Edukhabar
मंगलबार, ०९ बैशाख २०८२
खबर/फिचर

कक्षा १२ को परीक्षाको वातावरण बनाउन सरकारलाई पत्राचार

समस्याको सम्बोधन समयमै हुन नसकेमा लाखौं विद्यार्थीमा मनोवैज्ञानिक असर पर्ने, शैक्षिक क्यालेण्डर नै प्रभावित भई समग्र शिक्षा प्रणालीमै नकारात्मक प्रभाव पर्न सक्ने

सोमबार, ०८ बैशाख २०८२

काठमाडौं - शिक्षकको सडक प्रर्दशन निरन्तर रहेका कारण अन्योलमा परेको कक्षा १२ को परीक्षा शान्तिपुर्वक सञ्चालनको वातावरण बनाउन राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई पत्राचार गरेको छ । आउँदो बिहीबारबाट शुरु हुने गरी तय गरिएको उक्त परीक्षा सञ्चालन नहुँदा विद्यार्थीको अमूल्य समय खेर जाने र अभिभावक एवं राज्यले १२ बर्ष सम्म गरेको लगानीको पनि औचित्य नहुने भन्दै परीक्षा सञ्चालनका लागि आवाज उठ्दै आएको छ । 

आईतबार मात्रै अभिभावक संघ नेपालले ध्यानाकर्षण गराएको उल्लेख गर्दै आयोगले आईतबार नै सरकारलाई परीक्षा सञ्चालन गरी बालबालिकाको अधिकार संरक्षण गर्न पत्राचार गरेको जनाएको छ ।

'नेपालको संविधानको धारा ३१ र ३९ द्वारा प्रदत्त बालबालिकाको मौलिक हक संरक्षण गर्दै आन्दोलनरत शिक्षक महासंघसँग विगतमा भएका सम्झौता कार्यान्वयन गर्न र कक्षा १२ को परीक्षा शान्तिपुर्वक सञ्चालन हुने वातावरण मिलाउन अनुरोध गरिएको छ' पत्रमा भनिएको छ । 

समस्याको सम्बोधन समयमै हुन नसकेमा लाखौं विद्यार्थीमा मनोवैज्ञानिक रुपमा दूरगामी असर पर्न सक्ने, शैक्षिक क्यालेण्डर नै प्रभावित भई समग्र शिक्षा प्रणालीमै नकारात्मक प्रभाव पर्न सक्ने आयोगले स्मरण गराएको छ । शिक्षकका माग वार्ताबाट समाधान गर्न पनि आगोगले अनुरोध गरेको छ । 

जारी शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयका करिब ५५ लाख विद्यार्थीको पढ्न पाउने अधिकार हनन् भएको भन्दै संघले आयोगको ध्यानाकर्षण गराएको थियो । 

शिक्षकको असहयोग घोषणाका कारण कक्षा १२ को परीक्षाको तयारीमा रहेका झण्डै पाँच लाख विद्यार्थीको भविष्य नै अन्योलमा परेको छ । शिक्षक आन्दोलनले निकाश नपाउँदा ती विद्यार्थीको भविष्य माथि नै प्रश्न उब्जिएको छ । यसले विद्यालय शिक्षाको अन्तरराष्ट्रिय छवि मै नकारात्मक असर पर्ने देखिएको छ । 

शिक्षकको सडक प्रर्दशनले निकास नपाउँदै २० औ दिनमा शिक्षा मन्त्री विद्या भट्टराईले राजिनामा दिए पछि अवस्था थप पेचिलो बनेको छ ।  

यस पटक कक्षा १२ को परीक्षाका लागि जापान सहित एक हजार पाँच सय ९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।  त्यति नै संख्यामा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष परीक्षामा संलग्न हुने योजना बनाईएको छ ।

परीक्षामा १८ सय देखि दुई हजार कर्मचारी, हरेक केन्द्रमा कम्तिमा एक जना कार्यालय सहयोगी र २० हजार  सुरक्षाकर्मी परिचालन हुने परीक्षा बोर्डले जनाएको छ । 

यस्तै नतिजा प्रकाशनमा शिक्षकको असहयोग घोषणाका कारण कक्षा १० को अन्तिम परीक्षा दिएर बसेका पाँच लाख १४ हजार १७ विद्यार्थीको कापी परीक्षणको काममा एक साता ढिलो भईसकेको छ । १५ दिन भित्र कापी परीक्षण सक्ने गरी बोर्ड अन्तरगतको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले योजना बनाएको थियो । विषयगत रुपमा तीन हजार शिक्षक परीचालन गरेर १५ दिनमा काम सक्ने योजना बनाएको कार्यालयका नियन्त्रक गणेश भट्टराईले बताए । 

अहिले विद्यार्थीका कापी देशभर निर्धारण गरिएको ५० वटा केन्द्रमा पुगिसकेको बताउँदै उनले एक दुई दिनमा काम शुरु भयो भने पनि अतिरिक्त समय लगाएर परीक्षण गर्न सक्ने बताए । एक जना शिक्षकले दिनमा एकसय कापी जाँच्ने छन् भन्ने आाधरमा परीक्षणको लागि १५ दिनको समय निर्धारण गरिएको उनले बताए । कार्यालयले परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको छ । उक्त योजना अनुसार असार ७ गते तिर नतिजा सार्वजनिक गर्ने कार्यतालिका तयार गरेको छ ।  

आफ्नो वृत्ति विकास एवं विभिन्न पेशागत माग सहित देशभरका सामुदायिक विद्यालयका शिक्षकहरुले चैत २० गते देखि काठमाडौंको सडक केन्द्रित प्रर्दशन गरिरहेका छन् । उनीहरुले चैत २५ गते देखि घोषणा गरेको शैक्षिक हड्तालका कारण नयाँ शैक्षिक सत्रको शुरुवात, भर्ना अभियान, विद्यार्थीको पठन पाठन, परीक्षा, नतिजा प्रकाशन, विद्यालय भर्ना जस्ता शैक्षिक गतिविधि ठप्प छन् । 


 

प्रतिक्रिया