काठमाडौं - नयाँ शिक्षा मन्त्रीमा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
पन्तले बिहीबर कार्यभार सम्हाल्ने शीतलनिवास स्रोतले जनाएको छ ।
तत्कालिन शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिएको तेश्रो दिनमा शिक्षा मन्त्रालयको जिम्मेवारी पन्तको भागमा आएको हो । पत्रकारिता पृष्ठभूमिका पन्त एमालेका समानुपातिक सांसद हुन् । प्रतिनिधि सभा निर्वाचन, २०७९ मा उनलाई एमालेले खस आर्य समुदायबाट समानुपातिक सूचीमा राखेको थियो । शिक्षाका विषयवस्तु एवं यस क्षेत्रमा खासै नदेखिएका पन्तसँग, यस अघि श्रममन्त्रीको जिम्मेवारी सम्हालेको अनुभव भने छ । उनी २०६१ सालमा शेरबहादुर देउवाको मन्त्रीमण्डलमा श्रममन्त्री भिए ।
तत्कालिन नेकपामा ध्रुविकरण हुँदा उनी माधवकुमार नेपालको पक्षमा थिए । दल भित्रको चरम विवादमा माधव नेपालले नयाँ दल बनाउँदा उनी अन्तिम समयमा नेपाललाई 'धोका' दिएर एमालेकै बसेका थिए ।
वृत्ति विकास र विभिन्न पेशागत माग सहित शिक्षकहरुको काठमाडौं केन्द्रित सडक प्रर्दशनकै बिचमा शिक्षा मन्त्रालयमा पन्तको 'ईण्ट्रि' भएको छ । उनका अघिल्तिर शिक्षक आन्दोलनको निकाश सहित शैक्षिक सत्र नियमित गर्नु पर्ने चुनौती छ ।
चैत २० गते देखि सडक प्रर्दशनमा उत्रिएका शिक्षकहरुको माग पुरा गर्न तयार पारेको आफ्नो प्रस्तावमा प्रधानमन्त्री ओली र अर्थ मन्त्री विष्णु पौडेलले सहमती नजनाए पछि भट्टराईले राजिनामा गरेकी थिईन् । अब पन्तले भट्टराईकै योजनालाई अघि बढाउँछन् कि नयाँ शैलीमा अहिलेको शैक्षिक गतिरोध अन्त्य गर्छन् त्यो भने समयसँगै प्रष्ट हुने छ ।
यसैबिच नेपाली काँग्रेसको तर्फबाट उर्जा राज्यमन्त्री भएका पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई प्रधानमन्त्रीले बर्खास्त गरेका छन् । उनको ठाउँमा कसैलाई पनि नियुक्त गरिएको छैन । तामाङले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाइएपछि ओलीको आलोचना गरेका थिए । सरकारको प्रतिरक्षा गर्नुको साटो विरोध गरेको भन्दै ओली तामाङसँग रिसाएका थिए ।
प्रतिक्रिया