Edukhabar
सोमबार, ०७ असोज २०८१
खबर/फिचर

विद्यार्थी लम्जुङ्मा, शिक्षक काठमाडौंमा

सोमबार, २८ मंसिर २०७२

लम्जुङ् - 'गुडमर्निङ् स्टुडेण्ट !' काठमाडौं नयाँ बानेश्वर नजिकै थापागाउँबाट विद्यार्थीलाई गरिएको यो सम्बोधनको उत्तर बेसीशहरबाट फिर्ता हुन्छ – 'गुडमर्निङ् सर !'

सदरमुकाम बेसीशहर स्थित जनविकास उच्च माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी विहान सातै बजे कक्षा कोठामा उपस्थित भै सक्छन् ।  उसैगरी थापागाउँमा शिक्षक मान बहादुर ढुंगाना पनि ! नयाँ प्रविधि अँगालेर शुरु पठन पाठनका कारण पनि हुन सक्छ शिक्षक र विद्यार्थी दुवैलाई मंसिर महिनाको विहानको चिसो सम्झने फुर्सदै छैन ।

विद्यार्थी ल्यापटपमा स्काइप लग अन गर्छन् । यतिञ्जेलसम्म शिक्षक ढुंगाना पनि तयार भै सकेका हुन्छन् । कम्प्युटरमा यो दृष्य हेर्नेलाई, शिक्षक लुखुर लुखुर हिड्दै कक्षाकोठामा प्रबेश गरेको झल्को आउँछ । अनी शुरु हुन्छ विहानी अभिवादन साटासाट !

सञ्चो विसञ्चो सोधे पछि शिक्षक सोध्छन्, आज के पढ्ने ? सामान्य औचिारिकता पछि विद्यार्थी फटाफट आफ्ना समस्या शिक्षकलाई सुनाउँछन् । शिक्षक ढुंगानाले पालै पालो सोध्न लगाउँछन्, र उसैगरी विद्यार्थीका समस्या हल गरिदिन्छन् ।

ल्यापटप कम्प्युटरको आवाज सानो हुने भएकाले कक्षा कोठामा साउण्ड बक्स थप  गरिएको छ । ल्यापटपको स्क्रीन सानो हुने भएकाले प्रोजेक्टर लगाएर कक्षा  कोठाको भित्तामा रहेको ह्वाइबोर्डमा प्रकाश पारिन्छ । जहाँ शिक्षकको अनुहार मात्रै हैन अक्षर पनि ठूलो देखिन्छ ।

परीक्षणका रुपमा गणित विषय पढाई भइरहेको छ, हरेक युनिटका हिसाब र त्यो समस्या समाधान गर्ने विधि शिक्षकले सिकाइ रहेका छन् । विद्यार्थीले बुझे नबुझेको बारेमा पनि सोधपुछ भइरहन्छ । नबुझेको भए जान्ने विद्यार्थीले सहयोग गर्छन् ।

प्रत्यक्ष रुपमा शिक्षक अघिल्तिर हुनु तथा अनलाइन मार्फत देख्नु र आवाज सुन्नुमा फरक हुने भएपनि पठन पाठनमा कुनै असजिलो नभएको विद्यार्थी शुशिला रेग्मीको अनुभव छ । एकै पटक धेरै जना बोल्दा शिक्षकले बोलेको सुन्न गाह्रो हुने भएकाले बोल्नु अघि पालो कुर्नै पर्ने हुन्छ । तर, अनलाइनबाट पढाएको महसुस नै नभएको उनी बताउँछिन् । ‘हेडसरले भन्नु भाको पछि त झन् अरु देशमा रहेका प्रोफेसरहरुले पनि पढाउनुहुन्छ रे, आफ्नै विद्यालयमा बसी विभिन्न ठाउँमा हुने पढाई प्रत्यक्ष सिक्न पाइने भयो ।’ उनी खुसी भईन् ।

अर्का विद्यार्थी विवेक गुरुङले आफुहरुले शिक्षकले पढाएको बुझ्ने गरेको सुनाए । पछाडी बेञ्चमा बसेका उनले भने  ‘हल्ला नगरीकन सबै चुपचाप लागेर पढ्यो नबुझेको कुरा मात्र सोध्यो भने त राम्रो बुझ्न सकिन्छ ।’ गणित विषय यसरी पढ्न त गाह्रो होला नि भन्ने प्रश्नमा उनले भने ‘गणितका सुत्रहरु सरले राम्रोसंग बुझाई दिनुहुन्छ, त्यसमा झन् एक दुईओटा आफैले पनि गरि दिनुहुन्छ । हामीलाई हिसाब गर्न दिदाँ हामीले सकेनौ भने पनि आफैले गरेर देखाइ दिनुहुन्छ ।’

त्यसो त कक्षाकोठामै प्रत्यक्ष शिक्षक उभिएर पठनपाठन गर्दा कुन विद्यार्थीले बुझ्यो कुन विद्यार्थीले बुझेन भन्ने कुरा हेर्न र तत्कालै थाहा पाउन सकिन्छ । अनलाइनमा बुझ्ने र बोल्ने मात्र अगाडी हुन्छ । तै पनि आफ्नै विद्यालयमा बसेर  विश्वभरीको शैक्षिक अवस्था र विषयवस्तुको जानकारी लिन पाउनु खुसीको कुरा भएको विद्यार्थीको भनाई छ ।

