भक्तपुर - परीक्षा र उत्तरपुस्तिका परीक्षणमा संलग्न भई विद्यार्थीको जीवनको महत्वपूर्ण समयलाई ख्याल गर्न राष्ट्रिय परीक्षा बोर्डले आन्दोलनरत शिक्षकलाई अपिल गरेको छ । शैक्षिक हड्ताल सहित शिक्षक आन्दोलनका कारण कक्षा १० को अन्तिम परीक्षा एसईईको कापी परीक्षण प्रभावित भएको छ भने बैशाख ११ गतेबाट शुरु हुने कक्षा १२ को अन्तिम परीक्षा पनि प्रभावित हुने देखिएको छ ।
यही सन्दर्भमा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले अपिल जारी गर्दै विद्यार्थीको नतिजा प्रकाशनमा एक दिन मात्रको ढिलाईले उनीहरुको जीवनको महत्वपूर्ण अवसर गुम्न सक्ने स्मरण गराएका छन् ।
'उत्तरपुस्तिका परीक्षण जस्ता कार्य विज्ञ शिक्षक बाहेक अरुबाट हुन सक्दैन । यसका लागि बोर्डले शिक्षकहरुकै सल्लाह र सुझावमा नतिजा प्रकाशनको कार्यतालिका सहित कार्ययोजना बनाई काम शुरु भईरहेको छ' अपिलमा भनिएको छ, 'त्यस्तै कक्षा १२ को परीक्षा बैशाख ११ गते देखि शुरु हुँदै छ ।'
उत्तर पुस्तिका परीक्षणमा हुने ढिलाईले विद्यार्थीले नतिजा प्राप्ति पछि पाउने अवसरमा प्रत्यक्ष असर पर्ने संवेदनशील पक्षमा शिक्षक जानकार रहेको विश्वास गर्दै अपिलमा यस संवेदनशीलता भित्र आफ्ना माग तथा अपिलसँगै विद्यार्थीको भविष्यलाई समेत दृष्टिगत गर्न अनुरोध गरिएको छ ।
शिक्षककोे हक अधिकार सुनिश्चित हुने विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिन भन्दै नेपाल शिक्षक महासंघको अगुवाईमा चैत २० गते देखि शिक्षकहरु काठमाडौंको सडकमा प्रर्दशनरत छन् । २५ गते देखि महासंघले उत्तरपुस्तिका परीक्षण देखि सम्पूर्ण शैक्षिक गतिविधि रोकेर शैक्षिक हड्ताल घोषणा गरेको छ ।
प्रतिक्रिया