काठमाडौं - नेपाल शिक्षक महासंघको आह्वानमा काठमाडौं केन्द्रित सडक प्रर्दशन निकासको कुनै समाधान प्रष्ट नभईरहेको बेला नवनियुक्त शिक्षा मन्त्री रघुजी पन्तले आर्थिक धरातल हेरेर समाधान निकाल्न कर्मचारीलाई निर्देशन दिएका छन् । शिक्षक सडक प्रर्दशनको २३ औं दिनमा बिहीबार पदभार ग्रहण गरे पछि मन्त्रालयका कर्मचारीहरुलाई राखेर उनले शिक्षक आन्दोलनको समाधानमा भईरहेका प्रयासको व्रिफिङ् गर्न पनि कर्मचारीलाई निर्देशन दिएको मन्त्रालयको उच्च श्रोतले जानकारी दियो ।
'सबैभन्दा पहिलो चुनौती त शिक्षकहरुलाई विद्यालयमा फर्काउनु नै हो । त्यस विषयमा के के भईरहेको छ त्यसमा लागि राख्नु भएका साथीहरुले व्रिफिङ् गर्नु होला' उनको भनाई उदृत गर्दै उक्त श्रोतले भन्यो 'धेरै ठूलो कुरा गर्छु भनेर प्रतिवद्धता पनि नजनाउँ, हाम्रो यथार्थताबाट, हाम्रो भौतिक धरातल जस्तो छ, आर्थिक धरातल जस्तो छ त्यसमा उभिएर पुरा गर्नु पर्ने हुन्छ ।'
शिक्षक प्रर्दशन समाधानका लागि अहिले जे जे काम अघि बढेका छन् त्यसलाई निरन्तरता दिदाँ आकाँक्षाहरुका सीमाका बारेमा सचेत हुन पनि उनले भनेका उक्त श्रोतले बतायो । निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले शिक्षकका माग पुरा गर्न सात बुँदे तयार पारी त्यसलाई कार्यान्वयन गर्दा थप हुने सवा आठ अर्वको आर्थिक दायित्व सहितको प्रस्ताव गत आईतबार मन्त्रिपरिषद्मा पेश गरेकी थिईन् ।
पढ्नुहोस् : शिक्षकका माग पुरा गर्ने त्यो प्रस्ताव : सात बुँदा कार्यान्वयन गर्न सवा आठ अर्व
उक्त प्रस्तावमा प्रधानमन्त्री केपी ओली र अर्थ मन्त्री विष्णु पौडेलले असहमती जनाए पछि उनले सोमबार राजीनामा गरेकी थिईन् ।
त्यसो त उनको राजिनामा तत्कालको परिस्थिती भन्दा पनि विगत लामो समयदेखि प्रधामन्त्री ओलीसँग चिसिएको सम्बधका कारण आएको श्रोतहरुको दावी छ ।
पढ्नुहोस् : मन्त्रिपरिषद् बैठकमा न शिक्षा मन्त्रीको राजीनामा, न शिक्षक मागको चर्चा !
भट्टराईको राजीनामा पछि बुधबार नियुक्त पन्तले आर्थिक धरातल हेरेर समाधान गर्ने बताएका हुन् ।
शिक्षकका माग सम्बन्धमा भईरहेका कामलाई निरन्तर राखेर शिक्षकलाई आआफ्नो विद्यालयमा फर्काउने सार्थक प्रयत्नमा लाग्न पनि निर्देश गरेका उक्त श्रातले जनायो । शिक्षकहरुको समस्या समाधान गरेर उनीहरुलाई विद्यालय फर्काउन सकियो भने त्यो नै अहिलेको सबैभन्दा ठूलो उपलब्धि हुने उनले बताएका छन् । आफू शिक्षा क्षेत्रका लागि नयाँ भएको बताउँदै मन्त्री पन्तले शिक्षा आफ्ना लागि रुचीको क्षेत्र भएको भने दावी गरेका छन् ।
'तपाईहरु सबैको विज्ञता, अनुभव ज्ञान स्वभाविक रुपमा मेरो भन्दा धेरै छ, यही क्षेत्रमा काम गरिरहेको हुँदा तपाईहरुसँग जानकारी पनि धेरै हुन सक्छ' बैठकमा कर्मचारीलाई सम्बोधनका क्रममा मन्त्रीको भनाई उदृत गर्दै उक्त श्रोतले भन्यो 'तर सबै भन्दा पहिला संख्यात्मक रुपमा ठूलो संख्या भएका कारण र देश व्यापी रुपमा असर गरिरहेको हुनाले विद्यालय शिक्षकहरुको सम्बोधन गर्ने कुरालाई प्राथमिकतामा राखौं ।'
