भक्तपुर - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । आउँदो बिहीबारबाट हुने परीक्षा अब बैशाख २१ गतेबाट हुने बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले जानकारी दिए ।
विहान बसेको बोर्ड बैठकले कर्मचारी परिचालन गरेरै भए पनि तोकिएकै दिन आउँदो बिहीबार परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । उक्त निर्णय प्रति चौतर्फि आलोचना भएको थियो । त्यसै कारण बोर्डले उक्त निर्णयको औपचारिक सूचना समेत जारी गर्न सकेको थिएन । उक्त निर्णय पछि बोर्डका पदाधिकारीहरुले दिनभर सरकारका विभिन्न निकायका प्रतिनिधिहरुसँग छलफल गरेका थिए । बोर्डका अध्यक्ष शर्मा सहितको टोली बेलुका प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न पुगेको थियो । उक्त छलफलमा प्रधानमन्त्रीले केही दिन परीक्षा सार्न निर्देशन दिएका थिए ।
यस अघि विहानको बोर्ड बैठकले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लामा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई सम्पूर्ण जिम्मा दिएर कर्मचारी परिचालन गरी परीक्षा गर्ने निर्णय भएको नियन्त्रक कृष्ण शर्माले बताएका थिए ।
नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी नहुन शिक्षक कर्मचारीलाई आह्वान गरेको थियो । चैत २० गतेबाट काठमाडौं केन्द्रित सडक प्रर्दशन गर्दै आएको महासंघले २५ गते बाट शैक्षिक हड्ताल घोषणा गरेको छ ।
यस बिचमा शिक्षकहरुसँग सहमती गर्ने शिक्षा मन्त्री विद्या भट्टराईको प्रयास सफल नभए पछि उनले राजीनामा दिईसकेकी छन् ।
यस पटक कक्षा १२ को परीक्षामा झण्डै पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । परीक्षाका लागि जापान सहित एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको थियो । त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष परीक्षामा संलग्न हुने योजना बनाईएको थियो । परीक्षामा १८ सय देखि दुई हजार कर्मचारी, हरेक केन्द्रमा कम्तिमा एक जना कार्यालय सहयोगी र २० हजार सुरक्षाकर्मी परिचालन हुने परीक्षा बोर्डको तयारी थियो ।
यस्तै नतिजा प्रकाशनमा शिक्षकको असहयोग घोषणाका कारण कक्षा १० को अन्तिम परीक्षा दिएर बसेका पाँच लाख १४ हजार १७ विद्यार्थीको कापी परीक्षणको काम पनि ठप्प छ । शिक्षक प्रर्दशनका कारण सामुदायिक विद्यालयमा पढ्ने ५५ लाख बालबालिकाको पढ्न पाउने हक हनन् भएको भन्दै आलोचना शुरु भएको छ ।
तत्कालै विद्यालय शिक्षा ऐन जारी गर्नु पर्ने शिक्षकको माग संसदीय प्रकृयामा रहेकोले पेचिलो बन्दै आएको छ । विधेयक माथि संसदीय समितिमा छलफल भईरहेको र ऐन निर्माणको प्रकृया छिटो पुरा गर्ने प्रधानमन्त्री केपी ओलीले बताउँदा समेत शिक्षक महासंघले सडक प्रर्दशनलाई निरन्तर राखेको छ । ओलीसंग शिक्षक नेताहरुको शुक्रबार मध्यराती सम्म छलफल भएको थियो ।
प्रतिक्रिया