Edukhabar
आइतबार, ३१ चैत्र २०८१
गतिविधि

बरालको राजिनामा स्विकृत, निमित्त को ?

विद्यार्थी संगठनले शिक्षाध्यक्ष र रजिष्ट्रारलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् ।

विहीबार, २८ चैत्र २०८१

काठमाडौं - राजिनामा दिएको १३ औं दिनमा बल्ल त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्विकृत भएको छ । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी ओलीले बरालको राजिनामा स्विकृत गरेको उनको सचिवालयले जनाएको छ । 

गत चैत १६ गते बरालले सचिवालय मार्फत् राजिनामा पत्र दर्ता गर्न लगाएर आफू पोखरा गएर बसेका थिए ।   उपकुलपतिको राजिनामा नै प्राप्त नभएको प्रधानमन्त्रीको सचिवालयले बताएको थियो । बिहीबार भने उनको राजिनामा स्विकृत गरिएको बताईएको छ । 

उनको राजिनामा स्विकृत भए पनि निमित्त उपकुलपतिको जिम्मेवारी कसलाई दिईयो भन्ने बताईएको छैन । उपकुलपतिको अनुपस्थिीमा विश्वविद्यालयको शिक्षाध्यक्षलाई निमित्त दिने विश्वविद्यालय शैक्षिक प्रशासन नियमावली २०५० मा व्यवस्था छ । यस अनुसार प्रा.डा. खड्क केसीलाई निमित्त दिनु पर्छ । सहकुलपति समेत रहेकी शिक्षा मन्त्री विद्या भट्टराईको पनि केसीलाई समर्थन रहेको त्रिवि श्रोतको दावी छ । विद्यावारिधि गर्दै गरेकी भट्टराईको गाईड केसी हुन् । तर सत्ताधारी दल एमालेकै विद्यार्थी संगठन अनेरास्ववियुको एक खेमा उनी विरुद्ध छ । उक्त समूहले प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंहलाई निमित्त उपकुलपति बनाउन लविगं गरेको श्रोतको दावी छ ।

चिकित्सा शिक्षा शास्त्रको डिनमा नाम सिफारिस भए पनि सिंहलाई छाडेर मोहनराज शर्माको नियुक्ति भएपछि उनी असन्तुष्ट रहँदै आएकोले यस पटक ओलीले उनलाई निमित्त उपकुलपति नियुक्त गर्न सक्ने सम्भावना रहेको उक्त श्रोतको दावी छ । 

विश्वविद्यालयमा काम गर्न नदिएर उपकुलपतिलाई राजिनामा दिन वाध्य पारेको भन्दै माओवादी निकट विद्यार्थी संगठन र सत्ताधारी दल एमाले निकट विद्यार्थी संगठनको एक खेमाले शिक्षाध्यक्ष र रजिष्ट्रारलाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् । 

१३ महिना अघि २०८० फागुन १० गते बराल उपकुलपति नियुक्त भएका थिए । बरालको नियुक्ति अघि देखि नै तत्कालिन प्रतिपक्षी दलका नेताका हैसियतमा ओलीको असन्तुष्टि थियो । नियुक्ति भए पछि ओलीले देखिने गरी बरालको योजनामा पटक पटक अवरोध गर्दै आएका थिए । 

पढ्नुहोस् :  प्रधानमन्त्रीको दवावमा अन्तिम समयमा रोकियो नीति तथा कार्यक्रम

सरकारबाटै असहयोग बढे पछि उनले स्वास्थ्यको कारण देखाएर राजिनामा गरेका हुन् । तर, आफूहरुलाई स्थायी गर्नु पर्ने आंशिक प्राध्यापकको दबाव बढ्दै जाँदा बरालले राजीनामा बुझाएका हुन् । आंशिक प्राध्यापकको यकिन तथ्याङ्क समेत नभएको त्रिविमा उनीहरुलाई स्वतः स्थायी गर्नु पर्ने माग बारम्बार उठ्दै आएको छ । यही विषयका कारण बरालले राजीनामा दिएका उनी निकट श्रोतले दावि गर्यो । 

आफूहरुको संख्या झण्डै साढे दुई हजार रहेको आंशिक प्राध्यापकहरुको दावी छ भने विश्वविद्यालयका पदाधिकारीहरु छ सय हाराहारीका मात्रै वास्तविक आंशिक प्राध्यापक रहेको बताउँछन् । राजनीतिक स्वार्थले आंशिक प्राध्यापकहरु थप्दै जाने क्रम नरोकिए पछि विश्वविद्यालयमा यो विषय पेचिलो बन्दै आएको छ । आंशिक प्राध्यापकहरुको मागमा सत्ताधारी मुख्य राजनीतिक दलका नेताहरु मार्फत् नै दवाव आउन थाले पछि बरालले राजिनामा दिएका उनी निकट श्रोतले दावी गरेको छ । 

आंशिक प्राध्यापकहरुले भने जस्तै गरि माग पुरा हुने हो भने विश्वविद्यालय २० बर्ष पछि धकेलिन्छ, त्यसैले विश्वविद्यालयलाई हानी हुने काम गर्नुको साटो बरु राजिनामा दिन ठिक हुने बताएर बरालले राजिनमा दिएको उनी निकट श्रोत बताउँछ । 

आंशिकको राजनीतिक प्रभावका कारण विश्वविद्यालयले नियमित रुपमा खुला विज्ञापन समेत गर्न सकेको छैन । २०७३ सालमा पाँच सय ८१ जना उपप्राध्यापकको विज्ञापन खोले यता त्रिवि सेवा आयोगले विज्ञापन खोल्न समेत सकेको छैन । योग्य शिक्षकबाट पढ्न पाउने विद्यार्थीको अधिकार वञ्चित गरेर विभिन्न स्वार्थमा छिरेकाहरुलाई स्वतः स्थायी गर्नु भनेको विद्यार्थी र विश्वविद्यालय प्रति घात भएको बरालको निष्कर्ष रहेको उक्त श्रोतको दावी छ ।  

यि सामग्री पनि पढ्नुहोस् :  एमाले अध्यक्ष ओलीले भाग खोज्दा त्रिविको रेक्टर र रजिस्ट्रार नियुक्ति ढिलाइ

त्रिविको उपकुलपतिमा बराल

शिक्षामन्त्री र उपकुलपतिको जीत

प्रतिक्रिया