काठमाडौं - सडक प्रर्दशनको नवौं र शैक्षिक हड्तालको चौथो दिन आन्दोलनरत शिक्षक र सरकार बिच सम्वाद शुरु भएको छ । दुई पटक सहसचिव मार्फत् गरिएको वार्ताको सार्वजनिक आह्वान नटेरेका शिक्षकहरु शिक्षा सचिवले पठाएको पत्रका आधारमा बिहीबार शिक्षा मन्त्रालय पुगेका हुन् । ऐनका बारेमा शिक्षा मन्त्रालयको धारणा स्पष्ट पार्न भन्दै शिक्षकको टोलीले शिक्षा मन्त्रीलाई सम्बोधन गरिएको २४ बुँदे सूची सहितको पत्र बुझाएको छ ।
२४ बुँदे सूचीमा शिक्षकको वृत्ति विकास, सेवा सुविधाका विषय उल्लेख छन् । शिक्षक स्थायित्वको सवाललाई पहिलो बुँदामा समेटिएको छ । अस्थायी प्रकृतीका सबै शिक्षकलाई स्थायी गर्न भनिएको उक्त बुँदामा स्वतः स्थायी नभई प्रकृया पुर्याएर स्थायी गर्न भनिएको छ । यसैगरी निजामती र शिक्षकको बिचमा भएको ग्रेडको असमानता मिलान गर्नु पर्ने, विद्यालय कर्मचारीका लागि दरबन्दीको व्यवस्था र स्थायीत्वको कुरा पनि उल्लेख गरिएको छ । यसैगरी प्रारम्भिक बाल कक्षाका शिक्षकलाई विद्यालय संरचना भित्र ल्याउने र प्रावि तृतीय सरहको सेवा सुविधा दिनु पर्ने, स्थायी शिक्षकको आवधिक बढुवा र बढुवाको अनुपातमा वृद्धि लगायतका विषय पनि समेटिएको छ । यसैगरी स्थायी शिक्षकको अस्थायी अवधिको गणना, ऐन जारी भएको मितिलाई निवृत्तिभरणको प्रस्थान विन्दु मानेर त्यो भन्दा अघिकारलाई पुरानै प्रणाली र त्यो पछिकालाई मात्रै नयाँ प्रणालीमा राख्नु पर्ने विषय राखिएको छ ।
स्थानीय सरकार मातहत भएको विद्यालय शिक्षा सञ्चालनको अधिकारको प्रसंग २४ बुँदे पत्रमा उठे पनि त्यसलाई संविधान संशोधनका बेला उठाउने भनिएको छ । यो विषयलाई यस पटक प्राथमिकता नदिएको महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।
'अनुसूचीको कुरा हामी संविधान संशोधनका बेला उठाउँछौं, अरु संविधानसंग बाझिने कुरा केही छैन' सुवेदीले भने 'यद्यपी यो विषय दलहरुले जतिखेर संविधान संशोधनको काम शुरु गर्छन् हामी त्यो बेला उठाउने छौं ।'
महासंघको आन्दोलन शिक्षा मन्त्रीले गरेको सहमतीका आधारमा नटुगिंने भएपनि मन्त्रालय मार्फत् सम्वाद शुरु भएको कुरालाइ सकारात्मक रुपमा लिदैं अब गर्ने कामको कार्यतालिका बनाउने शिक्षा मन्त्रालय र महासंघ बिच समझदारी भएको छ । विधेयकको अहिलेको अवस्था, महासंघको माग अनुसार राज्यकोषमा पर्ने थप आर्थिक दायित्व र भार, ऐन पारित गर्ने संसदीय प्रकृयाको समय लगायतका विषयलाई तालिका बनाएर लिपीवद्ध गर्ने काम शुरु गरिएको मन्त्रालय श्रोतले जनाएको छ ।
आन्दोलन परिचालन समितिकी संयोजक एवं महासंघकी सह अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासचिव तुला बहादुर थापा, उपमहासचिव मदनराज जोशी र नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र रावल सहितको टोलीले मन्त्रालय पुगेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई सम्बोधन गरिएको पत्र बुझाएको हो ।
पढ्नुहोस् पत्र :
प्रतिक्रिया