कक्षा १२ को परीक्षा नै सार्नु पर्ने परिस्थिती प्रति चासो गर्दै उनले त्यो परीक्षालाई कसरी छिटो गर्न सकिन्छ भन्ने बारेमा ध्यान केन्द्रित गर्न परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्मालाई निर्देशन दिएका छन् ।
चैत २० गते देखि शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशन र २५ गतेबाट शुरु शैक्षिक हड्तालका कारण नयाँ शैक्षिक सत्रसँगै शुरु हने भर्ना अभियान लगायतका शैक्षिक गतिविधि ठप्प छन् । देशभरका सामुदायिक विद्यालय बन्द छन्, कक्षा १२ को परीक्षा नै स्थगित गर्नु परेको छ । दुई साता अघि नै शुरु हुनु पर्ने कक्षा १० को अन्तिम परीक्षाको कापी परीक्षणको काम अहिले सम्म शुरु हुन सकेको छैन ।
नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशनलाई सर्वोच्च अदालतले अवान्छित गतिविधिका रुपमा व्याख्या गर्दै प्रर्दशनरत शिक्षकहरुलाई तीन दिन भित्र विद्यालय फर्काउन आदेश दिएको छ । उक्त फैसला कार्यान्वयनको प्रगति प्रतिवेदन चौथो दिनमा अदालतमा पेश गर्न शिक्षा मन्त्रालयलाई समेत आदेश दिएको छ ।
पढ्नुहोस् : शिक्षकको सडक प्रर्दशनलाई 'अवान्छित गतिविधि'का रुपमा सर्वोच्चको व्याख्या
आफू पत्रकारिता, राजनीति र सञ्चार माध्यममा संलग्न व्यक्ति भएको बताउँदै उनले राजनीतिक जिम्मेवारीका रुपमा यस अघि आफू श्रम तथा यातायात मन्त्री र प्रधानमन्त्रीको सल्लाहकार भएको स्मरण पनि गरेका थिए ।
शिक्षकका विषय बाहेक उनले चिकित्सा शिक्षा क्षेत्रमा देखिएको विषयमा पनि कर्मचारीहरुसँग चासो राखेका थिए । प्रधानमन्त्रीले पुनरावलोकन गर्ने भनिसके पछि पनि आन्दोलनको अवस्था किन आयो ? उनले प्रश्न गरेका उक्त श्रोतले जनायो ।
चिकित्सकहरुको माग त तलब बढाईयोस् भन्ने थियो, मेडिकल कलेजवालाहरुको माग चैं सिट बढाईयोस् भन्ने, त्यसलाई पुनरावलोकन गर्नका लागि आयोगसँग कुराकानी गरेर प्रधानमन्त्रीबाटै प्रकृया अगाडी बढे पछि फेरी किन यो विषय उठ्यो मैले बुझ्न सकेको छैन मन्त्री पन्तको भनाई उदृत गर्दै उक्त श्रोतले भन्यो शिक्षकहरुको प्रर्दशन चलिरहेका बेला फेरी उनीहरु पनि किन सडकमै आउने परिस्थिती बन्यो ?
मन्त्रालयको सबै कुरा बुझ्न आफूलाई केही पढ्नु पर्ने र केही बुझ्नु पर्ने भएकाले केही दिन लाग्ने बताउँदै उनले तत्कालका समस्याको सूची बनाउँदै काम गर्न कर्मचारीलाई निर्देश गरेको उक्त श्रोतले जनायो ।
यसैबिच निवर्तमान शिक्षा मन्त्री भट्टराईले नवनियुक्त मन्त्री पन्तलाई बधाई दिदैं आफ्नो कार्यकालमा हसयोग गर्नेहरुलाई धन्यवाद व्यक्ति गरेकी छन् । राजिनामा पछि सार्वजनिक अभिव्यक्ति नदिएकी उनले पन्तले कार्यभार सम्हाले पछि सामाजिक सञ्जाल मार्फत् बधाई र धन्यवाद व्यक्त गरेकी हुन् ।
'अबको मेरो यात्रा सार्वजनिक शिक्षाको सवलिकरण, अनुसन्धान, विज्ञान तथा प्रविधिमा आधारित सबैका लागि गुणस्तरीय शिक्षामा रहनेछ' अन्त्यमा उनले लेखेकी छन् ।
प्रतिक्रिया