Edukhabar
बुधबार, ०३ बैशाख २०८२
खबर/फिचर

कक्षा १२ को परीक्षामा असहयोग गर्ने शिक्षक महासंघको निर्णय

विद्यार्थीको जीवनको महत्वपूर्ण समयलाई ख्याल गर्न राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकलाई अपिल गरेको चौथो दिनमा महासंघद्वारा परीक्षा नै हुन नदिने शैलीको निर्णय

सोमबार, ०१ बैशाख २०८२
फाईल फोटो : आन्दोलनको पहिलो दिन २०८१ चैत २० गतेको प्रर्दशनमा शिक्षकहरु

काठमाडौं - १३ दिन देखि काठमाडौं केन्द्रित सडक प्रर्दशन गर्दै आएको नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षामा असहयोग गर्ने निर्णय गरेको छ । सोमबार बसेको महासंघको राष्ट्रिय समितिको बैठकले परीक्षा लगायतका कुनै पनि शैक्षिक कृयाकलापमा सहयोग नगर्ने निर्णय गरेको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । 

'हामीले आज कक्षा १२ को परीक्षामा शिक्षक कर्मचारी संलग्न नहुने निर्णय गरेका छौं' उनले भने 'हामी जीवन मरणको लडाई लड्दै छौं, हामी त यस पटक फाईनल नगरी नजाने हो, राज्यले के सोचेको छ थाहा छैन हामी त जे जोखिम उठाएर पनि फाईनल गरेरै जाने हो ।' 

परीक्षा र उत्तरपुस्तिका परीक्षणमा संलग्न भई विद्यार्थीको जीवनको महत्वपूर्ण समयलाई ख्याल गर्न राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकलाई अपिल गरेको चौथो दिनमा महासंघले परीक्षा नै हुन नदिने शैलीको निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आउँदो ११ गतेबाट शुरु हुँदै छ ।  

सोमबारको बैठकमा अन्य साँगठनिक निर्णय हरु पनि भएका तर बताउँदै सुवेदीले मुलतः आन्दोलनलाई अझै बलियो बनाएर लैजाने, विद्यालयहरुलाई अझ कडाईका साथ ठप्प बनाएर लैजाने जस्ता निर्णय गरेको जनाए । 

पेशागत माग सहित महासंघको अगुवाईमा देशभरका शिक्षक गत चैत २० गते देखि सडक प्रर्दशनमा उत्रिएका छन् । २५ गते देखि महासंघले शैक्षिक हड्तालको समेत घोषणा गरेको छ । 

शिक्षकका माग पुरा गर्न शिक्षा मन्त्रालयले लिष्ट बनाएर एक एक माग केलाउँदै अन्तर मन्त्रालयगत समन्वय गरिरहेको शिक्षा मन्त्री विद्या भट्टराईले बताएकी छन् । 

पढ्नहोस् : परीक्षा र उत्तरपुस्तिका परीक्षणको जिम्मेवारी वहन गर्न आन्दोलनरत शिक्षकलाई बोर्डको अपिल

प्रतिक्रिया