Edukhabar
सोमबार, ०८ बैशाख २०८२
विचार / विमर्श

सन्दर्भ शिक्षक आन्दोलन : शिक्षा ऐनमा लेखिनु पर्ने विषय

शिक्षकहरुलाई राजनीतिकरण गरेर गिजोलेको पनि राजनीतिक दलहरुले नै हो

सोमबार, ०८ बैशाख २०८२

शिक्षकहरूसँग गरेका पूर्व सहमति कार्यान्वयन सहितको शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिन नेपाल शिक्षक महासंघको अगुवाईमा देशभरका शिक्षक काठमाडौंमा सडक प्रर्दशनमा छन् । शिक्षकको स्थायित्व, विद्यालय कर्मचारीको पेशाको सुरक्षा, शिक्षण पेशा प्रति आकर्षण बृद्धि गर्नु पर्ने, शिक्षकको बढुवा, अस्थायी सेवाको गणना, तलबमान र ग्रेड, सामाजिक सुरक्षा कोष व्यवस्थापन, कार्यसम्पादन मूल्याङ्कन र सरुवा, शिक्षण काउन्सिल, मर्यादाक्रम, शिक्षक अस्पताल लगायतका सेवा र सुविधा सम्बन्धी मागहरु सहित प्रर्दशन जारी छ । 

शिक्षा ऐन, २०२८ को नवौं संशोधनले शिक्षा प्रणालीलाई पुनर्संरचना गरे पनि शैक्षिक समस्याको समाधान दिन सकेन । परिवर्तित व्यवस्था र संविधान अनुकुल शिक्षा ऐन जारी गर्नु पर्ने समय घर्केको झण्डै दशक पुग्न लाग्यो ।  तर अहिलेसम्म शिक्षा ऐन जारी भएन । 

कुरा नियतिको होइन नियत को हुनसक्छ । कुरा जबरजस्तिको होइन इच्छाशक्तिको हुनसक्छ । कुरा बेईमानीको होइन ईमानदारीताको हुनसक्छ । कुरा  पक्कै अविश्वासको होइन विश्वासको हो । अब चाहिँ  विश्वासको संकटको पो हो की जस्तो पनि देखिदैं छ । शिक्षकका माग समाधानको विषय शिक्षा मन्त्रालयबाट प्रधानमन्त्री सम्म पुगेको छ । तै पनि आन्दोलन अन्त्यको ठोस आधार देखिएको छैन । 

पृष्ठभूमि र विधेयकमा चिरफार 

विद्यालय शिक्षा ऎन सार्वजनिक शिक्षाको प्रस्थान विन्दुको दस्तावेज हुनु पर्ने पहिलो शर्त हो । 

ऐन जारी भए पछि शैक्षिक रूपान्तरण गर्नुपर्छ यो दोस्रो शर्त हो । 

शिक्षामा आत्मविश्वास र आत्मनिर्भरता ल्याउनुपर्छ यो तेस्रो । 

वैज्ञानिक त हुनैपर्छ व्यवहारिक र रैथाने यसको प्रमुख विशेषता हुनुपर्छ भने यसको जग पूर्वीय दर्शन र चिन्तनको हुनुपर्छ ।  

बाँकी कार्यान्वयनसँग मिल्दै जान्छ । 

शिक्षाको स्वतन्त्र र आत्मनिर्भरतालाई ऎनको प्रस्तावना मै उल्लेख  गर्नु पर्छ ।  राष्ट्रिय उत्पादनलाई वृद्धि गर्ने गरी सुखी नेपाली समृद्ध नेपाल बन्ने आधारशीला खडा हुनुपर्छ । कक्षा १२ पछि विदेश पलायन हुने शैक्षिक जनशक्तिलाई रोक्नेगरी शिक्षा ऐन आउनुपर्छ ।  नेपालको संविधान २०७२ को धारा ३१ को उपधारा ३ को कार्यान्वयनका लागि नियम बनाउने विषय छ । अनिवार्य तथा निःशुल्क  शिक्षा सम्बन्धि ऐन २०७५ र  नियमावली २०७७ निर्माण भैसकेपछि पनि पूर्ण रूपले कार्यान्वयन नभएको जो अवस्था छ त्यस्तो परिपाटीको अन्त्य हुनेगरी शिक्षा ऐन जारी हुनुपर्छ ।

