल्तिर आएको सडक प्रर्दशनको 'सेफल्याण्डिङ' को मौका !

तर, मन्त्रीको सचिवालयबाट नाम सार्वजनिक भएपछि नभेटि फर्किएको सुवेदीले सामाजिक सञ्जालमा लेखेका छन् । 

'शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट सार्वजनिक भएको २५ सदस्यीय  नामावली ने शि महासङ्घले तयार नगरेको व्यहोरा जानकारी  गराउँछौं' उनले लेखेका छन्, 'आज मिति २०८२ बैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका  लागि हामी जाने क्रममा थियौ  तर  विशेष कारणबश  आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।'

उक्त नाम सार्वजनिक गरेकोमा शिक्षक नेताहरुले आपत्ति जनाएर मन्त्रीलाई नभेटि फर्केका छन् । मन्त्रीले वार्ता आह्वान गरेको दुई घण्टा पनि नबित्दै नेपाल शिक्षक महासंघको टोली सिंहदरबार जान राजि भएको थियो । 

तर महासंघको टोली मन्त्री नै नभेटी फर्किए पछि वार्ताको वातावरण खलबलिएको छ । यस अघि पटक पटकको वार्ता आह्वान नटेरका शिक्षक नेताहरु फेरी उही अड्डी कस्दै छन् ।

चैत २० गते देखि शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशन र २५ गतेबाट शुरु शैक्षिक हड्तालका कारण नयाँ शैक्षिक सत्रसँगै शुरु हने भर्ना अभियान लगायतका शैक्षिक गतिविधि ठप्प छन् । देशभरका सामुदायिक विद्यालय बन्द छन्, कक्षा १२ को परीक्षा नै स्थगित गर्नु परेको छ । दुई साता अघि नै शुरु हुनु पर्ने कक्षा १० को अन्तिम परीक्षाको कापी परीक्षणको काम अहिले सम्म शुरु हुन सकेको छैन । 

प्रतिक्रिया