Edukhabar
विहीबार, ११ बैशाख २०८२
गतिविधि

शिक्षक आन्दोलनमा, पठनपाठन नियमित गर्न विद्यार्थीको हारगुहार

विद्यार्थीले विद्यालय व्यवस्थापन समितिलाई औपचारिक निवेदन लेखेरै पठनपाठन शुरु गर्न माग गरेका छन् ।

विहीबार, ११ बैशाख २०८२

भक्तपुर - नयाँ शैक्षिक सत्र शुरु भएको एक साता वितिसक्दा पनि शिक्षकको काठमाडौं केन्द्रित सडक प्रर्दशनका कारण पठनपाठन ठप्प भए पछि विद्यार्थीले हारगुहार शुरु गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडाल, थाकलमाथ स्थित सरस्वती माध्यमिक विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थीले विद्यालय व्यवस्थापन समितिलाई औपचारिक निवेदन लेखेरै पठनपाठन शुरु गर्न माग गरेका छन् । 

अध्यक्षलाई सम्वोधन गर्दै लेखिएको उक्त निवेदनमा विद्यालयका सम्पूर्ण कक्षाहरु नियमित सञ्चालन गर्न अनुरोध गरिएको छ । पठनपाठन नहुँदा त्यसको नकारात्मक असर देखिएको जनाउँदै उनीहरुले निवेदनमा समयमा कक्षा सुरु नहुनाले पढाइमा असर परेको उल्लेख गरेका छन् । यसले पाठ्यक्रम समयमा सम्पन्न नहुने सम्भावना बढेको र  विद्यार्थीमा अनुशासन र एकाग्रता समेत कमजोर हुँदै गएको जनाएका छन् ।
उनीहरूले शिक्षक आन्दोलनका कारण विद्यार्थीको पढाइमा असर पार्न नहुने भन्दै कक्षाहरु पहिलेजस्तै नियमित, समयमै तथा पूर्ण रुपमा सञ्चालन गर्न माग गरेका छन् ।

पढाइका सम्बन्धमा कक्षा १०का सम्पूर्ण विद्यार्थी तथा बालक्लब समितिले आफूलाई सम्वोधन गरी पत्र लेखेको विव्यस अध्यक्ष संजीव पुरीले जानकारी दिए ।

उनले शिक्षकहरू विगत २२ दिनदेखि आन्दोलनमा रहँदा नियमित कक्षा सञ्चालनमा समस्या परे पनि सरकारले शिक्षकलाई तत्काल विद्यालय फर्काउने वातावरण बनाउनु पर्ने बताए । विद्यार्थीको पठनपाठनमा परेको असर समाधानका लागि विद्यालय प्रशासनको ध्यानाकर्षण गरेको उनले जनाए ।

उनले भने, 'स्कुलका स्थायी शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ , हामीलाई विद्यालय सञ्चालन गर्न मुश्किल छ । यहाँ कार्यरत निजी शिक्षकको भरमा पूरा कक्षा सञ्चालन गर्न सकिएको छैन ।'

यो पनि पढ्नुहोस् : सडक प्रर्दशनमा सहभागी शिक्षक कर्मचारीले तलब नपाउने !

स्थानीय सरकारका अघिल्तिर आएको क्षमता देखाउने अवसर

प्रतिक्रिया