नेपालको आगामी शैक्षिक प्रणाली कस्तो हुने ? शिक्षाको दायित्व कसको हुने ? सस्तो कि महँगो, निजी कि सरकारी, धनीले पढ्ने कि गरिबले पढ्ने, नेपाली भाषी विद्यालय कि अंग्रेजी भाषी विद्यालय, पुँजीवादी शिक्षा कि समाजवादी शिक्षा, यथास्थिति समाजवाद कि वैज्ञानिक समाजवादी शिक्षा ? यी सबै प्रश्नको उत्तर दिन त अहिले नसक्ला तर संकेत गर्न सक्छ ।  संविधानमा समाजवाद उन्मुख भनिएको छ । खाका, प्रक्रिया र कार्यदिशा स्पष्ट छैन । त्यसैले शिक्षकहरुले आफ्नो पेशागत हक र अधिकारको ग्यारेण्टि खोजेका छन् । 

शिक्षकहरुलाई राजनीतिकरण गरेर गिजोलेको पनि राजनीतिक दलहरुले नै हो । १७ वर्षसम्म शिक्षक सेवा आयोग नखोल्नु समयानुकूल  शैक्षिक दर्शन, पाठ्यक्रम नबदल्नु, शिक्षा राज्यको प्राथमिकरणमा नपर्नु, शिक्षा संकायलाई निम्सरो संकाय बनाउनु, शिक्षण पेशा तथा शिक्षकलाई अत्यन्तै कमजोर बनाउनु अहिलेको दुखद् यथार्थ हो ।  सही मान्छे सही पदमा नहुँदा, विज्ञले विज्ञताको उपयोग नगरी अन्धाधुन्द पद र प्रतिष्ठाको लागि राजनीतिक व्यक्तिको पछि लाग्दा, विज्ञलाई विज्ञताको उपयोग गर्न नदिँदा समस्याहरु थप जटिल बन्दै गइरहेको छ । 

शिक्षा विधेयकको परिच्छेद २ को दफा ४ को उपदफा १ मा निजी लगानीका विद्यालय गुठिमा जानेछ भनिएको छ । तर, त्यसको स्पष्टता छैन । निजी विद्यालयका सञ्चालकहरूसँग सरकारले छुट्टै सहमति गरेको छ । त्यसैले यो विषय ऎनमा आउने कुरामा शंसय छ । राजनीतिक दलहरुको अस्पष्ट र दोधारे नीतिका कारण सरकारी शिक्षा तथा विद्यालयको विकासमा निजी विद्यालयले थप चुनौती तथा समस्या खडा गरेको छ ।  त्यसमा पनि सरकारको हात छ कि भन्ने विगतका व्यवहार र जिम्मेवार व्यक्तिबाट दिइएका अभिव्यक्तिबाट संकेत देखिएकै छ । अधिकांश नेताहरुको लगानी निजी विद्यालयमा भएको कारण गुठिमा रुपान्तरण वा गैर नाफामूलक बनाउने निति बन्नै सकेन । दलका दोधार र स्वार्थप्रेरित नीतिका कारण तल्लो वर्ग, पिछडिएको क्षेत्र, वर्ग, गरीब तथा विपन्न  वर्गहरू शैक्षिक पहुँच र गुणस्तरबाट झन् टाढा पुगेका छन् । अब बन्ने ऎनले यो दूरी कम गर्नुपर्छ ।

शिक्षा बिधेयकको परिच्छेद ३ को दफा २६ मा शैक्षिक गुणस्तरको राष्ट्रिय मानक बनाउने उल्लेख छ ।  अब बन्ने शिक्षा ऐनले समेट्नुपर्ने मुख्य विषय गुणस्तरीय शिक्षाको सुनिश्चितता हो । त्यसको स्पष्ट र मापदण्डमा विचार पुर्याउनु पर्नेछ । यस अन्तर्गत न्यूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्ने मापदण्ड, शिक्षकहरूको योग्यता, अनुभव, तालिम, सिकाइ उपलब्धिका आधारमा पुरस्कार र दण्ड, तालिममा कडाई र विद्यार्थी मूल्याङ्कन प्रणालीमा सुधार, पेपर पेन्सिल टेष्ट मात्र नभई वास्तविक सिप परीक्षण परीक्षा तथा निरन्तर उपलब्धि मूल्याङ्कनको स्पष्ट मार्गदर्शन अब बन्ने ऐनले गर्नुपर्छ ।

