काठमाडौं - १९ दिन देखि जारी शिक्षक आन्दोलन समाधानको बाटो तिर अग्रसर भएको सत्ताधारी दलका नेताहरुले बताएका छन् । लामो समय सम्म सडकमा प्रर्दशन हुँदा विपक्षीहरुले खेल्ने मौका पाएको भन्दै प्रधानमन्त्री केपी ओलीले तत्काल समाधान निकाल्न निर्देशन दिए पछि समाधानको लागी गृहकार्य तिव्र भएको हो ।
शुक्रबार मध्य राती शिक्षक नेताहरुसँग भएको छलफलकै आधारमा समाधान निकाल्ने गरी प्रधानमन्त्रीले सरकार र संसदका निकायलाई सकृय बनाएको उक्त भेटका सूत्रधार एमाले नेता कर्ण बहादुर थापाले एडुखबरलाई बताए ।
आवश्यक पर्यो भने सभामुखले संसदीय समितिका अध्यक्ष सहितका सदस्यहरु, मुख्य दलका प्रमुख सचेतकहरु र शिक्षक नेताहरु सहितको छलफल बोलाउने र आन्दोलनरत शिक्षकलाई विश्वासको वातावरण निर्माण भएको यकिन गराउने तयारी भईरहेको उनले बताए ।
'ऐनमा के बुँदा समावेश गर्ने भन्ने कुरा पोलिटिकल कुरा भयो, त्यो हुँदै गर्छ अहिलेलाई प्राविधिक हिसावले ऐन अघि बढाउने निकाय संसद हो त्यसमा सभामुखको अगुवाईमा विश्वस्त हुने वातावरण निर्माणको गृहकार्य भईरहेको छ' थापाले भने 'आजै साँझ सम्म सहमती हुन सक्नेगरी काम भईरहेको छ ।'
शिक्षकको मर्यादा, ईसिडि शिक्षकको सेवा सुविधाका विषय, राहत कोटालाई दरबन्दीमा रुपान्तरण गर्ने जस्ता वृत्ति विकास र सेवा सुविधाका विषयलाई शिक्षा मन्त्रालयले लिपिवद्ध गरिसेको छ । यस्ता विषयहरु आवश्यकता अनुसार मन्त्रीपरिषद्ले निर्णय गर्ने उनले बताए ।
'शिक्षकहरुले ऐन जारी हुने सुनिश्चितता खोज्नु भएको छ, त्यही आधारमा सभामुखले विश्वस्त बनाउनु हुने छ' उनले भने 'बाँकी सेवा सुविधाको कुरा कुन मोडालिटिमा गर्ने भन्ने छलफल जारी छ ।'
सहमतीको गृहकार्य स्वरुप थापा सहित शिक्षक नेताहरुले संसदीय समितिका सभापति अम्मरबहादुर थापासँग छलफल समेत गरेका छन् ।
ऐन जारी हुनु पर्ने सहित वृत्ति विकास र विभिन्न पेशागत मागहरु सहित नेपाल शिक्षक महासंघले चैत २० गते देखि काठमाडौं केन्द्रित सडक प्रर्दशन गर्दै आएको छ । चैत २५ गते बाट शैक्षिक हड्ताल घोषणा गरे पछि सामुदायिक विद्यालयहरुमा शैक्षिक गतिविधि ठप्प छ ।
यो पनि पढ्नुहोस् : स्थानीय सरकारका अघिल्तिर आएको क्षमता देखाउने अवसर
प्रतिक्रिया