Edukhabar
सोमबार, ०७ असोज २०८१
अन्तैवाट

पोखरा विश्वविद्यालयको साधारणसभामा ८ बुँदे निर्णय

मंगलबार, २९ मंसिर २०७२

काठमाडौँ, २९ मङ्सिर । पोखरा विश्वविद्यालयको १६ औँ साधारणसभाले सुझावसहितको आठबुँदे प्रस्ताव पारित गरेको छ ।   प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको साधारणसभाले नियम बनाउनेसम्बन्धी प्रस्ताव, नियम संशोधन गर्नेसम्बन्धी, करार सेवामा कार्यरत शिक्षक तथा कर्मचारी व्यवस्थासम्बन्धी प्रस्ताव सुझावसहित पारित गरेको हो । 

साधारणसभाले विश्वविद्यालयको वार्षिक बजेट र कार्यक्रम, उपाधि निर्धारण तथा स्थापना, ऐन संशोधन, शिक्षक कर्मचारीको करार नवीकरण अनुमोदन र निलम्बन हुँदाको अवधिको भत्ता र बिदाको सुविधा उपलब्ध गराउनेसम्बन्धी प्रस्तावहरुसमेत सुझावसहित पारित गरेको हो । 

साधारणसभाले रु ४९ करोड ८० लाख बराबरको आव २०७२/७३ को बजेट पारित गरेको छ ।   सो अवसरमा प्रधानमन्त्री ओलीले शैक्षिक क्षेत्रमा राजनीतिकरणको अन्त्य गरी गुणस्तरीय र व्यावहारिक शिक्षाको आवश्यकतामा जोड दिए ।  

सभामा सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उपकुलपति प्रा चिरञ्जीवी शर्मा, विभिन्न विश्वविद्यालयका उपकुलपतिको र मन्त्रालयका सचिवको समेत सहभागिता रहेको थियो ।  पोखरा विश्वविद्यालय ऐन, २०५३ अनुसार २०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालबाट हाल ६२ वटा क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन् । 

(रासस) 

 

प्रतिक्रिया