काठमाडौं - विद्यालयहरु बन्द हुँदा बालबालिकाको शिक्षाको अधिकारको सुनिश्चितामा बाधा उत्पन्न भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ । शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको समस्याको वार्ताबाट समाधान गरी पठनपाठन सुचारु गर्न आयोगले आग्रह गरेको छ ।
नेपाल शिक्षक महासंघको आह्वानमा १४ दिन देखि जारी शिक्षकहरुको सडक प्रर्दशन प्रति ध्यानाकर्षण भएको जनाउँदै आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा शिक्षकहरुको समस्या वार्ताको माध्यमबाट यथाशीघ्र समाधान गर्न पनि भनिएको छ ।
'काठमाडौँमा जारी आन्दोलन तथा यसबाट बालबालिकाको शिक्षाको अधिकारमा पर्न गएको असरप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको छ । यस सम्बन्धमा आयोगले स्थलगत अनुगमन गरिरहेको छ' विज्ञप्तिमा भनिएको छ 'आन्दोलन लम्बिँदै गएमा एसईई परीक्षाको नतिजा, कक्षा १२ को परीक्षा र बालबालिकाको भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ ।'
कानून निर्माणमा सम्बन्धित पक्षसँग पर्याप्त छलफल तथा परामर्श गरी विद्यालय शिक्षा सम्बन्धी कानूनलाई समय सापेक्ष बनाउन एवम् शिक्षकहरुसँग विगतमा नेपाल सरकारले गरेका सम्झौताहरुको कार्यान्वयन गर्न पनि आयोगले सरकारलाई आग्रह गरेको छ ।
आन्दोलनका कारण माइतीघर क्षेत्रमा सहज आवागमनमा समेत अवरोध सिर्जना भएको आफ्नो अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।
'विद्यालयका शिक्षक शिक्षिकाहरुले आफ्नो वृत्तिविकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकुल नै हुन्छ' आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ 'तर आफ्ना मागहरु सम्बोधन गराउन आन्दोलन नै गर्नुपर्ने वातावरणको सिर्जना हुनु चिन्ताको विषय हो ।'
प्रतिक्रिया