सीपमूलक शिक्षा,उद्योग शिक्षा, उत्पादन शिक्षा, बजार वितरण शिक्षा, जीवन निर्वाह शिक्षा, नैतिक शिक्षा, चरित्र निर्माण शिक्षा  आदिको व्यवस्था गर्नेगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्छ ।

शैक्षिक क्षेत्रमा डिजिटलाइजेसन धेरै अगाडि गईसकेको हुनाले सूचना तथा सञ्चार प्रविधिको प्रयोग मार्फत सिकाइ सहजीकरण गर्ने हुनुपर्छ । ईण्टरनेटको पहुँच बढाउनुपर्छ । नभएको ठाउँमा वैकल्पिक प्रयोग गर्नुपर्छ । एआईलाई कक्षा कोठाको तथा जीवनको सिकाइमा प्रयोग गर्नुपर्छ । त्यसको लागि मार्गदर्शन ऐनले दिनुपर्छ । यहाँ सबै विधि तथा प्रविधिहरू आउनुपर्छ ।

सिकाइ सहजीकरण गर्ने व्यक्तिको हकहित मानमर्यादा, उत्साह, उत्प्रेरणा, विज्ञता, समसामयिकता अर्थात् शिक्षक सक्षमताको परीक्षण, प्रयोगको साथै शिक्षक व्यवस्थापन अन्तर्गत नियुक्ति, सरुवा, बढुवा, सेवा शर्तमा वृद्धि, त्यसमा एकरुपता, पारदर्शिता र जवाफदेहिता केन्द्रले नै निर्धारण गर्ने मापदण्ड बनाउने गरी शिक्षा ऐन आउनु जरुरी छ । 

शिक्षा बिधेयकको परिच्छेद  ७ को दफा ६० को उपदफा १  मा शिक्षकको सरूवा स्थानीय तहको अधिकारको सम्मान गर्दै माध्यमिक तहको शिक्षक सरूवा राष्ट्रिय कार्यविधी तथा मापदण्ड अनुसार हुने भन्ने कुरा राख्नुपर्छ ।
शिक्षा बिधेयकको परिच्छेद ३ को दफा ४४ को विद्यालय शिक्षक सेवाको पदपूर्ति को उपदफा ३ मा कार्यरत राहात, अस्थायी, अनुदान, विभिन्न थरिका शिक्षक एकचोटिलाई सय प्रतिशत दरबन्दीमा परिणत गरि आन्तरिक प्रतिष्पर्धा गराएर सहमति अनुसारको व्यवस्थापन गरेर अनुत्तीर्ण हुनेलाई गोल्डेन ह्याण्डसेक दिदाँ बर्षौ विताएका शिक्षकलाई न्याय हुने छ । अनुत्तीर्ण कोटा जति अर्को बर्ष खुल्ला प्रतिस्पर्धाबाट पूर्ति गर्ने व्यवस्था गर्ने तर कक्षा अवलोकनलाई अनिवार्य बनाउनुपर्छ ।

शिक्षकको अहिलेको मुख्य माग शिक्षक व्यवस्थापन कै छ । अहिले भइरहेका १७ थरिका शिक्षकहरू हटाएर दुईथरी स्थायी र करार मात्र राख्नु पर्ने आन्दोलनको माग छ । बाँकी रहेका शिक्षकलाई प्रक्रिया पुर्याएर स्थायी गर्ने भन्ने छ । 
शिक्षा विधेयकको दफा ६१ मा शिक्षकको बढुवा जम्माको आन्तरिक प्रतिस्पर्धा र कार्यसम्पादन मूल्यांकन को ५० / ५० प्रतिशत कोटा हुनुपर्छ । एउटै श्रेणी र तहमा १० बर्ष कार्यरत भएपछि अर्को तह र श्रेणीमा बढुवा हुने व्यवस्था हुनुपर्छ तर त्यसको लागि योग्यता पुगेको हुनुपर्छ । ग्रेड भने निजामती सरह (जस्तो कि प्रावी तृतीय १० ग्रेड हुनुपर्छ जबकी अहिले ६ छ) बनाइनु पर्छ ।