कक्षा कोठामा शिक्षक उभिएर पढाएको भोगेका देखेका हामी मध्ये अधिकाँशलाई पढाउने यो तरिका नित्तान्त नौलो लाग्न सक्छ । पछिल्लो समय बढ्दो प्रविधिको प्रयोगलाई पठन पाठनमा भित्र्याउने सोच बनाएका हुन्, केही उत्साही युवाहरुले । शिक्षक अभावकै कारण विद्यार्थीले पढ्न नपाएको देखेर जागेको हुटहुटि अनलाईन भिडियो कक्षाको माध्यामबाट पठन पाठन गर्ने उपायमा पुगेर रोकियो । अनी शुरु भयो 'सम्यक अभियान' । यहि अभियानले शुरु गरेको छ स्काईप कक्षा । 

'शिक्षक अभाव मात्रै हैन, कतिपय ठाउँमा त शिक्षक दक्ष नभएकै कारण विद्यार्थीले गतिलो पढ्न नपाएको देख्दा साह्रै चित्त दुख्यो' अभियानका एक जना सदस्य हितेस पन्त भन्छन्, 'क्षमता भएका युवा शहर त्यसमाथि पनि राजधानी केन्द्रित हुने अनी गाउँका विद्यार्थी सँधै पछि का पछि पर्ने ? विद्यालयमा भएका सबै शिक्षक अदक्ष छन् भन्न त हैन तर, प्रविधि मार्फत पढाई गर्दा विद्यार्थीको ज्ञानको दायरा त फराकिलो हुने नै भयो नी ।'

विभिन्न पेशा ब्यवसायमा सकृय युवाहरुको यो होस्टेलाई जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालको हैसेंले सघायो ।

शिक्षक ढुङ्गानाले पनि साथ दिए ।

सिन्धुपाल्चोकका ढुंगानाले गणित र भौतिक शास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् । चाह्यो भने उनलाई दाम सहित कामको खाँचो छैन, तर उनी जोडिए स्वयं सेवा गर्ने अभियान तिर । ‘साथीहरुले केही गरौँ केही गरौँ भने । मलाई पनि केही नयाँ र फरक गरी पढाउन पाए हुन्थ्यो जस्तो लागेको थियो' उनले भने, 'त्यसै क्रममा साथीहरुसँग भेट भयो र लमजुङको विद्यालयमा अनलाइन कक्षा शुरु गरेको हुँ ।’

'कतिपय गाउँका विद्यालयमा शिक्षकको दरबन्दीनै छैन, त्यस्ता विद्यालयमा यो अभियान प्रभावकारी हुने ठानेको छु' जिशिअ नेपाल भन्छन्, 'अहिले परीक्षणका रुपमा सञ्चालन गरेका छौं विद्यार्थीले राम्रो ठानेका छन्, शिक्षक अभिभावक पनि खुसी छन्, यसलाई अन्य विद्यालयमा विस्तार गर्ने बारेमा सोच्दै छौं ।'

आफ्नै सिर्जना र प्रयोगबाट विकट ठाउँमा इन्टरनेट पहुँच विस्तार गरेकै कारण  चर्चित इन्टरनेट विज्ञ महाविर पुनःसंग छलफल गरेर विस्तार गर्ने योजना रहेको उनले सुनाए ।

शुरुमा केही असजिलो भएपनि विस्तारै सामान्य लाग्न थालेको विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले बताए । 'शुरुमा त अगाडी आएर शिक्षकले पढाएको जस्तो नभए पछि केही अलमल परेको थियो तर, हिजोआज त बानी पर्यो' उनले भने, 'संसारको जुनसुकै ठाउँबाट पढाउन सकिने र अहिलेको आवश्यकता बमोजिम देश विदेशको शिक्षा घरमै बसी लिन सकिने प्रविधिको प्रयोगलाई हामीले परीक्षण गरिरहेका छौं ।'

शैक्षिक अवस्थाका बारेमा अध्ययन गर्न लम्जुङ् आएका शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पनि कक्षा अबलोकन गरे । पटक पटक हुने आन्दोलन र अवरोधले पढाईमा भएको बाधा हटाउन यो विकल्प उत्तम हुने उनको निष्कर्ष छ । ‘हामीले यो कारण त्यो कारण विद्यालय बन्द भयो, पढ्न पाएनौँ, भन्न छाडौँ, सरकारले गरेन, आन्दोलनकारीले बुझेन भन्न छाडौं उनले भने, हामीसँग जे छ, जसको पहुँच छ । त्यसैलाई प्रयोग गरेर पठनपाठन गरौँ । यसरी हाम्रो विकल्प पनि सजिलै पुरा हुन्छ, पठन पाठनको नयाँ उपाय पनि निस्कन्छ ।’

राजधानीका केही कलेजमा प्रोजेक्टरको प्रयोगबाट अडियो भिडियो सहित  पठनपाठन गर्ने गरिए पनि विद्यालय शिक्षामा स्काईपबाट पढाई भएको  सम्भवत यो पहिलो हो । यसलाई थप विस्तार गरी अनलाइनबाट लिएको कक्षाको रेकर्ड टेलिभिजन या युट्युबबाट विस्तार गर्न सकिने कोइरालाले सुझाए ।

प्रकाशित मिति २०७२ मंसिर २८ गते

प्रतिक्रिया