शिक्षकहरूको सक्षमता तथा शिक्षण कौशलको परीक्षण गर्न एक विशेष विज्ञ समिती गठन गरी कम्तिमा २ बर्षमा एकचोटि वा पटक पटक कक्षा अनुगमन, मूल्यांकन  र परीक्षण गर्ने तथा त्यसको आधारमा पुरस्कार र दण्डको व्यवस्था उल्लेख गर्नुपर्छ । अनावश्यक सजायहरू हटाउनुपर्छ । प्रोत्साहनका विविध कार्यक्रम जस्तो कि खोज तथा अनुसन्धानको लागि लगानी र नवप्रवर्तन गरेवापत पुरस्कार दिनुपर्छ ।

भाषिक विविधतालाई सम्मान गर्दै मातृभाषामा शिक्षा दिने नेपाली भाषालाई विशेष महत्व दिने अरु भाषाहरुलाई ऐच्छिक बनाउने हुनुपर्छ । शिक्षा विधेयकको परिच्छेद २ को दफा ८ को उपदफा २ को क मा मूल विषयहरू मध्ये गणित, विज्ञान र कम्प्युटर विषय अंग्रेजीमा पढाउनुपर्ने भनिएको छ । त्यसलाई हटाएर नेपाली भाषामा भनेर उल्लेख गर्नुपर्छ । यसो नगर्दा नेपाली भाषालाई कमजोर पार्नसक्छ ।

शिक्षामा राज्यको लगानी २० प्रतिशत सुनिश्चित गर्ने, निजी लगानीका विद्यालयको सञ्चालन, नियमन, अनुगमनमा एकरूपता र पारदर्शिता सुनिश्चित गरी व्यापारीकरणलाई नियन्त्रण गर्ने गरी सञ्चालनको राष्ट्रिय मापदण्ड ऐनमा व्यवस्था गर्नुपर्छ ।

विद्यालयलाई शान्ति क्षेत्र बनाउने बन्द तथा हडताल निषेध गर्ने दफा थप्नु पर्ने छ । विद्यालय व्यवस्थापन समितिमा गैर राजनीतिक विज्ञ व्यक्तिहरूबाट छनोट गर्ने व्यवस्था मिलाउनु पर्ने छ । शिक्षा विधेयकको परिच्छेद २ को दफा १७ को   विद्यालय व्यवस्थापन समितिमा एउटा उपद्फा थपेर कम्तीमा ३ बर्षदेखी कुनै पनि राजनीतिक दलमा संलग्न नभएको गैर राजनीतिक व्यक्ती विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा सदस्यमा अभिभावकहरू मध्येबाट छानी पठाउनुपर्ने भन्ने कुरा उल्लेख गर्नुपर्छ ।

शिक्षा बिधेयकको परिच्छेद २ को दफा १६ को उपदफा २  मा सार्वजनिक विद्यालयको प्रधानाध्यापकको छनोट समितिको विषय उल्लेख छ । त्यो हटाएर  प्रधानाध्यापकहरु शिक्षा सेवा आयोग मार्फत खुल्ला प्रतिस्पर्धाबाट छनोट गरि नियुक्त गर्ने व्यवस्था राख्दा राम्रो हुन्छ ।  

समग्रमा शिक्षा ऐन अग्रगामी आउनु पर्छ । शिक्षामा आम नागरिकको  सर्वसुलभ पहुँच वृद्धि, गुणस्तर सुधार, प्रविधिमैत्री तथा व्यवहारिक सिकाइ, कार्यमुखी तथा सीपमूलक शिक्षाको प्रवद्र्धन ऐनको मर्म हुनु जरुरी छ । 

पाण्डे, श्री सुनपकुवा माध्यमिक विद्यालय उर्लाबारी २ मंगलबारे मोरङका शिक्षक हुन् । 
 

प्रतिक्रिया